Comments Add Comment

एमपिएल क्रिकेटको दोस्रो संस्करण कार्तिकमा हुने

MPL-Cricket

१३ भदौ, सप्तरी । तराई-मधेसबाट क्रिकेट खेलाडीहरु उत्पादन गर्ने लक्ष्यसहित मधेस पि्रमियर लिग (एमपिएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी कार्तिकमा हुने भएको छ ।

यसअघि राजविराजमा एमपिएलको पहिलो संस्करण गत बर्ष आयोजना गरिएको थियो । दोस्रो संस्करण राजविराजका साथै जनकपुरमा एकसाथ हुने आयोजक मधेसी स्टुडेन्ट यूनियनले जनाएको छ ।

प्रतियोगिता मधेसका जिल्लामा हुने भएपनि मुलुकको सबैतिरका खेलाडी सहभागी हुन पाउने आयोजकले सोमबार राजविराजमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

‘एमपिएलको दोस्रो संस्करण राजविराज र जनकपुरमा एकसाथ हुनेछ’ आयोजकका अध्यक्ष सञ्जीबनारायण यादवले भने, ‘यसमा तराई/मधेसका जिल्लाका टिमको सहभागिता रहने भएपनि खेलाडी सबैतिरका रहनेछन् ।’

दुवै शहरमा प्रतियोगिताका खेलहरु खेलाइनेछ । आगामी कात्तिक २ गतेदेखि शुरु हुने दोस्रो संस्करणको उद्घाटन जनकपुरमा हुनेछ भने समापन राजविराजमा हुनेछ ।

प्रतियोगितामा मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, नवलपरासीसहितका जिल्लाका टिमहरुको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेता टिमलाई एक लाख र उपबिजेतालाई ५१ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

यस्तै म्यान अफ द सिरिज हुने खेलाडीलाई एलइडी टेलिभिजन, बेस्ट बलर र व्याटसम्यानलाई साइकल प्रदान गरिने छ ।

प्रतियोगिता गराउनका लागि यूनियनले अध्यक्ष सञ्जीब नारायण यादवको अध्यक्षतामा तयारी समिति बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment