सिन्धुलीगढीको नाम गीतमा मात्रै सुनेको थिएँ । आन्तरिक पर्यटन प्रबर्धनको लागि नेपाल पर्यटन बोर्डले घुमफिर बर्ष २०७३ मनाऔं भनेर आह्वान गरेकाले मलाई पनि घुम्ने रहर जाग्यो र हिडियो सिन्धुली ।
केहि दिन अघि भाइ दिपकले पनि सिन्धुलीको बयान गरेको थियो । शितल ठाउँ, बाटोको बयान गरेरै साध्यै छैन । यस्तो राम्रो छ, आफैं जानुस् अनि थाहा हुन्छ भन्दै थियो उसले । त्यही बेला पर्यटन बोडले चलाएको अभियान घुमफिर बर्ष २०७३ ले मलार्इ लोभ्यायो ।
मलार्इ साथ दिन तयार भए विद्यार्थी राजु, उनी सिन्धुलीकै हुन् । किशोर पनि जान तयार भयो । र, वैशाखको चर्को घाममा मोटरसाइकलमै हिँडियो सिन्धुली । महाराजगञ्ज, चावहिल, कोटेश्वर, भक्तपुर, बनेपा, भकुण्डेबेशी, रोसीखोलाको किनारै किनारको बाटो आहा …..।
नेपालथोकबाट मुल्कोट हुँदै खुर्कोटको लमतन्न परेको बाटो, नागबेली उकाली ओरालीसँगै डरलाग्दो भिरालो, ओहो…! भन्नै पर्ने भीरकोबाटो, आहा..! कोशी नदी आफैं बेगमा बगेको छ, गाउँ बस्ती आफैं सुरूमा छ । चर्को घामका बीच पनि यात्रा कम रमाइलो रहेन।
मोटरसाइकलको यात्रा, यति लामो बाटो कहिले पुग्ला भन्ने अनुमान पनि लगाउन गाह्रो थियो । कति स्पीडमा हुइक्याउने हो थाहा छैन । विपारित दिशाबाट कति गतिमा गाडी आउने हो त्यो पनि थाहा छैन । हामी सम्हालिँदै आफ्नो गतिमा यात्रारत रहयौं प्रकृतिको मनोरम दृश्यावलोकन गर्दै ।
रोशी खोलाको पुल तरेपछि पछि मेरो पालो आयो मोटरसाइकल गुडाउने । मजाले आफ्नो गति लिएर यात्रा गर्दा पनि अर्को दिशाबाट तीव्र गतिमा आएको जीपले झन्डै हिर्काउला जस्तो गरी बाटो काट्दा त हाम्रो साटो पुत्लो नै उड्यो । किशोर पछाडि बसेर ए ! दाइ ! दाइ ! भन्थ्यो । कहिले हे भगवान ! हामीलाई बचाऊ भनेर किशोरले भन्यो । म ठट्टा गर्थेँ, भगवान हैन, हे ड्राइभर ! रामरी चलाउ भन्नुपर्छ । यस्तो राम्रो सडकको मर्यादा राख्नु पर्छ । सडकलाई दोष दिएर काम छैन । चालकले सम्हालिनुपर्छ । यात्रुलाई दोष दिने, बटुवालाई दोष दिनु भन्दा सिमित गतिमा बाहान चलाए दुर्घटना पनि हुन्न । अरुले जे गरे पनि हामीले आफ्नो गतिलाई नियन्त्रण गर्दै अगाडी बढ्यौ ।
आलो पालो गरी चलाउँदा रमाईलो नै भयो । खुर्कोट पुग्दा दिउँसो २:३० बजेछ । त्यहाँ खाजा खाएपछि फेरि रमाइलो नागेबेली उकालो आयो । आहा ! ठाउँ ठाउँमा रोक्किदै फोटो खिच्दै यात्रा गर्दा निकै रमाइलो भयो । लोभलाग्दा दृश्यहरू क्यामेरामा कैद गर्दै गर्दै आफ्नो गन्तब्य पुग्यौं ।
जुनारको नमुना गाउँमा पुगेपछि त्यहाँबाट देखिने दृश्यहरु भने राम्ररी हेर्न पाएनौं । जताततै वनमा डडेलो लगाएको चर्को गर्मीसँगै तुवालो लागेको थियो, जसल कारण मनोरम दृश्यहरू हेर्न नपाउँदा मन खिस्स भयो ।
सिन्धुलिगढ़ीको प्रवेशद्वार कटेर हामी अझै अगाडी बढ्यौं । पृथ्वीनारायण शाहको पालामा अंग्रेजसँगको युद्दमा वेलायती सेनालाई भगाएको ठाउमा पुग्यौं, Ancient British Camp । त्यहाँको भद्रकाली मन्दिर स्वयं पृथ्वीनारायण शाहको हातबाट बनेको भन्ने किम्बंदन्ती छ ।
थुम्कोमा रहेको मगर गाउँ निकै रमाइलो छ । भूकम्पले घर बस्ती बिगारे पनि गाउँलेहरुले आफ्नो ठाउँ छाडेका छैनन् । पुरानो घरमा बस्न नमिलेपछि जस्ता पाटाले बनेका टहरामा बसेकै छन् । गाउँलेहरुलाई होमस्टेको तालिम दिन सके राम्रो पर्यटकीय स्थल हुन् सक्ने ठाउँ रहेछ । संधैको राजनीति भन्दा टाढा रहेर केहि गरौँ भन्ने भावनाका युवाहरु देखिए । हामीसँगै राजु पनि त्यहीका हुन् ।
तर, कसले सहयोग गरिदिन्छ तालिमको लागि ? शीप मुलक तालिम लिन युवा र महिलाहरु आतुर देखिए । र, घुमफिर २०७३ को लागि उपयुक्त गन्तब्य हुन सक्छ यो गाउँ । काठमाडौँबाट १४० किलोमिटर टाढा भए पनि यहाँको जुनार बगैंचा, स्वच्छ वातावरण, रमणीय दृश्य, स्थानीय खाना, लोभ्याउने सडक, सिन्धुलिगढ़ी र सिन्धुलीमाढी बजार आहा ! कति राम्रो नेपाल, हाम्रो नेपाल !
म त गएँ । तपार्इँ कहिले जाने ?