Comments Add Comment

ठमेलका यौन दलालः १४ वर्षमा २१ पटक थुनिए

Thamel-Street

१३ भदौ, काठमाडौं । ‘ए दाइ जाने हो ? माल राम्रो छ ।’ साँझ छिप्पीँदै गएपछि केशर महलबाट सञ्चयकोष भवन हुँदै ठमेलतर्फ अघि बढ्दा सडकपेटीमा उभिएका युवाहरुबाट दैनिकजसो सुनिने शब्द हो यो । उनीहरु यसरी नै यौनकर्मीका ग्राहक फकाइरहेका हुन्छन् ।

सञ्चयकोष भवनको सडकपेटीमा ग्राहक कुरिरहेका थुप्रै यौनकर्मीहरु भेटिन्छन् । ठमेलमा पुगेर मदिरामा लठ्ठिनेहरु ती यौनकर्मीहरुका मुख्य ग्राहकहरु हुन् । ती युवतीहरुसँग पुरुषहरुले सोझै मोलमोलाई गर्नुभन्दा तिनै दलालहरुलाई प्रयोग गर्छन् । यौनकर्मीहरु मिलाइदिएर कमिसन लिने ती दलालहरुको काम हो ।

१४ वर्षदेखि दलाली, २१ पटक थुनामा

सञ्चय कोष भवन अगाडिबाट नर्सिङ चोक तर्फ जाँदै गर्दा सडक पेटीमा भेटिए राजिव शाही । सडक पेटीमा बस्ने र ठमेल आउनेहरुलाई युवतीको प्रस्ताव गर्ने राजिवको दैनिकी हो ।

१४ वर्ष अगाडि काभ्रेबाट ठमेल छिरेका थिए राजीव । दुई कक्षामात्रै पढेको बताउने राजीव युवतीको दलाली गरेको आरोपमा १४ वर्षको अवधिमा २१ पटक प्रहरीको थुनामा परिसकेका छन् । तै पनि आफनो धन्दा छोडेनन् ।

उनले भने, ‘पहिले त रेष्टुरेन्टमा काम गर्थें । पछि यस्तो पेशामा लागेको हुँ । प्रहरीले जति थुने पनि यो काम छोड्न सकिएन ।’

राजिवको जस्तै काम गर्ने करिब एक सय युवाहरु ठमेल क्षेत्रमा सक्रिय रहेको अनुमान छ । कतिपयलाई ट्याक्सी चालकहरुले पनि ग्राहक मिलाइदिने काम गर्दछन् ।

उनीहरुको आयस्रोत भनेको ग्राहकबाट पाउने कमिसन हो । ‘यदि कुनै युवती ५ हजारमा रातभरिको लागि गइन् भने उसैले हामीलाई १५ सय कमिसन दिन्छ,’ राजिवले आफ्नो आम्दानी सुनाए ।

यौनकर्मी युवतीहरु २० देखि करिव ४० वर्ष उमेर समूहका बढी हुन्छन् । राजिवका अनुसार उनीहरुका ग्राहक भनेका व्यापारी, कलाकार, सरकारी कर्मचारीदेखि भिआइपीसम्म हुन् । एक हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्ममा डिल हुने गरेको राजीव बताउँछन् ।

रसियनदेखि भारतीय मोडल पनि यौनधन्दामा

सबै युवतीहरु सडकपेटीमा उँभिएर ग्राहक खोज्दैनन् । पर्यटकीय नगरी ठमेल क्षेत्रमा रसियन नागरिकदेखि भारतीय मोडलहरुसम्म यौनधन्दामा सक्रिय छन् । तर, उनीहरु होटल वा घरमै बसीबसी ग्राहकको सम्पर्कमा पुग्छन् । उनीहरुबीच सम्पर्क सुत्रको काम पनि दलालहरुले नै गर्छन् र कमिसन लिन्छन् ।

प्रहरीले विदेशी युवतीहरु पनि यौनधन्दामा लागेको सूचना पाए पनि फेला भने नपारेको जनाएको छ । ‘मलाई रसियन, भारतीय र नेपालका पनि केही मोडलहरु यौन धन्दामा छन् भन्ने सूचना आएको छ तर भेटिएका छैनन्,’ सोह्रखुट्टे प्रहरीका डिएसपी सोमेन्द्रसिंह राठौरले भने ।

यौन व्यापार प्रहरीको टाउको दुखाई

नेपालमा यौनकर्मी वा देहव्यापार गर्नेहरुलाई राम्रो मानिँदैन । विदेशमा यौनकर्मीहरुका लागि छुट्टै रेडलाइट एरिया तोकिए पनि नेपालमा अवस्था त्यस्तो छैन । तर, ठमेललाई धेरैले अघोषित रेडलाइट एरियाको रुपमा चिन्ने गर्दछन् । त्यसैले प्रहरीले बेला-बेलामा छापा मार्ने र पक्राउ गरेर दुःख दिने गरेको पीडित यौनकर्मीहरु बताउँछन् ।

सडकमा बसेर युवतीको दलाली गर्ने ५० जना बढी पक्राउ परिसकेका छन् । दुई महिना अघि नेपालका हिरोइनहरु मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक ट्याक्सी चालक पक्राउ परे । ति बाहेक मोडल तथा गतिलो युवतीहरु मिलाइदिन्छु भन्दै हिँड्ने १० जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ ।

प्रहरीले सामाजिक र साँस्कृतिक विकृति रोक्न आफूहरु सक्रिय रहेको बताउँछ । पहिले-पहिले डान्सबारभित्रै यौनकर्मीहरुको डिल हुने गरेपनि प्रहरीको कडाइपछि त्यो केही घटेको छ ।

पुरुष ग्राहकहरुसँगै गफिने, सँगै बसेर खानपिन गर्ने, बिल धेरै उठाइदिने गरेपछि युवतीहरुलाई डान्सबार र रेष्टुरेन्ट सञ्चालकहरुले कमिसन दिन्छन् । त्यसबाटै आउने रकमले खर्च चल्ने भएपछि पुरुषहरुसँग रात बिताउन जान धेरै युवतीहरुले छाडेका छन् ।

Thamel-Dance-Bar

रंगीन दुनियाँभित्रको रंगहीन जीवन

जीवन धान्न डान्सबार र रेष्टुरेन्टमा काम गर्नु आफ्नो वाध्यता रहेको उनीहरु बताउँछन् । तर, देह नबेचेरै पेट पाल्नेहरु पनि राजधानीको रंगीन दुनियाँमा छन् ।

दोलखाकी सुमित्रा केसी (नाम परिवर्तन) ९ कक्षा पढ्दा पढ्दै आर्थिक अभावले पढ्नै छाडिदिइन् । काठमाडौंको कालोपुलमा सामान्य पसल सञ्चालन गरिरहेका बाबु-आमाले पनि उनलाई पढाउन सकेनन् । त्यत्तिकैमा फाइनान्समा काम गर्ने एकजना गाउँकै दाइले उनलाई जागिर खोजिदिए डान्सबारमा ।

एक वर्षदेखि ६ हजार तलबमा उनी नर्सिङ चोकमा रहेको एक डान्सबारमा काम गर्दै आएकी छन् । ग्राहकलाई भुलाउने र बढी भन्दा बढी खानपिन गराएर तलबबाहेक थप कमिसन लिने उनको काम हो ।

उनले भनिन्, ‘ग्राहकसँगै बसेर जुस र कहिलेकाहिँ रक्सी पनि खाइदिनुपर्छ त्यसबाट आउने कमिसनले घर चलेको छ ।’

आफ्नो लागि डान्सबारको जागिर आम्दानी गर्ने राम्रो स्रोत बनिरहेको उनी बताउँछिन् । तर, डान्सबारको राम्रो विकल्प पाए छाडिदिने उनको भनाइ छ । ‘यहाँ कमाइ त राम्रै तर बाहिर पसलतिर काम पाए त यो जागिर छोडिदिन्छु’ उनले भनिन् ।

आफूले रेष्टुरेन्टमा गर्नुपर्ने कामबारे बुवा-आमालाई नभनेको उनी बताउँछिन् । आफूले नाम चलेको ठूलो रेष्टुरेन्टमा वेटर काम गरेको भनेर ढाँट्ने गरेको उनले जानकारी दिइन् । ‘थाहा दिने हो भने त यस्तो काम पनि गर्छन् भनेर हप्काउनुहुन्छ । जागिर छाड्न भन्नुहुन्छ,’ आफ्नो काम लुकाउनुको कारण खोल्दै सुमित्राले भनिन्, ‘जागिर छाडेपछि कसरी खर्च चलाउने ?’

सुमित्राले काम गर्ने डान्सबारमै डान्सरको रुपमा काम गरिरहेका हेटौंडाका दिप रास्तोलालाई पनि जागिर राम्रै लागेको छ । पेशाले सवारी चालक उनी डान्सबारमा आफ्नो नाच्ने कला देखाउने अवसर पाएको उनी बताउँछन् ।

उनले भने, ‘म पहिले क्यासिनोमा पनि नाच्ने काम गर्थें । आफ्नो कला बेचेर खाने हो सर कुनै अप्ठेरो छैन ।’

विगतको जस्तो छैन ठमेल

ठमेल क्षेत्रमा विगतको जस्तो डान्सबारमा यौन क्रियाकलाप हुने, ग्राहकहरु कुटिने र ज्यादति गर्ने समूह कमजोर देखिएको प्रहरीको दावी छ । ‘हिजो आज डान्सबारका युवतीहरुको कमाइ पनि राम्रै छ त्यसैले यौन धन्दामा कम लाग्ने गरेको भेटिएका छन्,’ सोह्रखुट्टे वृत्तका डिएसपी राठौरले भने । ‘यदि कुनै घटना भैहाले पनि पीडित प्रहरीसम्म नपुग्दा अपराधीलाई कार्वाहीको दायरामा ल्याउन भने समस्या हुने गरेको उनको भनाइ छ ।

स्थानीय व्यावसायीले आचारसंहिता बनाएरै व्यावसाय सञ्चालन गरेकाले पनि विगतको जस्तो विकृति ठमेलमा छैन । अपवादलाई छोड्ने हो भने अधिकांश युवतीहरु कसैले भन्दैमा पुरुषहरुसँग रात बिताउन जाँदैनन् र त्यसलाई रोक्न व्यवसायीहरु पनि उत्तिकै सचेत छन् ।

‘केहि डान्सबारका युवतीहरु यौन धन्दामा सक्रिय होलान् तर हिजोको जस्तो विकृत अवस्था छैन,’ ठमेल रात्रीकालिन सट कमिटीका अध्यक्ष दावाङ तामाङले भने, ‘सडकमा चल्ने यौनव्यापार रोक्न सकिँदैन तर डान्सबारहरुमा युवतीहरु मोलमोलाई गरेर जाने क्रम धेरै कम भएको छ ।’

सुराकीको लागि सादा पोशाकमा खटिने सई राजेन्द्र कटवाल पनि यौन व्यापार मुख्य समस्या बनिरहे पनि विगतको तुलनामा सुधार आएको बताउँछन् । ठमेललाई सुधार्ने हो भने हरेक व्यक्ति आफै सचेत हुनुपर्ने उनी बताउँछन् ।

कटवाल भन्छन्, ‘रक्सीले मातेपछि सडकमा युवती खोज्दै हिँड्छन् अनि भोलिपल्ट लुटिएँ भन्दै हामीकहाँ आउँछन् । ठमेल आउनेहरु पनि आफैं नसुध्रिएसम्म हामीले जतिसुकै सक्रियता बढाए पनि केही हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment