Comments Add Comment

यी हुन् दुबईकी ‘चटपटेवाली’ नेपाली चेली !

भन्छिन्- इज्जत बेचेको होइन, चटपटे बेच्दा किन लजाउनू ?

१ फागुन, युएई । आफूले काम गरिरहेको कम्पनीले कामदार सप्लाई गर्न नसकेपछि दमक झापाकी तारा पोखरेललाई संकट आइलाग्यो । केही वर्ष परदेशमा दुःख गरेर परिवारको आर्थिक अवस्था दरिलो बनाउने सपनासहित दुबई आएकी पोखरेलले ऋण तिरी नसक्दै नेपाल फिर्नुपर्ने भयो ।

तैपनि ताराले हिम्मत हारिनन् । उनले कम्पनीका मालिकलाई आफ्नो समस्या बताइन् । कम्पनी मालिक अलि उदार परेछन् र उनले दुबईमै नयाँ काम खोज्ने समय पाइन् ।

नयाँ कामको खोजीमा ताराले निकै दौडधुप गरिन् । आफन्त र साथीभाइलाई गुहारिन् । कामको खोजीमा उनले तीन महिनासम्म पाउनुसम्मको दुःख पाइन् ।

काम खोज्ने क्रममा कहिले अबुधाबी त कहिले सारजहासम्म धाउँदा उनी थप ऋणमा डुबिन् । त्यसै बेला बिरामीले गर्दा ओछ्यानमै थला परेर १० दिनसम्म कष्टकर समय गुजारिन् ।

यी तीन महिना ताराका लागि तीन जुनीसरह महसुुस भयो । सामान्य साक्षर उनले कमाएको सबै पैसा नयाँ कामको खोजीमै सिध्याइन् । अहिले उनी ती दुःखका दिनहरु सम्झँदै भन्छिन्, ‘दुःख भनेको त भगवानले लिने परीक्षा पो रहेछ !

दुबईमा ताराका साथीसंगीहरु प्रशस्तै थिए । हिम्मतवाली, सोझी, आत्मविश्वासी अनि इमानदार पोखरेललाई काम खोज्न केहीले सहयोग गरे । उनी आवद्ध जिल्ला समाजले सहयोगको प्रस्ताव गर्दा उनले ‘आफ्ना हातखुट्टा चलुञ्जेल सहयोग नलिने’ जानकारी दिइन् । मागेर खानुभन्दा गरेर खानुपर्छ भन्ने मान्यता भएकी पोखरेलले अन्ततः नयाँ काम सुरु गरिन् । अर्थात् उनले नेपालीहरुको बाक्लो उपस्थिति हुने स्थल बरदुबई वरपरको क्षेत्रमा चना चटपटे बेच्न थालिन् ।

शुक्रबारे साप्ताहिक बिदाका दिनमा जहाँजहाँ नेपालीहरुको बाक्लो उपस्थिति हुन्छ, पोखरेल त्यहीँत्यहीँ पुग्छिन् । बरदुबईको मेट्रोपार्कदेखि क्यारिफोरको हरियो डाँडोमा पनि उनलाई देख्न सकिन्छ ।

साथीभाइ तथा आफन्तहरुको भेटघाटका लागि दुबईमा ‘नेपाली चोक’ कै रुपमा ख्याति कमाएको बरदुबईलाई नै यी नेपाली चेलीले आफ्नो कार्यक्षेत्र बनाएकी छिन् ।

समूहमा रत्तिएर दोहोरी गीत गाउनेदेखि पि्रति लाउनेहरुको केन्द्र बनेको बरदुबई वरपरि डुलिरहेकी पोखरेल भने नत गीत गाउन जान्छिन् न त पि्रत लाउन नै । उनी त्यहाँ चटपटे बेचिरहेकी हुन्छिन् । चना, मुरई, आलु, प्याज, धनियाँ, झुरमुरे र कागतीको अमिलो मिसाएर उनी आफैंले कोठामा तयार पारेको चना चटपटे बेचेर अतिरिक्त कमाइ गरिरहेकी छिन् ।

शुक्रबार एकै दिनको व्यापारबाट २ सय ५० देखि ५ सय दिराम्स (करिब पन्द्र हजार रुपैयाँ) सम्म कमाइ हुने पोखरेलको अनुभव छ । महिनाका चारवटा शुक्रबार व्यापार गर्दा औसतमा एक हजार दिराम्स (करिब ३० हजार रुपैयाँ) कमाइ हुने उनले जानकारी दिइन् । एक सय पचासजतिको सामानबाट निर्मित चटपटे बेच्दा कुनै दिन पाँच सय दिराम्ससम्म बिक्री भएको उनले अनुभव सुनाइन् ।

यसरी खुल्ला एरियामा बेचबिखन गर्न धेरै समस्या भए पनि उनी सतर्क भएर नेपाली चटपटे पारखीहरुको सेवा गरेको बताउँछिन् । फुर्सदको समय मनोरञ्जनमा बिताउनुभन्दा भविश्यका लागि बचत गर्न आफूलाई चटपटेको व्यापारले सहयोग गरेको बताइन् ।

उनले एकजना सामान्य मजदुरले एक महिनामा कमाउने पैसा चारवटा शुक्रबार चटपटे बेचेरै कमाउने गरेको जानकारी दिइन् ।
दुःखपछि सुख आउँछ भनेझैं उनले एउटा गुजराती डाक्टरको परिवारमा हाउसमेडका रुपमा काम पनि पाएकी छिन् । शनिबारदेखि बिहीबारसम्म आफ्नो नियमित काम गरेर हप्तामा एक दिन चटपटेको व्यापार गर्दा जागिरबाट प्राप्त रकम बचत भएको छ ।

दुबईमा ‘चटपटेवाली’का रुपका आफ्नो सर्कलमा परिचित पोखरेल आफ्नो काममा गर्व गर्दै भन्छिन्, ‘मैले इज्जत बेचेको होइन, चटपटे बेच्दा किन लजाउनू ?’

काम खोज्नमा झापाली समाजका उपाध्यक्ष दीपक बस्नेत र उर्मिला बस्नेतले गरेको सहयोगको उनले खुलेर चर्चा गरिन् । मासिक एक हजार सात सय दिराम्समा काम सुरु गरेकी उनले बिदाका दिनमा चटपटेको ब्यापार गरेको कामबाट प्रभावित भएर मालिकले मासिक ३ सय दिराम्स तलब बढाएको उनले सुनाइन् ।

ताराको कामप्रतिको लगाव देखेर अहिले उनका स्पोन्सरले दुई हजार पाँच सय दिराम्स -करिब ७५ हजार रुपैयाँ) तलब दिने गरेको पोखरेलले जानकारी दिइन् ।  दुबईमा ‘चटपटेवाली’का रुपका आफ्नो सर्कलमा परिचित पोखरेल आफ्नो काममा गर्व गर्दै भन्छिन्, ‘मैले इज्जत बेचेको होइन, चटपटे बेच्दा किन लजाउनू ?’

काम गरेर खान लाज नमान्ने पोखरेललाई चटपटेको व्यापार गर्न नरमाया लक्सम, चाँदनी आँशु, रेनुका सुब्बा, मीना तामाङ, दीपक बस्नेत, पारस लामा लगायत धेरैले सहयोग र प्रेरणा प्रदान गरेको ताराले अनलाइनखबरलाई बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment