Comments Add Comment

एसएलसीको नतिजाः अब हट्ला त आत्महत्या ?

विहीबार करीब ६ लाख बिद्यार्थीको एसएलसी रिजल्ट परम्परागत ढाँचामा भन्दा फरक तरिकाले प्रकाशित भएको छ । हुन त यस पद्दतिका पनि दोषहरु त छन नै, तर पनि तुलनात्मक रुपमा बैज्ञानिक ठानिएको यो प्रणालिमा नौ वटा ग्रेडिङ अल्फाबेट छन, एप्लस देखि इ सम्म । इ अथवा डि ग्रेड ल्याउने विद्यार्थीले एक महिनाभित्र अर्को परीक्षा दिएर ग्रेड बढाउने मौका पाउनेछन् ।

Adhikary Rabindra
लेखक

यो ग्रेडिङ प्रणालीले विद्यार्थी विद्यार्थीबिच हुने विभेदधेरै हदसम्म कम गर्दछ । थोरबहुत समान किसिमका शैक्षिक योग्यता भएका दुई विद्यार्थीले समान ग्रेड पाउने सम्भावना रहन्छ । जस्तै ७० देखि ८० प्रतिशत बिच को जुनसुकै अङ्क पाउनेले बि प्लस ग्रेड पाउने भयो । ७१ र ७८ को समान ग्रेड हुँदा प्रमाणपत्रमा समान देखिने भयो । यो पद्दतिले अङ्कमुखी शिक्षण विधि भन्दा गुणस्तरमुखी शिक्षण विधिलाई ग्रहयता दिन्छ र यो अन्तरर्स्त्ट्रिय मापदन्ड अनुरुप पनि सर्व स्वीकार्य छ ।

फेल भन्ने शब्दै हटाउनु राम्रो कदम हो भने आगामी वर्षदेखि एसएलसी नै हटाउने कदम झन सकारात्मक हो । अब कक्षा बाह्रसम्म स्कुल तह हो, यसमा कुनै पर्खाल लगाइनुहुँदैन । आइरन गेट वा गाह्रो परीक्षा भनेर हाइस्कुलसम्मको न्युनतम शिक्षा सबैले सर्बसुलभ पाउने अवसरबाट बन्चित गराइनुहुँदैन ।

यो नयाँ प्रणालीसँगै अविभावक, शिक्षक अनि सबैले तीन घन्टे परीक्षाबाट प्राप्त हुने शैक्षिक प्रमाणपत्र नै असली क्षमताको मापक हैन र यसको नतिजालाई जस्तो आएपनी सहर्स स्विकार गर्ने मनोवृत्तिको विकास गर्नुपर्छ र आत्महत्या वा डिप्रेसन जस्तो मानसिकताबाट कुनै टीन एजर पनि गुज्रिन पर्दैन ।

एसएलसीको परिणामसँग असन्तुष्ट किशोर किशोरीहरुले वर्षेनी आत्महत्या वा यसको प्रयासका अप्रिय समाचारहरु सुनिन्थे । प्राय एसएलसी परीक्षामा सामेल हुने किशोर-किशोरीहरुको १३ देखि १९ वर्ष सम्मका टीन एजर नै हुन् ।यो उमेरमा मानसिक चन्चलता, आवेग र अस्थिरताको मात्रा चरम अवस्थामा हुन्छ ।सानातिना कुराहरुले मानिस खुशी हुने र सानातिना कुराले मर्माहत भई आत्महत्या समेतको दुश्प्रयास गर्ने उमेर पनि यही हो ।

स्कुले जीवन पर गएर बाहिरी संसार समेत राम्ररी देखी नसकेका हाम्रा कलिला नानीहरुको बाल मनोबिज्ञानमा किन यस्तो आत्महत्या जस्तो निक्रिस्ट पराजित मानसिकताले स्थान पाउँछ, सोचनीय विषय हो ।

यसको एउटा कारण हो, पढाइलाई चाहिने भन्दा बढी महत्व दिनु । पढाइ अत्यावश्यक छ, तर यसलाई चाहिने भन्दा बढी महत्व दिनुहुँदैन । कुनै पनि आमा बाबुलाई उनीहरुका छोराछोरीहरुले डिस्टिङ्सन नै ल्यएको देख्न मन छ । सबै छोराछोरीहरुले आमाबुवाको यो मत्वाकांक्षा पूरा गर्न सक्छन् नै भन्ने छैन ।

यहाँ कसले कति स्कोर गर्ने भनेर विद्यार्थी विद्यार्थीवीच, स्कुल स्कुलवीच अनि अविभावक अविभवकवीच प्रतिस्पर्दा हुन्छ । अनि जरुर आशातीत रिजल्ट् नआउँदा मानिस् ‘डिप्रेस्ड्’ हुने नै भयो । किनभने त्यो चंगुलमा ऊ एक्लै छैन, उस्को रिजल्टले ऊ वरिपरिका धेरैलाई प्रभाव पारिरहेको हुन्छ र उस्को रिजल्टलार्इ निकै महत्वका साथ हेरिएको हुन्छ । असफल हुँदा यस्को खबर सजिलै फैलिन्छ पनि । यो सामाजिक ‘प्रेसर’ सबै टीन एजरले सहन नसक्ने हुन्छन् ।

