Comments Add Comment

सरकारमा नजाने निर्णय गरेका छैनौं: कमल थापा (भिडियोसहित)

'ओलीसँग सहकार्य गरेकोमा पश्चाताप छैन'

kamal thapa

१२ साउन, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कांग्रेस-माओवादी गठबन्धन सरकारमा नजाने भनेर पार्टीले निर्णय गरीनसकेको बताएका छन् । तर, सरकारमा जाने सम्भावना कम रहेको उनले बताए ।

बुधबार काठमाडौंको एक पार्टी प्यालेसमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भने, ‘हामी राप्रपासँग एकताको प्रक्रियामा छौं । पार्टी एकताको प्रक्रियामा रहेकाले त्यसपछि निर्णय गर्छौं ।’

बुधबार बसेको राप्रपा नेपालको केन्द्रीय समिति बैठकले राप्रपासँग एकीकरण गर्ने विषयमा सैद्धान्तिक सहमति दिएको छ । राप्रपा नेपाल र राप्रपाबीच यही साउन १६ गतेभित्र एकीकरण गरीसक्ने तयारी भइरहेको छ । राप्रपा नेपालले एकीकरण पछि पनि पार्टीको चुनाव चिन्ह गाई नै राख्ने प्रस्ताव गरेको छ ।

केन्द्रीय समिति बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भने, ‘साउन १६ भित्र एकीकरण हुन नसकेको अवस्थामा आवश्यक निर्णय गर्न बैठकले कार्य सम्पादन समितिलाई अधिकार प्रत्यायोजन गरेको छ ।

भिडियो हेर्नुहोस् 

उनले सबै दल सरकारमा जान नहुने र सशक्त प्रतिपक्ष चाहिने पनि बताए । अध्यक्ष थापाले भने, ‘सबै दल सरकारमा जानु हुँदैन, सशक्त प्रतिपक्ष चाहिन्छ भन्ने हाम्रो पुरानै मान्यता हो । तर, संविधान कार्यान्वयन लगायत राष्ट्रिय राजनीतिक मुद्दामा सहमति कायम हुनुपर्छ ।’

‘कोशीमा असुरक्षा छैन’

उनले केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन देशको हितमा नभएको बताए । सरकार परिवर्तनमा बाह्य शक्तिको हात रहेको जगजाहेर नै रहेको भन्दै उनले आन्तरिक मामिलामा नेपालका नेताहरुले आफैले निर्णय गर्नुपर्ने धारणा राखे ।

‘भूकम्प र आर्थिक विकासमा केपी ओली नेतृत्वको सरकारले प्रभावकारी भूमिका गरेको अवस्थामा सरकार परिवर्तन हुनु देशको हितमा छैन,’ उनले भने ।

सरकार परिवर्तन भएपछि राष्ट्रिय हितमा आँच पुग्छ कि भनेर चिन्ता लागेको भन्दै उनले राष्ट्रिय अखण्डता खलबलाउने समूह सक्रिय भएको तर्फ ध्यान दिनुपर्ने धारणा राखे ।

उनले कोशी बाँधमा कुनै पनि असुरक्षा नरहेको स्पष्ट पारे । बाँधको सुरक्षा चिन्ताबारे सरकार सजग रहेको भन्दै थापाले त्यसको समस्या समाधान गर्न नेपाल आफै सक्षम रहेको बताए । तर, सरकार अहिले दुरगामी महत्वको निर्णय गर्ने पक्षमा नरहेको उनले बताए ।

उनले भने, ‘कोशी ब्यारेजमा कुनै समस्या छैन । सुरक्षा चिन्तामा सरकारले ध्यान दिएको छ । सुरक्षा गर्न नेपालका सुरक्षा निकाय सक्षम छन् । यसमा छिमेकी मुलुकलाई पनि शंका नगर्न आग्रह गर्दछु ।’

‘ओलीसँग सहकार्य गरेकोमा पश्चाताप छैन’

ओली नेतृत्वको सरकारमा सहकार्य गरेकामा आफूलाई कुनै पश्चाताप नरहेको उनले बताए । ओली नेतृत्वको सरकारले छिमेकी देशसँग गरेको सम्झौता लगायतका निर्णयहरु दुरगामी महत्व राख्ने खालको भएको भन्दै उनले आगामी सरकारले पनि त्यसलाई निरन्तरता दिनुपर्ने बताए ।

सरकार परिवर्तनपछि फास्ट ट्र्याक लगायतका भौतिक पूर्वाधार निर्माणमा उब्जिएका आशंकाबारे पत्रकारले सोधेको प्रश्नमा थापाले भने, ‘ओली सरकारले गरेको निर्णय नै कार्यान्वयन हुनुपर्छ ।’

परराष्ट्र मन्त्रीसमेत रहेका थापाले ओली नेतृत्वको सरकारले छिमेकी देशसँग सम्बन्ध सुधार्न र सन्तुलित सम्बन्ध राख्न सफल भएको बताए । उनले भने, ‘ओली मिलनसार र राष्ट्रिय भावले ओतप्रोत भएको व्यक्ति हुनुहुन्छ । उहाँबाट मलाई ठूलो प्रोत्साहन मिल्यो । छिमेकीसँग सम्बन्ध सुधार्न र सन्तुलित सम्बन्ध कायम राख्न सकियो । उहाँसँग सहकार्यमा मलाई कुनै पश्चाताप छैन ।’

कात्तिकमा अन्तराष्ट्रिय धर्मसभा

राप्रपा नेपालले आगामी कात्तिक महिनाको पहिलो साता अन्तराष्ट्रिय धर्मसभा आयोजना गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि अध्यक्ष थापाको संयोजकत्वमा आयोजक समिित बनाइएको छ ।

संविधानले धर्म परिवर्तनलाई दण्डनीय तुल्याए पनि अझै पनि देशको विभिन्न भागहरुमा संगठित र योजनावद्धरुपमा धर्म परिवर्तन गराउने तथा सनातन धर्मलाई कमजोर बनाउने कार्य जारी रहेको राप्रपा नेपालले जनाएको छ ।

संविधानले नै सनातन धर्मको संरक्षण गर्नु राज्यको दायित्व हुने उल्लेख गरिए तापनि यसरी निर्वाधरुपले धर्म परिवर्तन भैरहेकोप्रति चिन्ता र खेद प्रकट गर्दै तत्काल धर्म परिवर्तन माथि नियन्त्रण गर्न राप्रपा नेपालले सरकारसँग माग गरेको छ ।

साथै, हिन्दुत्वप्रति जनचेतना अभिवृद्धि गर्न पार्टीले हिन्दुत्व जागरण अभियानलाई निरन्तरता दिने अध्यक्ष थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment