Comments Add Comment

लुम्बिनी अञ्चलभर विद्युतको समस्या, समाधान हुन एक हप्ता लाग्ने

१३ असार, भैरहवा । विगत दुई दिनदेखि रुपन्देही जिल्लासहित लुम्बिनी अञ्चलका ६ वटै जिल्लामा विजुलीको समस्या आएको छ । मर्मत सम्भारका लागि १ सय ४४ मेगावाट विद्युत उत्पादन गर्ने क्षमताको कालिगण्डकी जलविद्युत केन्द्र १० दिनका लागि बन्द भएको र बर्दघाट-कावासोतीको बिचमा समस्या आएका कारण लुम्बिनी अञ्चलबासी हैरान भएका छन् ।

Transmission-lineलुम्बिनी अञ्चलका जिल्लाहरुमा लोडसेडिङको तालिकाभन्दा बढी समयसम्म विजुली काटिने, बत्ती आउने-जाने जस्ता समस्या छ । भैरहवा विद्युत प्राधिकरणका प्रमुख मुनिन्द्र ठाकुरका अनुसार यो समस्या पूर्णरुपमा समाधान हुन अझै एक हप्ता लाग्ने छ ।

‘बर्दघाट-कावासोतीको बिचमा नेपालको विजुलीमा समस्याका कारण अहिले यस क्षेत्रमा नेपालको विजुली प्रवाह भएको छैन,’ प्रमुख ठाकुरले अनलाइनखबरसँग भने, ‘अहिले यस क्षेत्रमा प्रवाह भइरहेको बिजुली भारतबाट आएको हो र त्यो पनि करिब २५ मेगावाट मात्र आइरहेकाले समस्या भएको हो ।’

उनले अघि थपे, ‘बर्दघाट-कावासोतीको बिचमा विद्युतको समस्या आएको छ तर ठ्याक्कै कहाँ आएको छ, त्यो पत्ता लागेको छैन, हामीले डाँडा-डाँडामा चढेर हेर्दैछौ, समस्या पत्ता लागेलगत्तै समाधान गर्ने छौं ।’

विगतमा भारतबाट आउने विद्युत भैरहवा, बुटवलको सालझण्डी क्षेत्रसम्म र नवलपरासीको केही भागमा मात्र प्रवाह भइरहेको अवस्थामा अहिले भारतबाट आइरहेको २५ मेगावाट विद्युत अलि-अलि गरी लुम्बिनी अञ्चलका ६ वटै जिल्लामा प्रवाह गरिरहेका कारण विद्युत प्रवाहमा समस्या भएको छ ।

बर्दघाट-कावासोती बिचमा रहेको समस्या समाधान भएपनि यो अल्पकालीनमात्र भएको ठाकुरको भनाइ छ । कालिगण्डकी जलविद्युत केन्द्र सुचारु भएमात्र पूर्णरुपमा समस्या समाधान हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment