Comments Add Comment

प्रणव मुखर्जी काठमाडौं आउँदा विदेशमा पनि विदा ?

प्रधानमन्त्रीका सल्लाहकार भन्छन्- उपत्यकामा मात्रै हो

pranab-mukherjee
भारतीय राष्ट्रपति प्रणव मुखर्जी

१२ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौं आउँदा कात्तिक १७ गते नेपालभरि सार्वजनिक विदा दिइएको हो कि काठमाडौं उपत्यकामा मात्रै ? यसबारे प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयका अधिकारीको भनाइ बाझिएको छ ।

भारतीय राष्ट्रपति नेपाल आउँदा काठमाडौंमा मात्रै सरकारी कार्यालयहरु बन्द रहने हुन् कि बाहिरी जिल्लामा पनि ? यसबारे प्रश्न गर्दा प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले अनलाइनखबरसँग भने, ‘त्यो दिन उपत्यकामा मात्रै सार्वजनिक विदा दिने भनिएको हो, देशैभरि होइन ।’

तर, गृहमन्त्रालयका कार्यबाहक प्रवक्ता यादव कोइरालाले चाहिँ कात्तिक १७ गते नेपालभित्र मात्रै नभएर विदेशस्थित कूटनीतिक नियोगका कार्यालयलाई पनि विदा दिइने बताए ।

गृहप्रवक्ता कोइरालाका अनुसार मुखर्जी नेपाल भ्रमणमा रहेका बेला नेपालका साथै विदेशस्थित नेपाली कुटनीतिक नियोगसमेत बन्द हुनेछन् । सरकारले सार्वजनिक विदा नै दिने निर्णय गरेकाले उक्त दिन विदेशस्थित कुटनीतिक नियोगसमेत स्वतः बन्द हुने प्रवक्ता कोइरालाको भनाइ छ ।

तर, प्रधानमन्त्रीका सल्लाहकार आचार्य भन्छन्, ‘विहीबारको मन्त्रिपरिषद बैठकले काठमाडौं बाहिरसमेत सरकारी विदा दिने भन्ने उल्लेख गरेकै छैन, उपत्यका बाहिरसमेत विदा दिइएको भन्ने गलत प्रचार भइरहेको छ ।’

भारतका राष्ट्रपति प्रवण मुखर्जीबाट भाइटीकाको भोलिपल्टदेखि हुन लागेको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले विहीबार क्याबिनेटको बैठकबाट एक दिन सार्वजनिक विदा दिने गरेको हो ।

भ्रमणका बेला राजधानीमा उच्चस्तरीय पाहुनाको सुरक्षा व्यवस्थापन एवं ट्राफिक व्यवस्थापन सहज बनाउन भन्दै सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । सरकारले गरेको यस्तो निर्णयमाथि सामाजिक सञ्जालमा चर्को बहस र आलोचना भइरहेको छ ।

यो पनि पढ्नुहोस् 

राष्ट्रपति विद्यादेवीको प्रस्तावमा विदा दिइएको हो: प्रधानमन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment