Comments Add Comment

ओलीलाई सात दिनभित्र बालुवाटार छाड्न सिस्नुपानीको चेतावनी !

'राष्ट्रियता नबेच्ने, नझुकाउने टाउकोः धन्नै जन्मिएछौ छोरो बाउको'

KP-Oli
१३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हास्य व्यंग्य कलाकारहरुको रोजिरोटी संकटमा पारेको गुनासो गर्दै आएका सिस्नोपानी नेपालको टोलीले ओलीलाई सात दिनभित्र बालुवाटार छाड्न व्यंग्यात्मक अल्टिमेटम दिएको छ ।

ओलीलाई भेट्न बालुवाटार पुगेका सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गे, वरिष्ठ हास्य व्यंग्य अभियन्ता मनोज गजुरेल, अर्जुन पराजुली, टंक आचार्य सहितको टोलीसँग ओलीले आधा घण्टा केही हास्यरस र केही गाम्भीर्य खोले ।

हास्य कलाकार त्यसमा पनि सिस्नोपानी नेपालको सधैं निशानामा पर्ने गरेका ओली हास्य कलाकारका प्रिय नेता हुन् । यसपटक प्रधानमन्त्रीको रुपमा राष्ट्रिय स्वाभिमान उँचो राखेर सबै जनताको नेता बनेकाले उनलाई व्यंग्यात्मक बधाइदिन बालुवाटार गएको गजुरेलले अनलाइनखबरलाई बताए ।

त्यो भेटमा सिस्नुपानीका ब्रिगेड कमाण्डर टंकराज आचार्यले ओलीलाई व्यंग्य कविताको झटारो हान्दै उचाले–

‘जाबो राष्ट्रियता नबेच्ने, बदनामी नकमाउने, नझुकाउने टाउकोः

धन्नै जन्मिएको रहेछौं छोरो, केपी ओलीका बाउको ।’

आचार्यको यो कवितामा जवाफ ओलीले फर्काइहाले-

‘देशले रगत मागे मलाई बलि चढाउनू, रुँदिनन् मेरी आमा हुन् कुमाइकी छोरी ।’

प्रधानमन्त्रीलार्इ बुझाइएको सिस्नुपानीको व्यंग्यात्मक अल्टिमेटममा भनिएको छ-

विदेशी प्रभुका अगाडि लम्पसार पनि नपर्ने,

मित्रराष्ट्रको एउटा पनि माग पूरा नगर्ने,

भित्रराष्ट्र बाहेक कुरै नगर्ने,

ठाड्ठाडै बोल्ने,

मनको कुरो सप्पै खोल्ने,

कुर्सी जाँदा पनि मुसुक्क हाँस्ने,

धम्की खाँदा पनि निर्धक्क बाँच्ने,

बालुवाटारमा बसेर पनि पालुवा बहारको सपना बाँड्ने

तपाई केपी शर्मा ओलीलाई प्रधानमन्त्री क्वाटर छाड्न सात दिनको अल्टिमेटम दिइन्छ ।

प्रधानमन्त्री निवास छाड्ने बेला त्यहाँका सरकारी सामान र नगद तथा जिन्सी लिएर हिँड्ने गरेका समाचार पढिरहेकाहरुले यसपटक त्यस्तो सुन्न नपरोस् भनेर आफूहरु बालुवाटार गएको गजुरेलले बताए । प्रधानमन्त्रीसँग धेरैबेर कुरा गरेर आफ्ना  कुराहरू राख्न नपाइएको भन्दै ज्ञापनपत्रको पूर्ण पाठ उनले आफ्नो गजुरियल डटकममा राखेको बताएका छन् ।

आफूहरु प्रधानमन्त्रीलार्इ धन्यवाद एवं बधाइ दिन र खबरदारी गर्न बालुवाटार गएको गजुरेलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment