Comments Add Comment

धनुषामा रोकिएन गिट्टी-बालुवा उत्खननको अवैध धन्दा

जिविस र जिल्ला प्रशासन आरोप प्रत्यारोपमै व्यस्त

Gitti-Baluwa-utkhanan-dhanu

९ भदौ, जनकपुर । सरकारीको ऐन कानूनको खिल्ली उडाउँदै धनुषाका नदीहरुबाट अझैपनि अवैध रुपमा बालुवा गिट्टी उत्खनन भइरहेको छ । जिल्लामा राज्य निकायकै मिलोमतोमा अवैधरुपमा ग्राभेल तथा ढुंगाखानी संचालन गरेर प्राकृतिक स्रोत साधनको धमाधम दोहन भैरहेको पाइएको छ ।

नेपाल सरकारले अर्वाैं लगानी गरेर चुरे क्षेत्र सरंक्षण कार्यक्रमलाई अगाडि बढाएको समयमा चुरे क्षेत्रसहित जिल्लाको विभिन्न नदी तथा स्थनबाट अवैध बालुवा गिट्टी उत्खनन भइरहँदा पनि जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालय धनुषा मौन छन् । राज्य निकायको मिलोमतोमा ठेकेदारहरुले आवादी क्षेत्रको जग्गा भनेर चुरे क्षेत्र, नदी किनार तथा खोलमा गैरकानूनी रुपमा स्काभेटर प्रयोग गरेर धमाधम ग्राभेल, बालुवा, गिट्टी उत्खनन् गरिरहेका छन् ।

धनुषाको लक्ष्मीनिवास, नक्टाझिझ, बेंगाडाबर, मालटोल लगायतका स्थनबाट अवैधरुपमा स्काभेटर प्रयोग गरेर ठूला टिफरबाट बालुवा, गिट्टी तथा ग्राभेल उत्खनन हुँदै आएको छ । रेल्वेको काम पाएको कालिका रमण जेभी निर्माण कम्पनी र भारतको नायक इन्फाष्ट्रक्चर प्रालीले गैरकानूनी रुपमा लक्ष्मीनिवास र नक्टाझिझमा पर्ने औरही नदी तथा किनारबाट गैरकानूनी रुपमा स्काभेटर प्रयोग गर्दै आएको छ । ठेकेदार कम्पनीले रेल्वे निर्माण भन्दा पनि बालुवा, गिट्टी र ग्राभेल विक्रीमा बढी ध्यान दिएको स्थानीय युवा मुनु झाले बताए ।

जिल्लाको चुरे क्षेत्र तथा नदीको मूल प्रवाहमै स्काभेटर प्रयोग गरी ठूल्ठूला टिफरबाट ग्राभेल, बालुवा तथा गिट्टी झिकिरहे पनि स्थानीय प्रशासनले कारवाही प्रक्रिया अगाडि बढाएको छैन ।

जिल्ला विकास समिति धनुषाले साउन र भदौ महिनामा जिल्लामा बालुवा, गिट्टी, ढुंगा र ग्राभेल उत्खनन निकासीमा रोक लगाको जिविसका निमित्त स्थानिय विकास अधिकारी राजकिशोर प्रसाद साहले बताए । तरपनि स्थानीय प्रहरी प्रशासनको मिलोमतोमा ठेकेदारहरुले गैरकानूनी रुपमा ग्राभेल उत्खनन गर्दै आएकोमा उनले निरिहता प्रकट गरे ।

धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईले भने अवैध रुपमा खोलामा स्काभेटर प्रयोग गरेर ठूल्ठूला टिफरबाट बालुवा, गिट्टी र ग्राभेल झिक्ने गरेको बारे जानकारी आएकाले तत्काल पत्राचार गरी कारवाही प्रक्रिया अगाडि बताउने बताए ।

अवैध उत्खननप्रति जिविस र जिल्ला प्रशासनबीच मतभेद

सरकारले अवैध बालुवा, गिट्टी, ढुंगा र ग्राभेल ओसार पोसार तथा उत्खननमा रोक लगाएपनि धनुषामा जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालय बीचको मतभेदका कारण रोकिएको छैन् । जिल्लाका खोलानाला, नदी किनारबाट दिनहुँ सयौं टिफर ग्राभेल र बलुवा झिकिएपनि जिविस र जिल्ला प्रशासन कार्यालय एक अर्काबीच दोसारोपनमा व्यस्त छ ।

जिविसका निमित्त स्थानिय विकास अधिकारी राजकिशोर प्रसाद साहले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई गैरकानूनी रुपमा उत्खनन तथा निकासी नियन्त्रणका लागि पटक पटक पत्राचार गरेपनि सहयोग नगरेको दावी गरे ।

जिविसले प्रयास गर्दा पनि प्रहरी प्रशासनबाट सहयोग नपाएपछि ठेकेदारहरुले गैरकानूनी ग्राभेल उत्खनन गरेको उनको दावी छ । सर्वसाधारणले घरायसी प्रयोगका लागि ट्याक्टरबाट बालुवा लग्दा प्रहरी प्रशासनले नियन्त्रणमा लिने गरेको भएपनि ठेकेदारहरले प्रयोग गरेको स्काभेटर र टिफर हालसम्म पनि नियन्त्रणमा लिएर कारवाही गर्न नसकेको साहले बताए ।

यद्यपी, धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईले भने जिविसले मागेको सवै सहयोग गरेको जिकिर गरे । ठेकेदारहरुले आवादी क्षेत्रको जग्गा भनेर चुरे क्षेत्र तथा नदीबाट गैरकानूनी रुपमा ग्राभेल झिक्ने गरको जानकारी प्राप्त भए लगत्तै कारवाही अगाडि बढाएको उनले बताए ।

Dhanusha-jibisha
अबैध उत्खनन् राेक्न जिविसले जिल्ला प्रशासन कार्यालयलार्इ पठाएको पत्र

जनकपुरमा कहाँबाट आयो ठूलोमात्रामा ग्राभेलः जिविस

जिल्ला विकास समिति धनुषाले साउन र भदौका लागि जिल्लामा बालुवा, गिट्टी र ग्राभेलसहित नदीजन्य पदार्थमा रोक लगाएपनि जनकपुरमा पछिल्लो एक महिनामा सयाँै घनमिटर अवैध ग्राभेल जम्मा गरिएको छ ।

जिविसका निमित्त स्थानीय विकास अधिकारी साहका अनुसार जनकपुरको मुजेलियामा बाबा पेट्रोल पम्पको छेउमा, रंगभूमी मैदान बाह्र विघा, पुल चोक, रत्नसागर मन्दिर परिसर लगायतका स्थानमा ठेकेदारहरुले गैरकानूनी रुपमा ग्राभेल उत्खनन गरेर जम्मा गरेका छन् । जिविसले असार २५ गतेपछि पूर्ण रुपमा रोक लगाएको भएपनि प्रशासनको सहयोगमा ठेकेदारहरुले उक्त स्थनमा अवैध ग्राभेल जम्मा गरेको साहले बताए । उक्त ग्राभेलबारे अनुसन्धान गर्न साहले प्रशासनसँग माग गरे ।

गैरकानूनी रुपमा ग्राभेल खानी संचालन

कुनै पनि व्यक्तिको जग्गामा भएको प्राकृतिक स्रोत साधनको उत्खनन तथा प्रयोजनका लागि सम्बन्धित निकायबाट अनुमति लिनु पर्ने कानूनी प्रावधान छ । तर, यसलाई धज्जी उडाइएको छ धनुषाको नक्टाझिझ, लक्ष्मीनिवास, मालटोल र रातु नदीमा ।

ढुंगा भएको जग्गा स्थानीयबाट सस्तोमा भाडामा लिएर ग्राभेल बेचेर मालामाल बन्ने गिरोह यतिबलेला सक्रिय छ । उनीहरुले ग्राभेल खानी नै संचालन गरेको जिविसका स्थानिय विकास अधिकारी साहले बताए ।

जनपकुर लगायतका स्थानीय ठेकेदारहरुले डोजर र स्काभेटर प्रायोग गरेर ग्राभेल निकाल्ने र टि्रफरबाट ओसार्ने काम गरिरहेका छन् । यसबाट चुरे क्षेत्र थप जोखिममा परेको छ । तरपनि राज्यको आँखा नपुग्दा शाहले चिन्ता व्यक्त गरे । यी क्षेत्रबाट दैनिक सय भन्दा बढी टि्रफर ग्राभेल बाहिरिरहेको छ । यद्यपी, रोक्न कसैले चासो दिएको छैन् । जसको सरकारको कारणले करोडौं राजश्व गुमेको साहको कथन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment