Comments Add Comment

चिनेको सुन तस्कर समाउन नसक्ने डीआइजीले कसरी चलाउलान् आइजीपी ?

रमेश खरेलले भनेजस्तै अब हाकिमले 'ब्रिफकेस' बोक्ने बेला आयो

dig

११ माघ, काठमाडौं । पुस २१ गते त्रिभुवन विमानस्थलमा ३४ किलो सुनसहित ‘भरिया’हरु समातिँदा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) प्रमुख डीआइजी नवराज सिलवाल निकै बहादुरीपूर्वक पत्रकारहरुसँग प्रस्तुत भए । डीआइजीबाट एकैचोटि आइजीपीको जिम्मेवारी सम्हाल्ने अवसर पाउन लागेका सिलवालका लागि यो ‘एक्शन’ निकै ठूलो ‘प्लस प्वाइन्ट’ हुन सक्ने भएकाले उनी यो घटनाबाट निकै उत्साहित देखिएका हुन् ।

तर, सीआइबीको पहलमा बरामद गरिएको त्यही ३४ किलो सुनका कारण अहिले डीआइजी सिलवालको निदहराम भएको छ । युइएईबाट सुन ल्याउने तस्करको वयानका कारण डीआइजी सिलवाललाई पसीना छुटेको हो ।

तस्करले सुन ओसार्न लगाएका भरियाले त्यस्ता व्यक्तिको नाम पोलेका छन्, जसलाई समाउने हिम्मत नवराजको त के, कुनै ‘इन्द्रराज’को समेत छैन

प्रहरी स्रोतका अनुसार सुन तस्करले विमानस्थलमा सुन छिराउने क्रममा लगेजभित्र हेलिकोप्टरका पार्टपूर्जा रहेको बताएका थिए । यसअघि पनि उनीहरुले ‘हेलिकोप्टरका पार्टपूर्जा’ भन्दै लगेजमा सुन ल्याउने गरेको वयान प्रहरीलाई दिएका छन् । यसबाट कहीँ न कहीँ हेलिकोप्टर व्यवसाय र सुन तस्करीवीच अन्तरसम्बन्ध रहेको अनुमान गर्न अर्को अन्तरदृष्टि आवश्यक पर्दैन ।

तर, सुनसहित पक्राउ परेका भरियाले जब प्रहरीमा थप वयान दिए, त्यसले आइजीपी बन्ने होडमा रहेका प्रहरी हाकिमहरु तर्सिएका छन् । स्रोतका अनुसार तस्करले सुन ओसार्न लगाएका भरियाले त्यस्ता व्यक्तिको नाम पोलेका छन्, जसलाई समाउने हिम्मत नवराजको त के, कुनै ‘इन्द्रराज’को समेत छैन ।

नेपालका ठूला नेताहरुसँग प्रत्यक्ष नजोडिएका अपराधमाथि अनुसन्धान गरेर नाम कमाउँदै आएका नवराज सिलवाल यो सुन बरामदी प्रकरणमा त्यस्तो विलखबन्दमा परेका छन् कि तस्करहरुलाई चिनेर पनि उनी केही गर्न सक्ने स्थितिमा छैनन् । आइजीपी बन्ने लाइनमा रहेका उनका लागि यो घटना एउटा गम्भीर परीक्षा बन्न पुगेको छ ।

प्रहरी उच्च स्रोतका अनुसार पक्राउ परेका तस्करहरुले नाम लिएका व्यक्ति उच्च राजनीतिक पहुँचवाला हुन् । विगतमा उनको सम्बन्ध अख्तियार प्रमुख लोकमानसिंह कार्कीसँग भएकाले उनी संरक्षित हुँदै आएका थिए । अहिले लोकमानको बहिर्गमनपछि पनि उनको पहुँच उच्च तहका नेताहरुसँग छ । एमाले अध्यक्ष केपी ओलीसम्म ती व्यक्तिको राम्रो सम्बन्ध भएकाले प्रहरीले उनीमाथि पक्राउ त के, सोधपुछसम्म गर्ने हिम्मत गर्दैन । त्यसैगरी प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री महरा र कांग्रेसका केही नेतासँग पनि उनको निकटता छ । अर्थमन्त्री महराले ‘म त भुरा मात्रै हुँ’ भनेको कुरा मिडियामा आइरहेको छ ।

स्रोत भन्छ, पक्राउ परेका सुन तस्करहरुले नाम दिएका ती ‘पावरफूल व्यक्ति’ को हुन् भन्ने डीआइजी नवराज सिलवाललाई राम्रोसँग थाहा छ ।

डीआइजी सिलवालले यो काण्डमा बहादुरी देखाउन सक्छन् या सक्दैनन् भन्ने कुराले नै आगामी दिनमा उनले प्रहरी संगठन हाँक्न सक्छन् कि सक्दैनन् भन्ने स्पष्ट हुने प्रहरी स्रोतको दाबी छ ।

जसले सुन समात्यो, उसैलाई ‘अपराधी’ बनाइयो

भनिन्छ, कलियुगमा चोरचाँहि साधु बन्छ र साधुलाई चाहिँ सुलीमा चढाइन्छ । चोरलाई चौतारो, साधुलाई सुली भन्ने उखान यहीँबाट जन्मिएको हो । नेपाल प्रहरीभित्र अहिले यस्तै सजायँ भोगिरहेका छन् अर्का डीआइजी प्रकाश अर्याल ।

gold

डीआइजी अर्यालले सीआइबीमा हुँदा ०७० साल असारको अन्तिम साता कोटेश्वरबाट ३५ किलो सुनसहित केही तस्करहरुलाई समातेका थिए । तर, त्यसरी सुन बरामद गर्नु नै अर्यालको प्रहरी जीवनमा अभिशाप बनेर आइदियो ।

अख्तियारवालाको संरक्षणमा रहेका तस्करहरु सहजै उम्किए, अनि डीआइजी अर्यालले चाँहि अहिलेसम्म ‘सुनकाण्डमा मुछिएका प्रहरी अधिकृत’ को पगरी लगाइरहेका छन् ।

तत्कालीन सीआइबीका संयोजक प्रकाश अर्यालका पालामा समातिएको सो ३५ किलो सुन तातोपानी नाका हुँदै काठमाडौं भित्रिएको थियो । सुराकीका आधारमा प्रहरीले सामान बोक्ने कन्टेनरमा खानतलासी गर्दा फल्स बटम बनाएर ल्याइएको अवस्थामा सुन फेला परेको थियो ।

प्रहरीले त्यसबेला सुन धनी भनिएका ग्याम्जो लामालाई बौद्धबाट पक्राउ गरेको थियो भने सुनसरीका मोहनकुमार अग्रवाललाई कालिकास्थानबाट समातेको थियो भने गाडीधनी तातोपानीकै नाङगेल भनिने ओमबहादुर बज्राजाचार्य माइतीघर मण्डलाबाट पक्राउ परेका थिए ।

सो घटनामा सुन बरामद गर्ने सुराकीको कमिसनबारे विवाद चर्कियो । सुन तस्करीमा संलग्न भीआइपीहरुको खोजी नै भएन । डीआइजी प्रकाश अर्यालले सुराकीको कमिशनमा लोभ गरेको आरोप लाग्यो । र, उनलाई बदनाम गरियो ।

सुनको सुराकी कमिसनबारे एक पूर्वप्रहरी अधिकारी भन्छन्- ‘प्रहरीले प्रायः आफन्तजन र आफ्नै मान्छेलाई सुराकीका रुपमा प्रयोग गर्छन् । परको मान्छेबाट यस्तो काममा विश्वास गर्न नसकिने भएरै प्रहरीलाई आफैं सुराकी खटाउन भनिएको हुन्छ । एकताका काठमाडौंमा चर्चित बनेका एसएसपी रमेश खरेलले पनि श्रीमतीलाई सुराकी राखेर कमिसन लिएको चर्चा चलेकै थियो ।

यो स्थितिमा डीआइजी प्रकाश अर्यालले ३५ किलो सुन र तस्करलाई समातेको विषय ठूलो हुँदाहुँदै पनि चोर पक्रनेलाई नै बदनाम गरेर चोरहरु चाँहि उम्किएको गुनासो प्रहरी संगठनभित्र अहिले पनि चर्चामा छ ।

स्रोतका अनुसार त्यसबेला सुन तस्करहरुको पहुँच राजस्व अनुसन्धानविभागका कर्मचारी र अख्तियारसम्मै थियो । त्यसैले उनीहरुले डीआइजी अर्यालविरुद्ध सुनको नयाँ सुराकीमार्फत विवाद गराएको अर्याल पक्षधर प्रहरी अधिकारीहरुको दाबी छ ।

तथापि त्यो ३५ किलो सुन प्रकरणले के स्पष्ट गर्छ भने प्रहरीले साना एवं राजनीतिक पहुँचमा नभएका अपराधीमाथि सहजै कारवाही चलाउन सक्छ, तर ठूला एवं राजनीतिक पहुँच बनाएका अपराधीहरुलाई छुनै सक्दैन । सिंगै देश तस्करहरुले चलाएको स्थितिमा प्रहरी यसरी निरीह बन्नु स्वाभाविकै हो ।

स्रोतको दाबी के पनि छ भने डीआइजी प्रकाश अर्याल सीआइबीमा हुँदा सुन तस्करहरुका लागि काँडो बनेका थिए । तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीसमेत डीआइजी अर्याललाई देखी सहँदैन थिए ।

डीआइजी अर्याल अहिले महानगरीय ट्राफिकको जिम्मेवारीमा छन् । र, त्यहाँ पनि उनले घुस खाने प्रहरीहरुलाई भटाभट कारवाही गर्ने गरेका कारण उनी अलोकप्रिय छन् ।

अब कसले बुझाउला ब्रिफकेस ?

