Comments Add Comment

बालमानसिंह कार्कीको मेडिकल कलेजमा कसले छानविन गर्ने ?

महाअभियोग प्रस्तावमै किष्ट कलेजको नाम यसरी मुछियो

balmansingh-karki-2
८ कात्तिक, काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजको नाम मुछिएको छ । आफ्ना नातेदारको शेयर रहेको सो कलेजमा विद्यार्थी भर्ना कोटा बढाउन लोकमानसिंहले मेडिकल काउन्सिललाई दबाव दिएको महाअभियोग प्रस्तावमा आरोप लगाइएको छ ।

हेर्नुहोस् महाअभियोग प्रस्ताव

maha-aviyog

‘किष्ट मेडिकल कलेज’ को प्रिन्सिपल पदमा प्रा.डा. बालमानसिंह कार्की आसीन छन् । उनी लोकमानसिंह कार्कीका भाइ हुन् । आखिर यो कलेजमा विद्यार्थीको कोटा बढाउनमात्रै लोकमानले दबाव दिएका होइनन्, सशस्त्र प्रहरीको भ्रष्टाचारबाट आर्जित सम्पत्तिसमेत यो कलेजमा लगानी भएको अख्तियारकै अधिकारीहरुको दाबी छ । त्यहाँ आफ्नो भाइको लगानी रहेकाले लोकमानले यो सबै प्रपञ्च गर्दै आएको अख्तियार स्रोतको कथन छ ।

कार्की परिवारले गलत तरिकाले आर्जन गरी किष्ट कलेजमा लगानी गरेको सम्पत्तिलाई सम्पत्ति शुद्धीकरण विभागमार्फत छानविनको दायरामा ल्याइनुपर्ने र लोकमानसिंहदेखि वीरमानसिंहसम्म कारवाही चलाइनुपर्ने स्रोतको भनाइ छ ।

कोषराजको सम्पत्ति पचाउने प्रपञ्च

सशस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक कोषराज वन्तकी भाउजू अष्ट्रेलियामा बस्थिन् । वन्तले सशस्त्र प्रहरीको रासन ठेक्का आदिमा आएको कमिसन शुद्धीकरणका लागि अष्ट्रेलिया पठाउने गरेका थिए । त्यहाँबाट उनले उक्त रकम हुण्डीमार्फत काठमाडौं पठाउँथिन्, जुन रकम किष्ट कलेजमा पन्तका नातेदारमार्फत लगानी गरिएको थियो ।

सुरुमा कोषराजविरुद्ध अख्तियारमा परेको उजुरीमाथि कुनै सुनुवाइ भएन । आफ्नो भाइको कलेजसँग जोडिएका कारणले लोकमानले कोषराजको फाइल आफ्नै घर्रामा चाबी लगाएर राखे ।

APF-15th-Day,-Koshraj-Wonta
सशस्त्र प्रहरी बलका तत्कालीन महानिरीक्षक कोषराज वन्त

तर, समय बढ्दै जाँदा कोषराजका आफन्त र बालमानसिंहवीच आर्थिक लेनदेनलाई लिएर सम्बन्ध बिगि्रयो । त्यसलगत्तै लोकमानले बहालवाला सशस्त्रलाई आइजी वन्तलाई भ्रष्टाचार मुद्दामा समातेर कारवाही अघि बढाए ।

गत वर्ष पुसमा अख्तियारले कोषराज वन्तलाई निलम्बन गर्नू भनेर सरकारलाई सिफारिस गर्‍यो । त्यसलगत्तै सरकारले कोषराजलाई तीन महिनाका लागि निलम्बन गरेपछि वन्तले सशस्त्र प्रहरी महानिरीक्षक पदबाट राजीनामा दिए । र, उनका ठाउँमा अहिले दूर्जकुमार राई सशस्त्र प्रहरीको महानिरीक्षक बनेका छन् ।

मुद्दा लागिसकेपछि स्रोत नखुलेको आम्दानीमा दरिने भएकाले वन्तले किष्ट कलेजमा आफन्तमार्फत गरेको लगानी दाबी गर्ने कुरै आएन ।

कोषराजमाथि प्रहार गरेपछि किष्टमा गरेको वन्त परिवारको लगानी एकाएक डुब्ने अवस्थामा पुग्यो र लोकमान दाजुभाइलाई यसबाट ठूलो नाफा भयो ।

Lokman-Sing-Karki

एकातर्फ कोषराजमाथि भ्रष्टाचारको मुद्दा लाग्नु तर उनको लागनी रहेको भनिएको किष्ट मेडिकल कलेजलाई वा त्यसका प्रिन्सिपललाई कुनै घुनपुत्लो नलाग्नुमा लोकमानको परिवारवाद मुख्य कारक रहेको स्रोतको भनाइ छ । र, यसबारेमा अब व्यवस्थापिका संसद, संसदीय समिति, अख्तियार र सम्पत्ति शुद्धीकरण लगायतले अनुसन्धान अगाडि बढाउनुपर्ने स्रोतले अनलाइनखबरलाई बतायो ।

भाइका लागि मेडिकल काउन्सिललाई दबाव

कोषराजको पार्टनरसीपलाई ध्वस्त पारिसकेर पनि लोकमानले किष्ट मेडिकल कलेजको पक्षमा आफ्नो काममा विश्राम लिएनन् । उनले सो कलेजको मेडिकल सीट संख्या बढाउनका लागि अख्तियारजस्तो संस्थाको पदीय दुरुपयोग गरे ।

Dr.-Govinda-KC

र, यही कारणले डा. गोविन्द केसीले आफ्ना मागहरुमा मेडिकल कलेजमा लोकमानले दबाव दिएको भन्दै महाअभियोग लगाउन माग गरेका हुन् । अन्ततः डा. केसीको माग संसदले सुनेको छ । तर, बालमानसिंहको किष्ट मेडिकल कलेजमा रहेको भनिएको स्रोत नखुलेको सम्पत्तिमाथि कसले छानविन गर्ने ? अख्तियारले ? कि महाअभियोग सिफारिस समितिले ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment