+
+
Shares
यात्रा :

सगरमाथाको अँगालोमा

सर्वोच्च चुचुरो सगरमाथाको अँगालोमा उनिँदा उनको ढुकढुकीले सुटुक्क बताएको भेद भन्न मन लाग्यो, ‘सभ्यताको धरोहर सगरमाथा शान्ति र समृद्धिको सौम्य विभूषणले सिङ्गो धर्ती सुहाएको हेर्न आतुर छ ।’

रमा अधिकारी कादम्बरी रमा अधिकारी कादम्बरी
२०८३ असार १३ गते १८:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखिकाले जीवनसाथीसँग जेठको पहिलो हप्ता सगरमाथा आधार शिविरको यात्रा सफलतापूर्वक पूरा गर्नुभएको छ ।
  • लुक्लाबाट शुरु भएको ५३ किलोमिटर लामो पदयात्राले सगरमाथा क्षेत्रको भौगोलिक विविधता र प्राकृतिक सौन्दर्यलाई नजिकबाट नियाल्ने अवसर प्रदान गरेको छ ।
  • आधार शिविरमा पुगेर विश्वको सर्वोच्च शिखर सगरमाथाको सामिप्यमा रहँदा लेखिकाले शान्ति, पवित्रता र गौरवको अनुभूत गर्नुभएको छ ।

अपनत्वको आभास पनि अचम्मको हुन्छ । आफ्नो भनेपछि सबै प्यारो– माटो, ढुङ्गा, पानी, भूगोल अनि भूगोलका मान्छेहरू ।

यद्यपि, विश्वको सर्वोच्च शिखर सगरमाथा पक्षपातको राजनीति जान्दैन । आत्मीयता र उदारताको खोकिलोमा पूरै विश्वलाई गुथेर एकैसाथ अपनत्व पस्किन खप्पिस छ ।

अङ्कमा ८८४८.८६ मिटर रहेको सगरमाथाको उचाइ नेपाली स्वाभिमानको अगणित अग्लाइ हो । उसले ओडेको सेतो बर्को विश्वबन्धुत्व र भ्रातृत्व बाँड्ने कालजयी कलाकृति हो । सिनेमाको दैवी शक्ति प्राप्त नायकझैं संसारको भार आफ्नो काँधमा भिरेर पनि अथक अनवरत उभिएको सगरमाथा बसुन्धराको अभिमान, आस्था र आड हो ।

भाग्यले ‘भैगो’ भन्नु या नभन्नु बैग्लै प्रसङ्ग । जीवन यात्राको दौरानमा सगरमाथाको दर्शन गर्ने अभिलाषा जो केहीभित्र अङ्कुरित हुन्छ भन्ने ठान्छु । उसैको अंश हुने भाग्यशाली नेपाली म । कसरी अछुतो हुन्थें सगरमाथाको चरण स्पर्श गर्ने अभीप्साबाट ।

जब आत्मबल रारा हुदै मुर्मा टप पुग्छ, जब भाग्यले हात समातेर डोर्‍याउँछ,, जब सम्बन्ध प्रेमले सुशोभित हुन्छ । तब हर असम्भाव्य कुरा सम्भव हुन्छ । जेठको पहिलो हप्ता सगरमाथा आधार शिविर चुम्न चुकिनँ म ।

‘एक्लै हिँड्डाको आनन्द तिमीसँग हिँड्दा हुँदो रहेनछ…।’

कवि दिनेश अधिकारीको कविताको भावभन्दा मेरो स्वभाव अलग्गै छ । मलाई जीवन साथीसँग यात्रा गर्दा संसारै जित्न सक्छु जस्तो आभास हुन्छ । त्यही आभासको आभामा उजेलिएर मैले हाम्रो आस्थाको चुचुरालाई नजिकबाट नियालेँ । मतलब जीवनसाथीको जिम्मेवारीको मेसोमा मिसिएँ म ।

छातीभरि उमङ्ग रोपेर मनको मान्छेसँगै एयरपोर्टतिर लागेँ । ‘अहिले नै उडेर लुक्ला पुगूँ’ भन्ने हुटहुटीले लुटुपुटु गरिसक्यो मस्तकमा । लुक्लामा मौसमले खेल्ने लुकामारीको लयमा हवाईजहाजको उडान तालिका ढल्नु पर्छ । जुरे डाँडा वरिपरि टहलिने लत परेकोे कुहिरोले बाटो छेक्यो हामीलार्ई । पहिलो दिनको प्रयास असफल भयो । यदि बसको यात्रा सहज हुने गरी सडक सञ्जाल विस्तार हुन सकेको भए…!

अवनति बहुआयामिक अभिशाप रहेछ ।

बादलका बुट्टाहरूसँग २५ मिनेट साइनो गाँसेपछि मुखामुख गरेका चुचुराहरूलाई छुन खोजेझैं नजिकबाट जिस्क्याएर ओरालो झर्दै विश्वकै जटिल मानिने तेन्जिङ हिलारी (लुक्ला) एयरपोर्टमा अर्को दिन प्लेनले थरक मार्दा मिलेकोे चैन शब्दमा प्रस्फुटन गर्न सक्दिनँ ।

मैले आँखा चिम्म गरेँ । सेतो पहिरनमा सजिएको आकर्षक बलिष्ठ सर्वश्रेष्ठ युगनायक सगरमाथाले मलाई ग्वाम्म अँगालो हाल्यो । हिउँको सिरेटो र घामको रापबाट मलाई जोगाउन हत्केलाले आकाश ढाकिरहेकोे चामत्कारिक हिउँको हिरोको खोकिलोमा आमाको छातीमा लपेटिएको नवजात शिशुझैं निर्धक्क उनिएँ म ।

गुराँसको इन्द्रेणी लालिमा पोतेका सुन्दर यौवना जस्ता पाखाहरूसँग रङ पैंचो मागेर भूगोलको नसा–नसामा समृद्धिको सपना सजाइदिँउ जस्तो । उसैउसै फुरुङ्ग थियो मन ।

ढाडको कुम्लोकुटुरो अनि हातको एक जोडी मियो…। सगरमाथा बेस क्याम्पको यात्राका यिनै सहयात्रीसँग मितेरी गाँस्तै उँचो थुम्कोको काखमा लुकेको लुक्लासँग फिर्दा भलाकुसारी गर्ने वाचा गरेर हामी फाक्दिङतिर हान्निइहाल्यौं । यात्राको आरम्भमा नै ढुङ्गे सिँढीहरू हुँदै ओरालो लाग्दा कतै उल्टो बाटो हिँड्दै त छैनौं भन्ने भान भयो । सगरमाथा त्यसै कहाँ शिखरको राजा भएको हो र ! जिन्दगीका आरोह–अवरोहसँग अभ्यस्त गराउने रहेछ यसले । जीवन सङ्घर्ष सिकाउने विश्वकोष नै रहेछ यो यात्रा ।

थोरै झरेपछि खुम्बु पासाङ ल्हामु गाउँपालिकाको गेटमा पुगेर वीर नारीरत्न पासाङ ल्हामुको प्रतिमा नियाल्दा श्रद्धाले शीर नझुकाई मन के मान्थ्यो !

अबको यात्रालाई आधिकारिकता दिन त्यहाँ आफूलाई दाखिला गर्ने विधि पूरा गरियो र स्वच्छन्द अघि बढियो ।

हाम्रो हिँडाइ आम मान्छेको हिँडाइभन्दा थोरै सुस्त हो । खरायो र कछुवाको कथा सम्झिँदै हामी निरन्तर हिड्यौँ । हामीसँगै लुक्लाबाट हिँडेका यात्रीहरूभन्दा एक दिन पहिले नै आधार शिविर चुम्यौं पनि । वातावरणसँग भिज्दै शरीरमा अक्सिजनको तह सन्तुलन गरी राख्ने अभिप्रायका लागि पनि कछुवाको घस्रने सिद्धान्त सँगाल्नु उत्तम रहेछ सगरमाथा बेस क्याम्पकोे यात्रामा ।

लगभग सात किलोमिटर बाटो हामीले साढे चार घण्टामा बुत्यायौं । नुमुर, दूधकुण्ड र काङ्दे पर्वतलाई टिठ्याउँदै अघि बढेका हामी पानीले चुटिएकाले पनि बास दिने फाक्दिङप्रति कृतज्ञ बन्यौं ।

युनेस्कोको विश्व सम्पदा सूचीमा गर्वका साथ सजिएको सगरमाथा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा पदार्पण गरेपछि सुन्दर स्थान मोन्जोले शुभ यात्रा भन्दै बिदाइका हात हल्लाउँदो रहेछ । नाम्चेबजार पुग्नुअघिको पछिल्लो गाउँ जोरसल्ले पार गरेपछि बगरका ढुङ्गाहरू टिपेर गट्टा खेल्दै हिँड्दा आनन्दले सीमापार हुन खोज्ने रहर तब मात्रै मत्थर भयो जब दूधकोशीले निलेको अजङ्गको भिरको साँघुरो चिप्लो बाटो हिँड्नु पर्र्नेे चुनौतीले चियायो ।

रमा अधिकारी कादम्बरी

बुढ्यौलीले चपाएको हिलारी पुललाई उसैको अकासिएको संस्करणले दिएको सहाराको साक्षी बन्दै नाकको डाँडी ठोकिएलाझैं उकालोमा खच्चडसँग घम्साघम्सी सकिएपछि हर्हराउने नाम्चे बजारको सुगन्धले फेरि रहरको पुनरावृत्ति गराइहाल्यो । आफ्नै बासना नचिनेको कस्तुरीझैं स्वयंको ढाडमा कुम्ल्याइएको खान्की नदेखेर कान्लाको लेउका निम्ति धरालोको निर्मम लाठीसमेत पचाउने खच्चडहरूको भोको पेटप्रति सहानुभूति पनि जाग्यो । सामानका सारथि खच्चड र याक नभए खुम्बु क्षेत्रका मान्छेको के हालत होला ? व्यापारीको के गत होला ? हामी जस्ता घुमन्तेको के हबिगत होला ?

अँध्यारोले नअँचेटुन्जेल हिँड्ने जमर्कोमा थियौँ हामी । विश्वकै अग्लो स्थानमा रहेको होटल एभरेस्ट भ्यूलाई मास्तिर पार्‍यौं । ऐतिहासिक खुम्बु उपत्यकालाई अर्को पटक भेट्ने सन्देश टाढैबाट पठाएर तेर्सैतेर्सो गएपछि आकाश हामी सामु रोयो । रेनकोट ओडेर, गोक्यो जाने बाटो छोडेर पल भर झरेपछि शान्त नौसासामा रात बिसाइयो । सगरमाथाझैं आकासिने उत्साह मनमा सञ्चार गर्दै प्रभाती स्फूर्ति शरीरमा भरेर थोरै ओरालो झरेपछि फेदीमा फक्रिएको फुुङ्गी तोङ्गा आई त हाल्यो ।

हिमाली हावाले हामीलाई हानेको हेर्न नसकेर आकाशले कपासको वर्षा गर्न थालिसकेको थियो । अजङ्गको उकालो नचढी त्याङबोचेको थाप्लामा सजिएको प्राचीन त्याङबोचे विहार पुगिँदैन । यस्तोमा पदचाप बढाउनुको विकल्प छ र ? सास उसैउसै खिचिएर उँभो लाग्न माने पो !

रङ्गी–विरङ्गी गुराँसले बिहेको मण्डपमा बसेकी दुलहीझैं पाखा कति हिस्सी देखिएको । लौरोले रुखका पातहरूलाई जिस्क्याउँदा मायाको चिनो हिउँको ओढ्ने पाएर कति पो फुरुङ्ग भइयो । बरफको तन्ना ओछ्याएर लमतन्न परेको उकालोसँग साइनो गाँस्दागाँस्दै कतिखेर त्याङबोचे छिचोलियो पत्तै भएन ।

आकाश खुलेर आयो । चिस्यान मेटिँदै गयो । त्याङबोचेसँग अङ्कमाल गर्दागर्दै चिटिक्क परेको सगरमाथाको दूरबाट दर्शन पाउँदा जीवनको असली आनन्दको शुभारम्भ भएझैं झन् मख्ख परियो । प्रेयसीलाई आफ्नै बेहुली बनेको देख्दा आनन्दित भएझै आँखाको लेन्स बढाएर हेरीरहुँ लाग्योे बिछट्ट । सगरमाथाको आडैमा अडिन पाउँदा पुलकित ल्होत्से र नुप्से पनि कम आकर्षक त कहाँ थिए र ?

हाम्रो त्यो दिनको गन्तव्य दिङबोचे थियो । उकाली ओरालीसँग माया गाँस्दै दिबोचे र पाङबोचेको सौन्दर्यलाई आँखैमा राखेर फिरिचेलाई देब्रेतिर कोल्टे पार्दै लखतरान ज्यान लिएर  झम्के साँझमा दिङबोचेसँग बासको भिक्षाटन गरियो ।

सगरमाथाको साथी बन्न हिँड्नेहरूको रफ्तार बैग्लै हुन्छ । एकै स्थानमा रोकिने कुरै भएन । रुख–बिरुवाले चटक्कै माया मारेको थुम्को चढेपछि कार्टुन सिनेमाको जस्तो अलौकिक सुन्दर पाटन पुगियो । थरक मार्ने मेसो पारेर थुक्लापासमा पेट पुजा गरेपछि ठाडो उकालोमा पाइताला रगड्दा बल्ल अनुभूत भयो, ‘बहुमूल्य वस्तुकोे प्राप्ति सोचे जस्तो सहज हुँदैन रहेछ ।’

बगरको शू्न्यतामा कर्णप्रिय सङ्गीत छरेर श्रेय लिन नखोजेको पत्थरमुनि सलल बगेको कञ्चन पानी यात्रुको प्यास मेट्ने दधिची रहेछ । बडेमानका पाषाणहरूले लुकाएको बाटो भेट्टाउँदै सौन्दर्य कुँदेर लयमा सजिएका भिरका ढुङ्गाहरूसँग कुस्ती खेल्ने उत्कण्ठा कस्तो जागेकोे ! फेरि रूपवान् हिउँ चुचुराहरू हेरेर अघाइने खालका कहाँ हुन् र !

सगरमाथाको बस्ती रामराज्यको अखण्ड भूमि रहेछ । बाटो हिँड्ने बटुवादेखि भारी बोक्ने भरियासम्मले पर्यटकको जगेर्ना गर्ने रहेछन् । तब रातसँग रत्तिभर डर लागेन । ८ बजेर नाघिसक्दा समेत लिबुचे हामीलाई स्वागत गर्न सङ्घारमा नै उभिएको थियो ।

राति निर्वस्त्र निदाएको लिबुचे विस्मित सूर्योदयसँगै हिरा जडित वस्त्रले देदिप्यमान भयो । हामी छक्क पर्‍यौँ ।

सगरमाथा आधार शिविर पुग्नुअघि एक रात गोरखसेपसँग पिरती नगाँसी धर नपाइने सुइँको पाइसकेपछि लोबुचेलाई अल्मल्याउने कुरै भएन । यात्रामा एक कदम अगाडि सर्न ढिला गरेनौं ।

गोेरखसेपले पस्किने मायामा सगरमाथाको चरण चुम्ने कौतुहल र आतुरता मिसिएको थियो । र त रातभर ज्यानले कोल्टे फेरिरह्यो । मन भने उडेर आधार शिविरको हिउँमा लुटुपुटु गर्दै हिमशिखरसँग पिरती गाँस्न व्यस्त भयो ।

बासस्थानमा पूरै उज्यालो नपोखिँदै कालापत्थरलाई लोभ्याएर हामीले उन्नयनको बाटो रोज्यौँ । हिउँका बाछिटाले सासमा सगरमाथाको खास सुगन्ध सञ्चार गराइरहेथ्यो ।

‘यो बिहानी सगरमाथासँग सन्निकट हुने पावन बिहानी, सगरमाथाको चरण चुम्ने साइत निम्त्याउने खास बिहानी… ।’

धीरता स्वयं अधीर थियो ।

भिरालोे झरेर, हिउँको पहरा तरेर अलिकति उकालो चढेपछि अप्ठ्यारो बाटोमा अड्किएर पाहुनाको स्वागत गर्न तल्लिन, निधारमा ५३६४ मिटर नामको तिलक लगाएको ठूलो पत्थर सगरमाथाको रक्षार्थ खटिएको पहरेदार थियो । पत्थरसँग आमनेसामने हुँदा सगरमाथाको काखैमा बसेझैँ धन्य महसुस भयो । धित अझै मरेन । माथिमाथि उक्लिन मन लाग्यो ।

सगरमाथाको खोकिलोमा बस्ने उत्साह जाग्यो । एकैछिन उँभो लागेर जीवनसाथीकै हारमा टक्क उभिएँ । जताततै हिउँ ओडेर सजिएको स्वप्निल धर्ती । प्रकृतिले कुँदेको अद्भूत दश्य । यस्तोमा आल्हादको कुनै सीमा हुन्छ र ?

मैले आँखा चिम्म गरेँ । सेतो पहिरनमा सजिएको आकर्षक बलिष्ठ सर्वश्रेष्ठ युगनायक सगरमाथाले मलाई ग्वाम्म अँगालो हाल्यो । जीवन्त युगनायकले मभित्र पवित्रता, पूर्णता, इमान्दारी र स्वच्छताको अनावरण गरिदियो । हिउँको सिरेटो र घामको रापबाट मलाई जोगाउन हत्केलाले आकाश ढाकिरहेकोे चामत्कारिक हिउँको हिरोको खोकिलोमा आमाको छातीमा लपेटिएको नवजात शिशुझैं निर्धक्क उनिएँ म ।

सगरमाथाको समर्पणमा म बेपत्ता भएको खबर पाएका जीवनसाथी इर्ष्याले जलेनन् । बरु मेरै लयमा लय मिलाए । मुटु छेड्ने चिस्यानमा उल्काको न्यानोपन भेटेँ मैले । आधार शिविरको उपल्लो छेउ (जहाँबाट सगरमाथाको शीर चुम्ने कठिन तर ऐतिहासिक यात्रा आरम्भ हुन्छ) मा पुगेपछि लुसुक्क लुकेको सगरमाथाको हत्केला चुमँे । हामीलाई सगरमाथा उपहार दिने हार्दिकताको लागि प्रकृतिलाई पहिले कृतज्ञता टक््रयाएर गुनासो पोखेँ, ‘आधार शिविरबाट उँभो हेर्दा सगरमाथाको माथ प्रत्यक्ष दर्शन पाउने गरी भूगोलको बान्की मिलाएको भए अनुपम हुन्थ्यो !’

सगरमाथाको सौन्दर्यसँग लट्ठिएर हाम फाल्दै झरेको उत्ताउलो मार्तण्डको ज्वालाले झुत खेलेर पीडादायी चुम्बन गरेपछि पग्लिएर बगेको शिखरको प्रतिष्ठाका लागि मेरो मन यसैयसै चिच्यायो, ‘मेरो आदिम आस्था सगरमाथाको चीरहरण नगर । उसको अस्मिता चुहियो भने मेरो अस्तित्व कहाँ बाँकी रहन्छ ?’

०००

लुक्लाबाट सगरमाथा बेसक्याम्पको यात्रा त्रिपन्न किलोमिटरको हो । हेलिकप्टर नपाइने होइन । तर आफ्नै भिर अनि पाखामा गुल्टुङ्बाजी खेल्दै, हिउँको चिप्लेटीमा पत्थरहरूसँग घम्साघम्सी गर्दै भूगोलको भर्‍याङ चढ्न पाएको मौका किन गुमाउनु ?

‘हजार माइलको यात्रा एक पाइलाबाट आरम्भ हुन्छ’ भन्ने लाओत्सेको भनाइ चरितार्थ गर्‍यौं हामीले । बाटोमा भेटिने चाइनिज, इन्डियन, अमेरिकनलगायत वदेशी पर्यटकसँग ‘नमस्ते’ र ‘शुभयात्रा’ साट्दासाट्दै दूरी मेटिएको पत्तै पाइएन ।

सगरमाथाको आधार शिविर पुगेर पाएको ऊर्जा र सिकेको सद्भावनाको पाठ मस्तिष्कमा कुँदेर ढुङ्गा, माटो, हिउँ, हावा पानीसँग फाकिँदै फर्कियौ । वाचालाई वास्तविकतामा बदल्दै  लुक्लासँग प्रेमिल रात बितायौं ।

हवाईजहाज चढ्ने पर्यटकप्रति प्राय: अनुदार भैदिन्छ लुक्लाको मौसम । फर्किंदा पनि त्यसकै मारमा परियो । गुटुङ्टुङ डेढ घण्टा ओरालो झरेपछि आइपुग्ने सुर्के खुम्बु भेकमा सामग्री उपलब्ध गराउने अखडा रहेछ । भिरसँग मित्रता गाँसेको साँघुरो कच्ची हिलाम्य सडकमा चार पाङ्ग्रेको तालमा नाँच्दै सल्लेरी आइपुगियो ।

अहँ ! हिँड्दा पाउ नथाक्ने । हेर्दा आँखा नअघाउने  । लुटपुटिँदा धित नमर्ने । आहा ! कति आल्हादित यात्रा सगरमाथा आधार शिविरको !

सर्वोच्च चुचुरो सगरमाथाको अँगालोमा उनिँदा उनको ढुकढुकीले सुटुक्क बताएको भेद भन्न मन लाग्यो, ‘सभ्यताको धरोहर सगरमाथा शान्ति र समृद्धिको सौम्य विभूषणले सिङ्गो धर्ती सुहाएको हेर्न आतुर छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?