आगामी फागुन २ गतेदेखि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको पदावधि समाप्त हुँदैछ । त्यसैले अबको तीनसाता विगतमा रमेश खरेलले भाषण गर्दा भनेझैं ‘ब्रिफकेस’ बोक्ने प्रहरी हाकिमहरुको सक्रियता बढ्ने सम्भावना छ । रमेश खरेलले हावाका भरमा ‘ब्रिफकेस’को कुरा गरेका थिएनन् । स्रोत भन्छ, त्यसरी बि्रफकेस बुझाउने व्यक्ति अहिले पनि एआइजी पदमा काम गरिरहेका छन् । दण्डहीनता मौलाएको देशमा उनी कारवाहीका पात्र होइन, किस्साका पात्र बनेका छन् ।

संयोग कस्तो परेको छ भने अहिले सरकार सञ्चालनमा रहेका नेपाली कांग्रेस र माओवादी दुबै सुरुवा-बढुवामा पैसा खान माहिर पार्टीहरु हुन् ।

प्रहरीको सरुवा-बढुवामा पैसा नखाइकन इमान्दारको पक्षमा कांग्रेसका नेताहरुले काम गरेको इतिहासै छैन । लोकमानसिंह कार्कीलाई जलस्रोत सचिव बनाउन तत्कालीन मन्त्री बलदेव शर्मा मजगैंयाँलाई जिउँदो सहिद बनाउने पार्टी हो नेपाली कांग्रेस, जो अहिले सत्तामा छ र गृहमन्त्रालय पनि उसैको हातमा छ ।

त्यसैगरी ल्हारक्याल लामासँग पैसा खाएर सभासद बनाउने माओवादी पार्टी पनि अहिले सरकारमै छ र प्रधानमन्त्री पदमा सो पार्टीका अध्यक्ष प्रचण्ड बसेका छन् । पैसा खाएर नियुक्तिहरु गर्ने संस्कारमा रहेका प्रधानमन्त्री र गृहमन्त्रीले अबको तीन सातामा कस्तो व्यक्तिलाई कति पैसा लिएर आइजीपीमा नियुक्त गर्ने हुन् भनेर सबैले चासोका साथ नियालिरहेको अवस्था छ ।
प्रहरी र कर्मचारीहरुको नियुक्ति एवं सरुवा-बढुवामा नेतालाई बि्रफकेस बुझाउने ‘बनाना लोकतन्त्र’ को जन्मदाता नेपाली कांग्रेसको हो । र, माओवादी पनि त्यही संस्कारको ‘बाइ प्रोडक्ट’ हो ।

प्रश्न जरुर उठ्न सक्छ, आफूले चिनेको तस्करलाई समाउन नसक्ने प्रहरी हाकिमले कसरी संगठनको नेतृत्व हाँक्न सक्लान् ? कसरी देश हाँक्न सक्लान् ?

प्रथमतः त केही एआइजीहरु अहिले नै उपेन्द्रकान्तलाई विदामा पठाएर एआइजीबाटै आइजीपी बनाउने कसरतमा लागेका छन् । र, यसका लागि केहीले शेरबहादुर देउवा र नातेदारबाट सञ्चालित मिडियालाई समेत प्रयोग गरिरहेका छन् ।

एआइजीबाट आइजीपी बन्ने दाउमा रहेका केही प्रहरी अधिकारीमा लोकमानसिंह कार्कीका मान्छेसमेत छन्, जसले विगतमा लोकमानलाई सघाउँदै आएका थिए ।

तर, आइजीपी अर्याल भने आफूसँगै यी सबै एआइजीहरुलाई घर पठाउने र डीआइजीबाटै आइजीपी बनाउने दाउमा छन् ।

दोस्रो, एआइजीबाट आइजीपी बन्न नसक्ने र डीआइजीबाट खोज्नुपर्ने अवस्थामा समेत चलखेल हुन सक्ने अर्को सम्भावना छ । यो स्थितिमा केही डीआइजीहरु यतिबेला नेता खुशी पार्ने अभियानमा छन् । जसले गर्दा सुन तस्करीसँग जोडिएका व्यक्तिलाई कारवाही गर्ने जोखिम प्रहरी अधिकारीहरुले मोल्न सक्ने अनुमान लगाउन गाह्रो छ ।

केही कनिष्ठ डीआइजी पनि सिनियरहरुलाई ‘मिटर ब्याजी’ र सुनकाण्डमा मुछिएका भन्दै ‘मिडिया म्यानेज’मा भित्रभित्रै लाग्न थालेका छन् । उनले क्षेत्रीयतावादको नारालाई पनि आइजीपी बन्ने आधार बनाउँदैछन् ।

तर, प्रश्न जरुर उठ्न सक्छ, आफूले चिनेको तस्करलाई समाउन नसक्ने प्रहरी हाकिमले कसरी संगठनको नेतृत्व हाँक्न सक्लान् ? कसरी देश हाँक्न सक्लान् ? पद र व्यक्तिगत लाभका लागि आफ्नै संगठनभित्रका साथीहरुविरुद्ध मिडियामा समाचार लेखाउादै हिाड्ने प्रहरी अधिकारीले कसरी संगठनभित्र एकता र पारदर्शिता कायम राख्लान् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment