Comments Add Comment

कार्यकारी राष्ट्रप्रमुखका लागि नयाँ शक्तिले अभियान चलाउँछ: डा.भट्टराई

Baburam-bhattrai

१२ साउन, विरेन्द्रनगर । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखका लागि अभियान चलाउने बताएका छन् ।

पार्टीको ६ नं. प्रदेशको बैठक तथा राष्ट्रिय भेलाको सम्प्रेषण तथा प्रशिक्षण कार्यक्रममा संयोजक भट्टराईले भने, ‘हामी प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख र पूर्ण समानुपातिक व्यवस्थापिका संसदका लागि केन्द्रदेखि नै अभियान चलाउँछौं ।’

पुराना शक्तिहरु सरकार बनाउने र गिराउने पुरानै खेलमा लागिरहेको भन्दै उनले यसले मुलुक र जनताको जीवनस्तरमा कुनै तात्विक परिवर्तन ल्याउन नसक्ने बताए । ‘ओली नेतृत्वको सरकार ढल्यो, अब प्रचण्डको नेतृत्वमा सरकार बन्ला’  पूर्वप्रधानमन्त्री समेत रहेका भट्टरार्इले भने, ‘यसपछि शेरबहादुर आउलान्, त्यसपछि अर्का बहादुर आउलान् तर, जनताको जीवनमा यो व्यवस्थाले केही परिवर्तन ल्याउन सक्दैन ।’

उनले नयाँ शक्तिलाई जिउँदो माछासँग तुलना गरे । ‘मरेको माछा पानीको बहावतिर मात्र बग्छ,’ उनले भने, ‘तर जिउँदो माछा आफ्नो इच्छा र आवश्यकता अनुसार पानीको बहावविरुद्ध पनि पौडन सक्छ ।’ नयाँ शक्तिले प्रत्यक्ष लोकतन्त्रको अभ्यास गर्दै हरेक नेतृत्व पार्टी सदस्यबाट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था, गल्ती गर्नेलाई प्रत्याह्वानको व्यवस्थालगायतका केही नयाँ अभ्यास सुरु गर्ने उले बताए ।

संयोजक भट्टराईले डेढ वर्षभित्र निर्वाचन गर्नैपर्ने भन्दै त्यसमा हजारौं पदहरु सिर्जना हुने भएकोले सबैलाई तयार हुन निर्देशन दिए । ‘जनतालाई संगठित गर्न लाग्नुहोस्, स्थानीय मुद्दाहरु उठाउनुहोस्, असल र सामाजिक मान्छेहरुलाई वैकल्पिक राजनीतिमा लाग्ने वातावरण बनाउनुहोस्,’ उनले नेता कार्यकर्तालाई प्रशिक्षित गर्दै भनेका छन्, ‘सम्पूर्णरुपले निर्वाचनका लागि आफूलाई तयारी अवस्थामा राख्नबाट नचुक्नुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment