
२८ साउन, काठमाडौं । नेपाली सेनाबाट भागेको करिब १५ वर्षमा शक्ति गुरुङको जीवनले धेरै उतार–चढाव भोग्यो । उनी तत्कालीन माओवादीको नजरबन्दमा बसे । ‘सेक्सन कमाण्डर’ बनेर लडाइँमा होमिए । शान्ति सम्झौतासँगै लडाकू शिविरमा पनि बसे ।
सेना समायोजनका क्रममा फेरि नेपाली सेनामा प्रवेश रोज्ने अवसर पनि आएको थियो । तर, उनले अवकाश नै रोजे । जीवन चलाउन कतार गए ।
पछिल्लो समयमा कलंकीमा ठेलाबाट सुरु भएको मःमः ब्यापार सटरसम्म पुगेको थियो । ठीक यहीबेला उनीमाथि आपत आइलाग्यो ।
गत साउन ७ गते पूर्वसैनिक एवं पूर्वमाओवादी लडाकू शक्ति गुरुङ पक्राउ परे ।
‘मःमः पसलबाट एक्कासी समातेर लान खोज्दा अचम्ममा परेर सोधेकी थिएँ’, शक्तिकी श्रीमती सुजना भन्छिन्, ‘हामी नेपाली सेनाबाट हो, तपाईंलाई सबै कुरा थाहा छ नि भन्दै लिएर हिँडे ।’
सुजनाले आफ्ना पतिदेवको विगत बिर्सिसकेकी थिइन् ।
जब उनी ८ साउनमा भद्रकालीस्थित सैनिक मुख्यालय पुगिन्, तब शक्तिको कसूर सुनेर झसंग भइन् । शक्तिलाई सशस्त्र द्वन्द्वको समयमा सेनाबाट हतियारसहित भागेर माओवादीलाई साथ दिएको आरोपमा गिरफ्तार गरिएको रहेछ ।
‘यत्तिका वर्षमा सबथोक फेरियो । अहिले त्यतिबेलाका कमाण्डरहरु नै सरकारमा छन्’, उनी भावुक हुँदै भन्छिन्, ‘तर मेरा श्रीमानलाई मात्र जेल हालियो ।’
जङ्गी अड्डाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार द्वन्द्वको समयमा ४५० थान गोलीसहित भागेको आरोपमा कोर्टमार्सलले गुरुङलाई १० वर्ष जेल सजायँ सुनाएको छ ।
तर, सुजना भने शान्ति प्रक्रियामा आएपछि शक्तिले राज्यलाई हतियार बुझाइसकेको दाबी गर्छिन् ।
सुजनाको प्रश्नः सानालाई मात्र ऐन लाग्छ ?
पछिल्लो समय गुरुङ दम्पत्तिको जीवन कलंकीमा सञ्चालन गरिएको मःमः पसलले धानेकै थियो । कक्षा ६ मा अध्ययनरत छोरा र युकेजीमा पढिरहेकी छोरीको खर्च पनि त्यही पसलबाट पुगेको थियो ।
तर, श्रीमानको गिरफ्तारीसँगै सुजनाको दुःखका दिन सुरु भएका छन् ।
एक्लैले पसलको काम भ्याउन गाह्रो छ ।
‘एक्लो ज्यानले के–के पो गरौं ?’, उनी प्रश्न गर्छिन्, ‘सामान किन्न जाउँ कि ? खाजा पुर्याउन जाउँ कि मुद्दा मामिला धाऊँ ?’
‘सानालाई मात्र ऐन लाग्छ ?’, उनी हरपल सोची रहन्छिन् ।
‘सशस्त्र द्वन्द्वको समयमा हतियारसहित विद्रोही पक्षतिर लागेका थुप्रै पूर्वसैनिकहरु खुलेआम हिँडिरहँदा मेरो श्रीमानलाई मात्र किन कारवाही ?’
जंगीअड्डा पुग्दा सुजना यो प्रश्न सोधिरहन्छिन् ।

नेताको आश्वासन मात्र
त्यसबेलाको विद्रोही माओवादी अहिले एमालेसँग एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको छ । माओवादी लडाकूका सुप्रिम कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्तारुढ नेकपाका अध्यक्ष छन् ।
दाङ आक्रमणको कमाण्डिङ गरेर सेनाका अत्याधुनिक हतियार कब्जा गर्ने कमाण्डर नन्दकिशोर पुन पासाङ उपराष्ट्रपति छन् । वर्षमान पुन, चक्रपाणि खनाल लगायतका लडाकू कमाण्डरहरु मन्त्री र सांसद भइसके । गृहमन्त्री बादल स्वयं युद्ध लडेर आएका नेता हुन् ।
तर, त्यही विद्रोहलाई साथ दिएका कारण आफ्नो श्रीमान १० वर्षका लागि जेल जानुपर्दा सुजना आत्तिएकी छन् । श्रीमानलाई छुटाउन सकिन्छ कि भनेर उनले नेताहरुसँग हारगुहार मागिरहेकी छन् ।
राजतन्त्रात्मक राज्यसत्ताका विरूद्ध घोषित राजनीतिक विद्रोह वा जनयुद्धका मुद्दाहरूलाई नियमित अदालतद्वारा दण्डित गर्नु शान्तिसम्झौता र गणतन्त्रको मर्म विपरित हो!यसले प्रतिशोध र घातप्रतिघातको शृंखला मात्र बढाउँछ!द्वन्दका घाउ कोट्याउने हैन तिनमा मलहम लगाउन सम्बन्धित सबैले ध्यान दिऊँ! https://t.co/5A9jXXWM5N
— Baburam Bhattarai (@brb1954) August 1, 2019
यसवीचमा सुजनाले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई भेटिन् । गोरखाका सांसद हरि अधिकारी, नेकपा जिल्ला अध्यक्ष कृष्ण धिताललाई सहयोग गरिदिन गुहारिन् । सबैको उस्तै जवाफ हुन्छ, ‘चिन्ता नगर्नु, आत्तिनु पर्दैैन । छिट्टै उहाँ छुट्नुहुन्छ ।’
तर, शक्तिलाई सैनिक अदालतले सजायँ सुनाइसकेको छ । त्यसमा पुनरावेदन दिन समय बाँकी छ । ‘भेटेजति नेताले यो राजनीतिक मुद्दा हो, राजनीतिक तरिकाले हल गर्नुपर्छ भन्छन्’, सुजना भन्छिन्, ‘खोई, अहिलेसम्म केही भएको छैन ।’
सुजनाले प्रचण्डका साथै माओवादी छाडेर हाल समाजवादी पार्टीमा संघीय परिषद् अध्यक्ष भएका डा. बाबुराम भट्टराईलाई पनि भेटेर आफ्नो दुःखेसो पोख्न चाहेकी छन् ।
शक्तिलाई कोर्टमार्सलले १० वर्ष जेल सजायँ सुनाएको खबर सार्वजनिक भएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले ट्वीट गर्दै ‘शान्ति सम्झौता र गणतन्त्रको मर्म विपरीत’ भएको प्रतिक्रिया दिएका थिए ।
सुजना भन्छिन्, ‘ट्वीटमा लेख्ने मात्र होइन, बुढोलाई न्याय दिन पनि सहयोग गरिदिन मेरो आग्रह छ ।’
हेर्नुस् भिडियो
तस्वीर/भिडियोः चन्द्र आले/अनलाइनखबर
प्रतिक्रिया 4