Comments Add Comment

७८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच, प्राधिकरणलाई इतिहासकै उच्च नाफा

२८ साउन, काठमाडौं । राष्ट्रिय प्रसारणमा आवद्ध भएर विद्युत उपभोग गर्ने जनसंख्या करिब ७८ प्रतिशत पुगेको छ । आव ०७४/७५को तुलनामा करिब १० प्रतिशतले बृद्धि हो । हाल करिब ४५ लाख घरधुरीले राष्ट्रिय प्रसारणको बिजुली उपभोग गर्छन् ।

गत आव २०७५/७६मा ७ अर्ब ५५ करोड युनिट ऊर्जा प्रणालीमा उपलब्ध भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

प्राधिकरणको उत्पादन करिब २ अर्ब ५५ करोड, निजी ऊर्जा उत्पादकहरुको २ अर्ब १९ करोड र भारतबाट २ अर्ब ८१ करोड युनिट आयात गरिएको थियो ।

प्रणालीमा प्राधिकरणको ३४, निजी क्षेत्रको २९ र आयतको ३७ हिस्सा प्रतिशत रहेको छ । भारतर्फ विद्युत निर्यात ३ करोड ४७ लाख युनिट रहेको छ । निजी क्षेत्रको विद्युत किन्नका लागि १४ अर्ब १३ करोड र आयाततर्फ २३ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ । ३२ करोड रुपैयाँको विद्युत निर्यात भएको छ ।

गत आवमा ७५७ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । त्यसमध्ये ६०६ सर्किट किलोमिटर संचालनमा (चार्ज) आएको छ । ३३ केभी र सोभन्दा मुनिका करिब ९ हजार ७२२ सर्किट किमी वितरण लाइन निर्माण सम्पन्न भई चार्ज भएका छन् ।

प्रसारण तथा वितरण गरी ४० सबस्टेसन नयाँ विस्तार एवं स्तरोन्नति गरिएको छ । करिब ९२० एमभीए क्षमता थप भएको छ । ६ हजार ५८१ वितरण ट्रान्सर्फमर थप गरिएको छ ।

लामो समयदेखि निर्माण सम्पन्न नभएर रुग्ण बनेका ६० मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री ए’ र काबेली करिडोर प्रसारण लाइन सहित ३ आयोजना, वितरणतर्फ ३४ गरी ३८ आयोजना सम्पन्न भएका छन् । १३ आयोजनाको ठेक्का सम्झौता रद्ध गरि पुनः ठेक्का प्रक्रिया सुरु गरिएको छ ।
देशभरी रहेका थ्री फेज मिटर तथा टिओडी मिटरहरुलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने कार्यको थालनी भएको भएको छ ।

काठमाडौंबाट सिंगल फेज मिटरलाई स्मार्ट सिंगल फेज मिटरले प्रतिस्थापन गर्न प्रारम्भिक कार्य सुरु भैसकेको छ ।

काठमाडौं उपत्यकालाई ताररहित बनाउने अभियानअन्तर्गत भूमिगत तार विछ्याउन ठेकेदार छनौट भै प्रारम्भिक तयारी पूरा भइसकेको छ ।

नाफामा गुणात्मक वृद्धि

नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष (आव) २०७५/७६मा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्ष ०७४/७५मा २ अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएको प्राधिकरणले यसलाई ४ अर्ब ३० करोड अर्थात १४९ प्रतिशतले बढाएर ७ अर्ब २० करोड रुपैयाँ पुर्‍याएको हो ।

विद्युत चुहावट नियन्त्रण, प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट प्राधिकरण गत आवमा पनि खुद नाफा कमाउन सफल भएको हो ।


आव ०७२/७३मा ८ अर्ब ८९ करोड घाटामा रहेको प्राधिकरण कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि तीन वर्षदेखि निरन्तर खुद नाफामा छ । नाफा बढ्दै गएको छ ।

कार्यकारी निर्देशक नियुक्त भएको पहिलो वर्ष घिसिङले प्राधिकरणलाई १ अर्ब ५० करोड, दोस्रो वर्ष २ अर्ब ९० र तेस्रो वर्ष ७ अर्ब २० करोड रुपैयाँ खुद नाफामा लगेका हुन् । उनी २०७३को भदौमा कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री एवं प्राधिकरण संचालक समितिका अध्यक्ष वर्षमान पुनले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी प्राधिकरणको एक वर्षको उपलब्धि सार्वजनिक गरेका हुन् । उनले विद्युत् चुहावट नियन्त्रण, प्रसारण तथा वितरण लाइनको निर्माण, वित्तीय सुधार लगायतमा प्राधिकरणको राम्रो प्रगति भएको बताए ।

‘सरोकारवालासँगको व्यापक छलफलपछि नयाँ ऐनमार्फत प्राधिकरणलाई अझै प्रतिश्पर्धी संस्थाको रुपमा अगाडि बढाउने छौं’मन्त्री पुनले भने , ‘एक वर्षभित्र प्रणालीमा थपिने एक हजार मेगावाट विद्युत खपत गर्नु हाम्रो लागि चुनौतीपूर्ण छ, ऊर्जाका पेट्रोल, डिजेल, खाना पकाउने ग्याँसजस्ता अन्य स्रोतलाई विस्थापित गर्ने लगायतका योजनाका साथ त्यो एक हजार मेगावाट विद्युत् मुलुकभित्रै खपत गर्ने वातावरण बनाउँदैछौं ।’

यसका लागि मुलुकभर विद्युतीय गाडी संचालनका लागि चार्जिङ स्टेसनको स्थापना गर्न मापदण्ड बनाउने काम अन्तिम चरणमा पुगेको, घरघरमा विद्युतीय चुलो प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका नीति सरकारको रहेको मन्त्री पुनले बताए ।

उनले थपे,’नेपालगंज, भैरहवाजस्ता औद्योगिक नगरमा तत्काल २ सय मेगावाटभन्दा बढी विद्युत्को माग छ तर वितरण प्रणालीको संरचनागत समस्याका कारण दिन सकिरहेका छैनौ, खपत बढाउने र उत्पादन बचत भयो भने भारतीय तथा क्षेत्रीय विद्युत बजारमा सजिलै बढाउन सक्छौं र बढाइरहेका पनि छौं ।’

चुहावट नियन्त्रण सार्क मापदण्डमा


गत आर्थिक वर्षमा विद्युत चुहावटलाई १५.३२ प्रतिशतमा झार्न प्राधिकरण सफल भएको छ । आब ०७४/७५मा २०.४५ प्रतिशत रहेको चुहावटलाई गत आवमा ५.१३ प्रतिशत विन्दुलाई घटाएर १५.३२ प्रतिशतमा झारिएको हो । ०७२/७३मा कुल चुहावट २५.७८ प्रतिशत रहेकोमा ३ वर्षभित्रमा १०.४६ प्रतिशतले कामी आएको हो ।

प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने,महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सर्फमर, बितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।

कार्यकारी निर्देशक घिसिङले प्राविधिक र गैर प्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रुपमा चालिएका कदमले विद्युत चुहावटमा इतिहासमै काम बनाउन सफल भएको बताए ।

ऊर्जा मन्त्रीको नेतृत्वमा संचालकहरु, प्रशासन, सुरक्षा निकाय, कर्मचारी लगायत सबैको सामूहिक प्रयासबाट चुहावट नियन्त्रणमा उल्लेख्य उपलब्धि हासिल भएको उनले बताए ।

‘वितरणतर्फको चुहावट ११ प्रतिशत र प्राविधिकतर्फको करिब ४ प्रतिशत चुहावट छ, विद्युत चुहावटमा दक्षीण एसियाकाको मापदण्डमा पुगेका छौं, अब धेरै प्राविधिक चुहावटमा ध्यान केन्द्रीत गर्नु पर्ने छ तर यसका लागि थप लगानी आवश्यक पर्छ ।’

प्राधिकरणले गैर प्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने,महशुल बक्यौता असुलीमा कडाइ गर्ने, मिटर वाईपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गर्ने लागयतका काम अभियानकै रुपमा चलाइ रहेको छ ।

मिटर लिन प्रोत्साहित गर्न सुकुम्वासीलाई पनि मीटर सहज रुपमा दिने, स्थानीय तहको सिफारिस विनानै मिटर जडान गर्ने, अति विपन्नहरुलाई निशुल्क मिटर वितरण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment