+
+

अपराधमा बर्दीधारी : भगौडादेखि बहालवालासम्म

सेना–प्रहरीमा बढ्दैछ आर्थिक लोभ र आपराधिक मानसिकता

गौरव पोखरेल गौरव पोखरेल
२०७६ साउन २६ गते १९:२६

२६ साउन, काठमाडौं । नेपाली सेनाका मेजर अजितप्रताप सिंह शनिबार साँझ लागूऔषध कारोबारको आरोपमा इटहरीबाट पक्राउ परे । पूर्वी पृतना मुख्यालयमा कार्यरत् सिंह डेढ ग्राम ब्राउन सुगरको ४ वटा पोकासहित समातिएका थिए ।

लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वर र इलाका प्रहरी कार्यालय, इटहरीको संयुक्त टोलीले अहिले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

एक अधिकृतका अनुसार प्रारम्भिक अनुसन्धानले मेजर सिंहले प्रति पोका एक हजार रुपैयाँमा लागूऔषध विक्री गर्ने गरेको देखिएको छ ।

सिंह पक्राउ पर्नु एक दिनअघि शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय, दार्चुलाले सशस्त्र प्रहरीका जवान दीपकसिंह बडाललाई बाघको छालासहित पक्राउ गरेको थियो ।

प्रहरी निरीक्षक गोविन्द कठायतका अनुसार प्रहरी चौकी ब्रह्मदेवको नियमित गस्तीमा रहेको टोलीले बडाललाई ३९ इञ्च लम्बाइ र १० इञ्च चौडाइ भएको छालासहित पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी दार्चुलाकै सशस्त्र प्रहरी सुरक्षा गुल्म ५० नं. मा कार्यरत् थिए ।

त्यसअघि काभ्रेका युवा विष्णु खड्कालाई ११ साउनमा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले भारतबाट उद्दार गरेर ल्याएसँगै मिर्गौला तस्करीजस्तो गम्भीर अपराधमा नेपाल प्रहरीका अधिकृतको संलग्नता खुलेको थियो ।

महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईंका अनुसार घटनामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरी गण नं. १ मा कार्यरत् प्रहरी नायब निरीक्षक (सई) योगेन्द्रराज थपलिया र पूर्वहवल्दार थनितसिंह गुरुङविरुद्ध अनुसन्धान भइरहेको छ ।

महाराजगञ्ज प्रहरीले दुवैविरुद्ध मानव बेचबिखन तथा आसोर–पसार मुद्दामा जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेको छ । साउन महिनामा मात्र आपराधिक घटनामा सुरक्षा अधिकृत संलग्न भएका घटना हुन्, यी ।

राज्य कोषबाट लाखौं रुपैयाँ खर्च गरेर सर्वसाधारणको सुरक्षार्थ खटाइएका अधिकृत आफैं अपराधमा संलग्न हुने क्रम बढ्दो छ । यो समस्या राज्यका चार वटै सुरक्षा निकायमा देखिएको छ ।

भन्सार, छली, लागूऔषध कारोबार, वन्यजन्तु तथा सुन तस्करी, अपहरण र फिरौती असूली, चोरी/डकैतीसहित अन्य सामाजिक, आर्थिक र संगठित अपराधमा बर्दीधारीको संलग्नता बढ्दो क्रममा छ ।

नेपाली सेनाको जंगीअड्डाले आचरण विपरीत काम गर्ने ५ अधिकृत र अन्य दर्जाका १ सय ९९ गरी २ सय ४ जनालाई ९ महिनाको अवधिमा कारवाही गरिसकेको छ । यो विवरण पूर्णचन्द्र थापा प्रधानसेनापतिमा नियुक्तिपछि हालसम्मको हो ।

प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार आर्थिक वर्ष ०७५/०७६ मा विभिन्न दर्जाका १८ सय प्रहरी अधिकृत कारवाहीमा परेका छन् । सशस्त्र प्रहरी बल, हल्चोकले भने ०७५ सालदेखि हालसम्म विभिन्न दर्जाका गरी ७ सय २७ जना अधिकृतलाई कारवाही गरेको छ ।

अपराधमा संलग्न हाई–प्रोफाइल अधिकृत

सशस्त्र प्रहरी बलका डीआईजी रञ्जन कोइरालाकी पत्नी गीता ढकाल २७ पुस ०६८ मा बुढानीलकण्ठस्थित घरबाट बेपत्ता भइन् ।

माइती पक्षबाट कोइरालाले श्रीमती गीतालाई बेपत्ता पारेको आरोपमा हनुमानढोकास्थित काठमाडौं प्रहरीमा उजुरी पर्‍यो । तर, कोइरालाले बेपत्ता पारेको बलियो सबुत थिएन ।

कोइरालाका साथी राजेन्द्र श्रेष्ठ त्यसबेला हनुमानढोकाका प्रमुख थिए । कोइरालाले श्रेष्ठसँग दिएको पटक–पटकको वयानमा कसुर स्वीकारेनन् ।

तर, अनुसन्धान अधिकृतले फेला पारेको एउटा महत्वपूर्ण सुराकका कारण उनको अपराध छिप्न सकेन । अपहरण भएको भनिएको दिन राति साढे ८ बजे डीआईजी रञ्जनको गाडी नागढुंगा बाहिर गएर बिहान फर्किएको देखियो ।

त्यही आधारमा शंकास्पद मानेर कोइरालाको गतिविधिमाथि निगरानी राख्न थालिएको थियो । अपराधपछि कुनै पनि अभियुक्त केही प्रमाण छुटेका छन् कि भन्ने भयले परीक्षणका लागि पुनः घटनास्थलमा जानसक्ने सम्भवना रहने सिद्धान्त अनुरुप कोइरालाको ‘मुभमेन्ट’माथि नजर राखिएको हो ।

नभन्दै २८ पुसमा उनी मकवानपुरको पालुङमा ७० प्रतिशत जलेको अवस्थामा शव भेटिएको स्थान छेऊ भेटिए । स्थानीयले नियन्त्रणमा लिएर उनलाई प्रहरी चौकी बुझाए ।

प्रहरीले नियन्त्रणमा लिएपछि कोइराला । फाइल फोटो

तर, कोइराला आफू सशस्त्र प्रहरीको डीआईजी भएको बताउँदै छुटे । यद्यपि, अनुसन्धान अधिकृतले उनी नै दोषी भएको निष्कर्ष निकालिसकेका थिए ।

अन्ततः उनीलाई काठमाडौं प्रहरीको टोलीले नागढुंगाबाट नियन्त्रणमा लियो । बल्ल उनले आफूले श्रीमती गीताको हत्या गरेर जलाएको साबिती वयान दिए ।

१९ असोज ०६९ मा नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले एक करोड २४ लाख रुपैयाँ विदेशी मुद्रा बरामद गर्‍यो ।

राति ९ बजे विमानस्थलको ल्याण्ड लाइनमा आएको ‘फ्लाई दुबईको विमानमा बम छ’ भन्ने सूचनाको आधारमा छापा मार्दा ठूलो परिणाममा अवैध मुद्रा भेटिएको थियो । मुद्रासँगै विनोदकुमार सोनी पनि पक्राउ परे ।

तर, विमानस्थलको सबै सुरक्षा जाँच पार गरेर डलर विमानसम्म कसरी पुग्यो ? यो आश्चर्यको विषय थियो । त्यसैले प्रहरी प्रधान कार्यालय, नक्सालले छानविन गर्न समिति बनायो ।

समितिले गरेको अनुसन्धानका क्रममा प्रहरीकै सहयोगमा अवैध मुद्रा विमानसम्म पुगेको भेटिएको थियो ।

विमानस्थलमा खटिएका हवल्दार सोभितबहादुर कार्की र पक्राउ परेका सोनीबीच पटक–पटक सम्पर्क भएको देखिएको थियो भने प्रहरी सहायक निरीक्षक हिराकाजी कुमालले पनि उनलाई सहयोग गरेको देखियो ।

हवल्दार कार्कीले एसएसपी रविराज श्रेष्ठको निर्देशनमा सोनीसँग सम्पर्क गरेको बयान दिए । साथै, सोनीको कल डिटेल रेकर्डमा देखिएको झापाकी प्रहरी जवान सोमाया पाख्रिनको मोबाइल नम्बर पनि श्रेष्ठले नै चलाएको देखियो ।

समितिको अनुसन्धानपछि २३ चैत ०६९ मा उनलाई गृहमन्त्रालयले बर्खास्त गयो । त्यसअघि उनी ५ महिना निलम्बनमा परेका थिए ।

चार वर्षपछि फेरि उही स्थानमा रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्री ३३ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परे । तस्करको समूहसँग उनको संलग्नता देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले खत्रीलाई पक्राउ गरेको थियो ।

सुनसहित पक्राउ परेका गोपालबहादुर शाही, दिलबहादुर थापा र सन्तोष काफ्लेमार्फत विमानस्थल भन्सारका कर्मचारी श्रीनारायण यादव र राजकुमार ढकाल पोलिएका थिए । उनीहरुमार्फत नै एसएसपी खत्रीको पोल खुलेको प्रहरी अधिकृत बताउँछन् ।

अघिल्लो वर्ष उर्लाबारीमा भएको सनम शाक्यको हत्या र ३३ किलो सुन गायब प्रकरणमा पनि उनी मुछिए ।

एसएसपी श्याम खत्री

शाक्यको हत्यापछि भएको अनुसन्धानका क्रममा सरकारले उच्च स्तरीय छानविन समिति गठन गरेको थियो, त्यसक्रममा मुख्य आरोपित चुडामणि उप्रेती ‘गोरे’को समूहसँग एसएसपी खत्रीको कनेक्सन देखिएको थियो ।

समितिका अधिकृतले जनाएअनुसार, खत्रीले गोरे समूहबाट १६ पटकमा १ करोड १२ लाख ९२ हजार रुपैयाँ लिएको भेटिएको थियो ।

डायरीमा तत्कालीन डीआईजी गोविन्दराज निरौलाले ३ पटक गरेर १७ लाख, एसपी विकासराज खनालले दुई पटक गरेर ५० लाख र डीएसपी सञ्जयबहादुर साउतले ६ पटकमा १५ लाख रुपैयाँ लिएको उल्लेख गरिएको थियो ।

अपराधमा भगौडा

रामेछापका रमेश बाहुन उर्फ सुजन पौडेल कुख्यात गुण्डा नाइके हुन् । हत्या, अपहरण, हप्ता असूली लगायतका कसूरमा उनलाई प्रहरीले दर्जनौं पटक पक्राउ गरिसकेको छ ।

पेशेवर अपराधी बाहुन २४ साउनमा भएको गोलीकाण्डमा पनि मुछिएका छन् ।

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कालाई २ करोड फिरौती मागेर छोरी अपहरणको धम्की दिने लोप्साङ भनिने बाबुराम तामाङलाई गोली हानी नियन्त्रणमा लिइएको थियो ।

पक्राउ परेपछि तामाङले दिएको बयानमा बाहुनको योजनामा धम्की दिएको बताएपछि जेलबाटै बाहुनले अपराध धन्दालाई निरन्तरता दिइरहेको खुलेको हो ।

‘हाइड्रो पावर र गाउँपालिकाका अध्यक्षलाई बाहुनको योजनामा धम्की दिइएको खुलेको छ’, महानगरीय अपराध अनुसन्धान महाशाखाका एक अधिकृत भन्छन्, ‘विस्तृत अनुसन्धान गरिरहेका छौं ।’ त्यसो त बाहुनले जेलबाटै अपराध धन्दा चलाइरहेको सूचना प्रहरी अधिकृतसम्म यसअघि पनि पुग्ने गरेको थियो ।

जेलबाटै व्यक्ति अपहरणको योजना बनाउने बाहुनको हिम्मत सजिलै आर्जित भएको भने होइन । उनी नेपाली सेनाका भगौडा हुन् । रेञ्जर गणमा काम गरेका पूर्वसैनिक जवान उनले कुनै समय भगौडाको समूह नै बनाएर अपराध धन्दा चलाएका थिए ।

२३ असोज ०७४ मा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको बानेश्वर, खरिबोटमा दिनदहाडै गोली हानी हत्या भयो ।

गुण्डा नाइके समिरमानसिंह बस्न्यातको योजनामा भएको हत्यामा सुटरको भूमिकामा श्यामबहादुर गोम्बे र अमरबहादुर राना प्रयोग भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को तत्कालीन अनुसन्धान टोलीले बताएको थियो । गोम्बे र राना दुवै नेपाली सेनाका भगौडा हुन् । उनीहरु इलामको कालिध्वज गणबाट भागेका थिए ।

हाल कारागारमा रहेका दुवै ‘सिरियल कन्ट्याक्ट किलर’को रुपमा चिनिन्छन् । यी बाहेक थुप्रै घटनामा भगौडा सेना–प्रहरीको संलग्नता खुलिसकेको छ ।

बच्न सक्छु भन्ने मनस्थिति

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डे सैनिक अधिकृत पनि यही समाजको उपज भएकाले छिटछुट रुपमा अपराधमा संलग्न हुने घटना बाहिर आउन सक्ने बताउँछन् ।

‘हाम्रो समाज यही हो । सामाजिक सम्बन्ध सबैको हुन्छ’, सहायक रथी पाण्डे भन्छन्, ‘लोभ र दबाव सबैलाई हुन्छ, त्यसैले यो समस्या देखिएको हो ।’ तर, अपराधमा संलग्नविरुद्ध नेपाली सेना कठोर रुपमा प्रस्तुत हुने उनी बताउँछन् ।

‘सेनाभित्रका अधिकृतहरु संलग्न घटनाको अनुसन्धान सैनिक प्रहरी गणले गर्दै आएको छ’, उनी भन्छन्, ‘अनुसन्धानपछि सैनिक अदालतबाट हुने आदेशअनुसार कारवाही हुन्छ ।’

नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेल भने अपराध मनस्थितिको कुरा भएकाले सेना, प्रहरी वा सशस्त्र भनेर छुट्टाएर हेर्न नमिल्ने बताउँछन् ।

‘कतिपयले यो गर्नु हुँदैन भनेर बुझ्दा बुझ्दै पनि अपराधमा संलग्न हुने गरेको भेटिन्छ’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोखरेलले भने, ‘अपराधमा संलग्न हुने जोसुकैविरुद्ध हामी निर्दयीपूर्वक प्रस्तुत हुन्छौं । यसमा कुनै मोलाहिजा हुँदैन ।’

संगठनको विकास र सर्वसाधारणको अपेक्षा सम्बोधनका लागि पनि यस्तो विषयमा शून्य शहनशीलता अपनाउनु पर्ने उनको भनाइ छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख सहकुलबहादुर थापा भने सुरक्षा निकायमा काम गरिसकेकाले अपराध गरिसकेपछि कसरी लुक्न सकिन्छ भन्ने थाहा हुने सोच भएकाले पनि आपराधिक क्रियाकलाप हुने गरेको बताउँछन् ।

‘तर, यो सोचाइ गलत हो । जुनसुकै अपराधीले पनि कुनै कसूर लुकाउन सक्दैन’, उपत्यकामा हुने जघन्य प्रकृतिको अपराध अनुसन्धान गर्ने महाशाखाका प्रमुख थापा भन्छन्, ‘विगतमा काम गरेकै कारण बच्छु भन्ने सोच्नु मुर्खता सिवाय केही होइन ।’

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का पूर्वनिर्देशक हेमन्त मल्ल ठकुरी भने काममा रहँदा हुने अपराधिक मनस्थितिका व्यक्तिसँगको संगत र उनीहरुको आकर्षक जीवनशैलीले पनि कतिपयलाई गलत बाटोतिर लाग्न प्रेरित गर्ने गरेको बताउँछन् ।

मनोविद गोपाल ढकाल सुरक्षा निकायका अधिकृतमा ‘एन्टी सोसियल डिसअर्डर’ र यौन विचलनको समस्या पनि देखिएको बताउँछन्, जसले अपराधिक मानसिकलाई बढावा दिइरहेको छ

‘थाहा भएर मात्र होइन, कतिपय अवस्थामा थाहै नपाइ पनि सुरक्षा निकायका अधिकृत अपराधिक व्यक्तिको चंगुलमा परिसकेको हुनसक्छन्’, पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) मल्ल भन्छन् । मल्लले भने जस्तै अवस्था छ, मिर्गौला तस्करीमा संलग्न भएको आरोप लागेका सई थपलियाको पनि ।

थपलियाको दुवै मृर्गौला खराब भएर ट्रान्स्प्लान्ट गरिएको थियो । त्यसक्रममा भारतमा चिनजान भएकी एक महिलालाई सहयोग गर्न मृर्गौला खोजी गरिदिएको बयान उनको छ । यद्यपि, वयानको पुष्ट्याइँ गर्न बाँकी नै छ ।

भर्नामा हुँदैन लागूऔषधको जाँच 

समाजशास्त्री काशीनाथ प्याकुरेल सुरक्षाकर्मी अपराधमा संलग्न हुनुलाई आर्थिक लोभको उपज मान्छन् ।

‘अपराध नियन्त्रणको भूमिकामा उनीहरुको अपराधीसँग पनि संगत हुन्छ’, उनले अनलाइनखबरसँग भने, ‘यस्तो अवस्थामा प्राप्त हुने प्रलोभनले अपराधिकरणलाई प्रश्रय दिइरहेको छ ।’

उनीहरुलाई अपराधमा संलग्न भएको भेद खुले सजाय हुन जानकारी भए पनि लोभसामू त्यो विषय गौढ बन्ने प्याकुरेल बताउँछन् । मनोविद् गोपाल ढकाल भने लागूऔषधको हकमा फरक तरिकाले पनि विश्लेषण गर्न सकिने बताउँछन् ।

‘लागूऔषधसहित समातिने अधिकृत आफैं सेवनकर्ता पनि हुनसक्छन् र तलबले मात्र नपुग्ने भएकाले विक्रीमा पनि संलग्न भएको हुनसक्ने देखिन्छ’, उनले अनलाइनखबरसँग भने, ‘सुरक्षा निकायका अधिकृतको तलब कम हुनु, परिवारबाट टाढा हुनु, उच्च अनुशासनमा बस्नु पर्ने, आन्तरिक विभेद लगायतका कारण एकदमै विचलन देखिन्छ । त्यसले पनि गलत कामलाई प्रोत्साहित गरिरहेको छ ।’

नेपाल प्रहरीका एक उच्च अधिकृत पनि सुरक्षा निकायले भर्ना छनौट गर्दा सम्बन्धित व्यक्तिले लागूऔषध प्रयोग गर्छ/गर्दैन भन्ने नजाँचिने बताउँछन् । तर, प्रहरी प्रवक्ता पोखरेल भने प्रहरीभित्र गलत आचरण हुनेको निरन्तर निगरानी /गरिने बताउँदै सेवनकर्तालाई पनि कडा कारवाही हुने बताउँछन् ।

मनोविद ढकाल सुरक्षा निकायका अधिकृतमा ‘एन्टी सोसियल डिसअर्डर’ र यौन विचलनको समस्या पनि देखिएको बताउँछन्, जसले अपराधिक मानसिकलाई बढावा दिइरहेको छ ।

संगठित अपराधका अधिकांश घटनामा भगौडा सिपाही/जवानको संलग्नता नौला होइन । तर, वहालवाला अधिकृत नै अपराधको योजनाकार र मतियार बन्न थालेपछि यसले गम्भीर प्रश्न उब्जाएको छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?