Comments Add Comment

हज यात्राका लागि रुपन्देहीबाट १३६ जना छनोट, अनियमितताको गुनासो

१६ असार, भैरहवा । मुस्लिम समुदायको पवित्रस्थल साउदी अरेबियाको मक्का मदिनामा हज गर्नका लागि रुपन्देहीबाट १ सय ३६ जनाको नाम छनोट भएको छ ।

केन्द्रिय हज समितिका अनुसार जिल्लाका २ सय ३३ जनाले हजका लागि दिएको आवेदनमध्ये जिल्ला प्रशासन कार्यालयले पठाएको क्रमसंख्या र बैंकको भौचरको आधारमा १ सय ३६ जनाको नाम छनोट गरिएको हो ।

Makka-Madinaहज यात्राका लागि रुपन्देहीका २ सय १७ जनाले जिल्लाबाट र १६ जनाले केन्द्रबाट आवेदन दिएको मुस्लिम वेलफेयर सोसाइटी भैरहवाका सचिव मोहम्मद अकिलले बताए ।

साउदी सरकारले नेपालबाट हज यात्राका लागि एक हजारको कोटा दिएको छ । त्यसका लागि पुराना आवेदकसहित देशभर बाट १ हजार ६ सय २६ जनाले आवेदन दिएकोमा ९ सय ९९ जनाको नाम छनोट भएको केन्दि्रय हज समितीका अध्यक्ष ताज मोहम्मद मियाँले बताए । ‘हज यात्राका लागि एक हजार मात्र कोटा रहेकाले सबैलाई समेट्न सकिएन, कोटा बढाउन पहल गरिरहेका छौं,’ उनले भने । कोटा बढेको खण्डमा बाँकीलाई पनि समेट्ने उनको भनाइ छ ।

यो वर्ष नेपाल सरकारले हजयात्रीहरुको हवाई भाडा, होटल भाडा तथा अन्य धार्मिक कार्यका लागि प्रतिव्यक्ति १ लाख ८५ हजार रूपैयाँ अनुमानित खर्च लाग्ने आँकलन गरेको छ । आवेदनसँगै प्रत्येकले एक लाख रुपैयाँ जम्मा गरेका छन् भने नाम छनोट भएका व्यक्तिहरुले साउन ५ गते भित्र थप ८५ हजार रुपैयाँ रकम जम्मा गर्न सरकारले आग्रह गरेको छ ।

मुस्लिम धर्मका पाँचवटा महत्वपुर्ण धार्मिक कार्यमा इमान (आस्था, विश्वास), नमाज (प्रार्थना), रोजा (ब्रत), जकात (दान) र हज (तिर्थाटन) पर्दछन् । हजयात्रीले साउदीको मक्कामा ३० दिन र मदिनामा १० दिन धार्मिक यात्रा गर्नुपर्दछ ।

अनियमितताको गुनासो

प्रत्येक वर्ष हजको जति चर्चा हुन्छ, त्यो भन्दा बढी केन्दि्रय हज समितीले गर्ने अनियमितताको विषयमा विवाद उत्पन्न हुने गर्छ । हज यात्रामा गएका व्यक्तिहरुले केन्दि्रय हज समितिप्रति गुनासै-गुनासो पोख्ने गरेका छन् । समितिले कमिसनको लोभमा हज स्थानभन्दा धेरै टाढाको होटलमा हजयात्रीहरुलाई राख्नु, गुणस्तहिन खाना खुवाउनु, नाम मात्रको चिकित्सक लैजानु जस्ता विषयमा प्राय गुनासो आउने गरेको छ ।

सुचना प्रवाह भएन

हज यात्राका लागि नाम छनोट भए/नभएको विषयमा केन्दि्रय हज समितिले सुचना प्रवाह गर्न नसकेको मुस्लिम वेलफेयर सोसाइटीले जनाएको छ । समितीले सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा सुचना पठाए पनि आवदेन दिएका व्यक्तिहरुले सहज रुपमा सुचना पाउन नसकेको सोसाइटीका सचिव अकिल बताउँछन् ।

‘हामीले समितिमा यात्राको विषयमा सुचना माग्दा अहिले दिन्छौ, एकछिनमा दिन्छौँ भन्दै आलटाल गर्ने गरिएको छ, जिल्लाबाट आवेदन दिएका व्यक्ति र आफन्तहरुले मध्यरातसम्म हामीसँग सुचना माग्छन्,’ उनले भने । यदि समितिले आफूहरुलाई सुचना दिएमा आवेदन दिएका व्यक्तिहरुसम्म सहज रुपमा सुसुचित गर्न सक्ने अकिलको कथन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment