Comments Add Comment

७ दर्जन फिल्म बन्दा ६ वटा मात्र उत्कृष्ट ? समस्या अवार्डमा कि चलचित्रमा ?

film-of-top-6
बलिउडमा बर्षेनी २ सय भन्दा बढी चलचित्र बन्छन् । बर्षेनी बन्ने २ सय भन्दा बढी चलचित्र मध्ये दर्शकले ५० वटाको हारहारीमा मात्र जानकारी पाउँछन् । कतिपय चलचित्र लाख वरिपरीको व्यापार गर्दै घुँडा टेक्छन् ।

५० वटा चलचित्रमा पनि आधा दर्जनले बम्पर व्यापार गर्छन् । यस्तो व्यापार गर्ने चलचित्रमा स्टारकै हालिमुहाली हुन्छ । बाँकी चलचित्रले सामान्य व्यापार गर्छन् । त्यसमध्ये पनि केहीले समिक्षकको साथ खुबै पाउँछन् । रोचक कुरा के छ भने, बलिउडमा व्यापार धेरै गर्ने चलचित्रले कमै मात्र अवार्ड जितेका छन् । जुन चलचित्रको व्यापार भन्दा समिक्षा राम्रो हुन्छ, तीनले अवार्डमा वर्चस्व कायम गरेका छन् ।

नेपालमा अहिले अवार्डको संख्या बढ्दै गएको छ । दर्जन भन्दा बढी अवार्ड आयोजना भैरहेका छन् । देशदेखि विदेशमा अवार्डको आयोजना गर्नेको लहर बढेको छ ।

रोचक कुरा के छ भने, एक बर्षमा ७ दर्जन भन्दा बढी चलचित्र बनेका छन् । तर, नेपालमा आयोजना हुने सबैजसो अवार्डमा आधा दर्जन चलचित्रकै हालिमुहाली देखिएको छ । आधा दर्जन चलचित्रले नै सबैजसो अवार्डका सबै विधामा कब्जा जमाएका छन् ।

बाँकी रहेका चलचित्रले अवार्डका एकाध विधामा पनि उत्कृष्ट हुने मौका पाएका छैनन् । यसको मतलब के त ? नेपालमा बर्षेनी बन्ने यति धेरै चलचित्रमा जम्मा ६ वटा मात्र उत्कृष्ट हुन् त ?

अर्को कुरा के पनि छ भने, यीनै आधा दर्जन चलचित्रले नै बक्स अफिसमा पनि कब्जा जमाएका छन् । अब, बर्ष २०७२ कै कुरा गरौ न । ‘पशुपति प्रसाद, क्लासिक, कबड्डी कबड्डी, प्रेमगीत, वडा नम्बर ६, ड्रीम्स’ले नै सर्वाधिक व्यापार गरेका थिए, गतबर्ष । अवार्डका अधिकांश विधामा पनि यीनै चलचित्रको कब्जा छ ।

बक्स अफिसमा सफल भएर पनि अवार्डको लायक नभएका थुप्रै चलचित्र बलिउडमा देखिएका छन् । तर, नेपालमा बक्स अफिस र अवार्डमा सफल यीनै आधा दर्जन चलचित्र मात्र भएका छन् । धेरै जसो अवार्डमा त जुरीले आधा भन्दा बढी चलचित्र नै हेर्न आवश्यक ठान्दैनन् ।
नेपालमा अहिले स्टारडम भन्दा पनि चलचित्रको कथावस्तु र मेकिङ राम्रो भएका चलचित्रले राम्रो व्यापार गरिरहेका छन् ।

नेपालमा आयोजना हुने धेरैजसो अवार्डमा जुरी बस्दै आएका संचारकर्मी भरत शाक्यलाई लाग्छ, नेपालमा यो समस्या छ । उनले अनलाइनखबरसँग भने-‘नेपालमा टेक्निकल अवार्ड र पपुलर अवार्डविच स्पष्ट फरक नछुट्याइदा यस्तो समस्या आएको हो । अर्को कुरा, अवार्डका लागि चलचित्रको दर्तादेखि नै प्रत्यक्ष रुपमा जुरी प्रभावित हुन्छन् ।’

शाक्यका अनुसार, अवार्डका जुरीहरु सबैजसो कुनै न कुनै रुपमा चलचित्रसँग जोडिने भएकाले पनि उनीहरुले बक्स अफिसमा सफल भएका चलचित्रलाई दिमागमा राखेर अंंक दिएका हुन्छन् । जसले बक्स अफिसमा सफल मानिएका चलचित्र पनि टेक्निकल अवार्डमा परिरहेका छन् ।

तर, नेपाल र भारतको चलचित्र मेकिङ फरक भएको उनको वुझाई छ । शाक्यले अगाडि भने-‘नेपाली र बलिउड चलचित्रमा भने केही फरक छ । बलिउडमा धेरै चलचित्र टेक्निकल पाटोलाई हेरेर बनाइन्छ । जसले कम व्यापार गरेपनि ती चलचित्र अवार्डका हकदार हुन्छन् । तर, नेपालमा बक्स अफिसमा सफल भएका चलचित्र नै राम्रो बनेका देखिएका छन् ।’

जुरीहरुले टेक्निकल अवार्डमा पनि को हिरो चलेको छ, कुन चलचित्रले बक्स अफिसमा दमदार व्यापार गर्‍यो, कुन हिरोइन चर्चामा छिन् ? भन्ने पनि हेर्ने गरेकाले केही समस्या भएको भरतले स्विकार गरेका छन् ।

नेपाली अवार्डमा आधारभुत कन्सेप्ट नै बन्न सकेको छैन । जसले गर्दा, बक्स अफिसमा हालिमुहाली गरेका चलचित्रले नै अवार्डमा वर्चस्व कायम गरिरहेका छन् ।

यसरी, मुल्यांकन गर्दा केही राम्रा तर खासै नचलेका चलचित्रले अवार्डबाट हात धुनु परेको छ । यो पनि सोचनिय बिषय के बनेको छ भने, ७ दर्जन चलचित्रमा आधा दर्जन चलचित्र मात्र बक्स अफिस र अवार्डमा सफल भएका छन् भने बाँकी चलचित्रको निर्माण र लगानी किन र केका लागि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment