१९ वैशाख, चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका-१० मदवा गाउँका इन्द्रबहादुर राउत काठको मुढा जस्तै ढलिरहन बाध्य छन् । दिसा-पिसाब गराउन र यता उता सर्न पनि अर्काको सहारा चाहिन्छ ।
दाउरा काट्ने क्रममा ३ बर्ष अघि उनको ढाड भाँचियो । खुट्टामा पनि ठूलो घाउ भयो । त्यस बेलादेखि उनको शरिरको तल्लो भागको चेतना गुमेको छ ।
उनकी श्रीमती संगीता गहभरि आँशु लिएर भन्छिन्, ‘दैनिक मजदुरी गर्दा पनि घर खर्च चलाउन र साताको एक सय रुपैयाँको औषधि किन्न गाह्रो छ । काम गर्न जहाँ पुगे पनि दिसा-पिसाब गराउन म आफै घर फर्किनुपर्छ ।’
आर्थिक अबस्था कमजोर भएको राउत परिवारले उपचारका लागि सहयोगी हातहरु नखोजेका होइन । तर, त्यस्ता दानी पाइएको छैन जसले राउतको उपचार गरिदियोस् र परिवारमा खुसी ल्याइदिओस् । आर्थिक अभावमा चितवनको भरतपुर मेडिकल कलेजमा सामान्य उपचार गरेर राउतलाई गाउँमै फर्काइएको छ ।
आफ्नो श्रीमानको औषधि उपचारको रिपोर्ट देवरहरुले लुकाइदिएको संगीता गुनासो गर्छिन् । मृत्यु भयो अंश थपिने लोभले औषधि उपचारमा घर परिवारबाटै असहयोग भइरहेको दाबी उनको छ ।
सहयोगको आश्वासन
हाल गाउँका समाजसेवी, जिल्ला विकास समिति र आइएनएफ कपिलवस्तु शाखाले राउतको उपचारमा चासो देखाएका छन् । समाजसेवी सन्जय मल्ल र आइएनएफ नेपाल कपिलवस्तु शाखाका सामाजिक सहायक अधिकृत मीना महतोले राउतको उपचार गर्ने आश्वासन दिएका छन् ।
जिविसका सामाजिक विकास अधिकृत बासुदेव जम्मरकट्टेलले प्राप्त निवेदनको आधारमा उपचारका लागि सहयोग गर्ने प्रक्रिया आरम्भ गरेको बताए । पोखरामा उपचारका पठाइने उनले बताए ।
यता आइएनएफ नेपालले गाडी भाडासहित १ हप्तासम्म लाग्ने खर्च बेहोर्ने प्रतिबद्धता जनाएको छ ।
जिबिस कपिलवस्तुमा उपचारका निवेदन दिएपछि सहयोगको आश्वासन पाए पनि अहिलेसम्म केही हात नपरेको संगीताले बताइन् ।