नेपाली समाजमा आजसम्म पनि पढाइ बाहेकका अन्य प्रतिभालाई स्थान दिन सकिएकोछैन । कोही राम्रो फुट्बल खेलाडी छ भने जतिखेर नि खेलिरहेको देख्दा उस्लाई समाजले लफङ्गोको संज्ञा दिन्छ । कपाल पालेर गिटार र संगीततिर झुकाव राख्यो भने उस्को संगीत कौशल जस्तोसुकै किन नहोस्, उस्लाई ट्यापे भन्न थालिन्छ । एउटा निस्चित स्टेरिओ टाइपबाट बाहिर निस्किनासाथ समाजले त्यसलाई गलत नै ठान्दछ, जुन आफैमा गलत हो ।

पढाइ बाहेकका कुनै चिज हब्बी मात्रै हुन सक्छन, जीवन धान्ने ब्यवसाय हुन सक्दैनन भन्ने सङ्कुचित बिचार अद्दोपान्त हामीसँग छ ।

सफल जिन्दगी जिउन आवश्यक न्युनतम शिक्षा भए पर्याप्त छ, फर्स्ट डिभिजन नै आउनुपर्छ भन्ने छैन । यो कुरा अल्बर्ट आइन्स्टाइनबाट पुष्टि हुन्छ । उनी हाइस्कुल ड्रप आउट हुन् । तर, पनि भौतिकशास्त्रमा अहिले सम्म पत्ता लाउन नसकेको कुरा पत्ता लगाएर विश्व-बिख्यात भए । हुन त सबै मान्छे आइन्स्टाइन जस्ता हुँदैनन् । तर, सफलताका लागि पढाइ नै आवश्यक छ भन्ने कुरा विलियम सेक्स्पियरले पनि गलत साबित गरिदिएका छन् भन्ने कुरा हामीले बिर्सिनु हुँदैन । उनी पनि तेह्र बर्षको उमेरपछि औपचारिक शिक्षाबाट पर नै रहे ।

माइक्रोसफ्टका मालिक तथा विश्वकै धनी व्यक्ति बिल गेट्स, फेसबुकका प्रणेता तथा मार्क जुकर्बर्ग अनि एप्पलका संस्थापक स्टेव जब्स तीनैजना कलेज ड्रप आउट हुन् । विन्स्टन चर्चिल, अब्राहम लिङ्कन, हेनरी फोर्ड पनि राम्रो पढ्ने मान्छे थिएनन् । यस्ता उदाहरण खोज्दै गयो भने धेरै नै भेटिन्छन् ।

तसर्थ अबको शैक्षिक प्रणाली स्कुलदेखि नै यस्तो हुनुपर्दछ कि विद्यार्थीलाई पढाइको पछाडि मात्रै लगाउने हैन, उस्को प्रतिभाको पछाडि बढी रफ्तारमा दौडाउने होस् ।

शैक्षिक होड्बाजीमा पढाइ इत्तरका प्रतिभा ओझेलमा पर्दै जान्छन् । कुनै पनि मानिससँग उसले दिने प्रतिफल भन्दा बढी आशा गरिनु नै गलत हो । कुनै प्रतिभालाई मौलाउन दिने समय नै स्कुले जीवन हो । अनि यो समयमा पढ् कि पढ् भनेर रटान लायो भने उसको भित्री इच्छा मरेर जान्छ । अन्तत्वोगत्वा न उसले आफ्नो प्रतिभा चिन्ने वा तिखार्ने मौका पाउँछ, न उसले पढाइमा यथोचित नतिजा प्राप्त गर्न सक्छ ।

एसएलसीको नतिजालाई यतिसम्म अतिरन्जित गरिन्छ कि किशोर-किशोरीहरुले ठान्छन्, राम्रो अङ्क प्राप्त गर्न नसके उनीहरुको भविश्य नै अन्धकार हुनेछ ।

त्यससँगै आउने अर्को फ्याक्टर हो, पियर प्रेसर । सँगैका मिल्ने साथीहरु सबै पास भए भने अफुलाई असह्य हुन्छ । सबै साथीसँगै कुन कलेज जाने भनेर समेत प्रारम्भिक सपना देखिएको हुन्छ भने कुनै एक मात्र असफल हुँदा आघात पर्न जान्छ । सफलताको खुशीयालीमा रमेका साथीभाइले उस्लाई वास्ता नगर्नु त छँदै छ, परिवारजनले समेत उसको अवस्था र पीडालाई राम्रोसँग रेस्पोन्ड नगरिदिँदा उसको दिमागमा नराम्रो सोचले डेरा जमाउन सुरु गर्छ ।

परीक्षाफल प्रकाशनको प्रणालि गत हिसाबमा हामी परिस्कृत भयौं, तर अब एसएलसीको नतिजा उपर हेरिने दृष्‍टिकोण र त्यस्बाट उब्जिने मानसिकता पनि परिवर्तन गर्न सकियो भने बर्सेनी सुन्नु परेको आत्महत्याको श्रृंखलामा जरुर पूर्णबिराम लाग्ने थियो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment