Comments Add Comment

निमित्त आइजीपीको गुनासोः मेडिकल कलेज खोल्ने योजना गोविन्द केसीका कारण रोकियो

पोष्टमार्टम गर्दा प्रहरीले दबाव दिएपछि प्रहरी सेवामा प्रवेश

९ फागुन, काठमाडौं । परिस्थितिले डा. दिनेशचन्द्र पोखरेललाई अहिले नेपाल प्रहरीको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ । डाक्टरी पढेर निजी अस्पतालमा लाखौंको जागिर खाइरहेका पोखरेल कसरी प्रहरी कर्मचारी बने ? यो प्रसंग रोचक छ ।

रामेछाप जिल्लामा रहेर स्वास्थ्यसम्बन्धी काम गर्दा प्रहरीका हाकिम (डीएसपी) ले पोष्टमार्टम रिपोर्ट आफूले भनेजस्तै बनाइदिन दबाव दिएको तीतो अनुभव निमित्त आइजीपी डा. पोखरेलसँग छ । प्रहरीले यसरी दबाव नदिएको भए उनी नेपाल प्रहरीको जागिरमा शायदै प्रवेश गर्ने थिए ।

गुल्मीको गुरकोटमा जन्मिएका डा. पोखरेललेले दुई कक्षादेखि काठमाडौंमा बसेर अध्ययन गरेका हुन् । बुवा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक थिए ।

सुरुमा इपीएस स्कुलमा अध्ययन गरेका डा. पोखरेलले पाटन साइन्स क्याम्सबाट आईएस्सी गरे । त्रिचन्द्रमा बीएस्सी पढ्दै गर्दा उनलाई भारतको केरला विश्वविद्यालयबाट छात्रवृत्तिमा अध्ययन गर्ने अवसर मिल्यो ।

केरलाबाट अध्ययन गरेर फर्किएपछि उनी जागिर खान गर्न जिल्ला अस्पताल रामेछापमा पुगे । रामेछाप जिल्ला अस्पतालमा काम गर्दा भोगेको अनुभवले नै डाक्टर पोखरेललाई नेपाल प्रहरीतिर तान्यो ।

०४४ सालतिर जिल्ला अस्पताल रामेछापमा काम गर्न जाँदा उनलाई केही व्यक्तिले जिल्लाका प्रहरी प्रमुख, सीडीओ र एलडीओसम्मलाई मिलाउन सकेमात्रै काम गर्न सकिने सुनाएका थिए ।

चार महिना काम गर्दाको अनुभव सुनाउँदै डा. पोखरेल भन्छन्, ‘जिल्ला अस्पतालमा काम गर्न त गएँ तर सिडिओ र प्रहरी प्रमुखसँग मिलेर बस्ने हो भने डाक्टर हुन सक्छ र काम गर्न सक्छ, यदि उहाँहरुसँग टस्सल लिने हो भन्ने जिल्लामा बस्नु उपुयक्त हुँदैन भन्ने परिस्थिति देखियो ।’

डा. पोखरेलले अगाडि थपे- ‘साढे चार महिना रामेछापमा बस्दा मैले ८ वटा पोष्टमार्टम गरेँ । त्यतिखेरको अवस्थामा मेरो पोष्टमार्टमको रिपोर्ट, सरकारी वकिलको रिपोर्ट र प्रहरीको रिपोर्टमा धेरै किसिमको फरक आयो । त्यसपछि थाहा भयो कि जिल्लामा बसेर काम सकिँदैनरहेछ । यो नै म प्रहरी अस्पतालमा आउनुको पहिलो कारण बन्यो ।’ उनी भन्छन्- ‘त्यहीबेला प्रहरीमा भर्ना खुल्यो । ०४६ सालमा प्रहरी भइयो ।

प्रहरी अस्पताल देखेर अचम्मित

डा. पोखरेललाई प्रहरी अस्पताल सुविधा सम्पन्न एवं अत्याधुनिक होला भन्ने भ्रम रहेछ । उनी त्यसबेलाको अनुभूति सम्झँदै भन्छन्-‘भर्ना हुनुभन्दा पहिला प्रहरीको अस्पताल त भयंकर होला जस्तो लागेको थियो, त्यस्तो लागेर अस्पतालभित्र छिरिहालियो, तर भित्र त त्यस्तो केही पनि रहेन छ ।’

प्रहरीमा आएपछि पनि उनलाई भोलि पर्सि त केही होला भन्ने लाग्यो र उनले प्रहरीको तालिम सुरु गरे ।

तालिमपछि उनी प्रहरीभित्रै रमाउन थाले । त्यस क्रममा थप अध्ययनका लागि उनी बंगलादेश गए । उतिबेला प्रहरी अस्पतालको ताल देखेर जागिर छोडने मुड पनि नचलेको होइन । बंगलादेशमा अध्ययन क्रममा उनले त्यहाँको सैनिक अस्पताल देखे, जसले उनलाई नेपालमा पनि केही गरेर देखाउने हौसला बढायो ।

बंगलादेशमा देखेको सपना

केही वर्ष बंगलादेशमा अध्ययन गरेपछि पोखरेललाई नेपाल प्रहरीको पनि मेडिकल कलेज हुनुपर्छ भन्ने लाग्यो । आधुनिक र सुविधासम्पन्न बंगलादेशी सैनिकको मेडिकल कलेज देखेर फर्किएका पोखरेलले नेपाल प्रहरीले पनि त्यस्तै मेडिकल खोल्नुपर्ने योजना तत्कालीन आइजीपी अच्युतकृष्ण खरेललाई सुनाए । यो ०५३ सालतिरको कुरा हो ।

तत्कालीन आइजीपी खरेलले पनि उनको योजना मनपराए र रिपोर्ट बनाउन आदेश दिए । नेपाल प्रहरीको मेडिकल कलेज बनाउने कुराको विरोध त्यतिबेलै भएको थियो, तर बंगलादेशमा देखेको सपना पूरा गर्ने ध्याउन्न लागे डा. पोखरेल ।

ती दिन सम्झँदै उनी भन्छन्, ‘त्यतिकैमा १६-१७ वर्ष बित्यो, हल्का बढुवा पनि खाइयो । प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने सपनाले गर्दा म प्रहरीभित्रै रोकिएँ ।’

नेपाल प्रहरी अस्पताल स्थापना गर्ने योजना तत्कालीन आइजीपी खड्गजीत बरालको थियो । तर, त्यसलाई ०४० सालमा तत्कालीन आइजीपी डीबी लामाले पूर्णता दिए ।

स्थापनाको ३३ वर्षको अवधिमा प्रहरीको अस्पताल आधुनिक भएको छ । ७२ हजार फौज र उनका परिवारले यही अस्पतालबाट औषधोपचार पाइरहेका छन् । तर, डाक्टर पोखरेल-भन्छन् ‘यही अस्पतालमा मेडिकल कलेज खोलेर प्रहरी कर्मचारीका छोराछोरीलाई डाक्टर बनाउने मेरो सपना छ ।’

गोविन्द केसीका कारण रोकिएको योजना

निमित्त आइजीपी डा. पोखरेल र अघिल्ला एआइजी डा. रामनाथ सिंहले प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने सम्पूर्ण रिपोर्ट बुझाइसकेका छन् ।

पूर्वएआइजी सिंहका अनुसार प्रहरी अस्पतालमा १०० जना क्षमता भएको मेडिकल कलेज बनाउने योजना बनेको थियो । जसमा प्रहरी कल्याणकारी कोषबाट ऋण लिएर लगानी गर्ने र ५ वर्ष उक्त ऋण पनि चुक्ता गर्न सकिने योजना थियो ।

डा. पोखरेल भन्छन्, ‘प्रहरीको मेडिकल कलेज स्थापना गर्न सकियो भने प्रहरीमा बसेर सेवा गरिरहेकाहरुका छोराछोरीहरु कम शुल्कमै डा. बन्न सक्नेछन् । त्यहाँ ५० प्रतिशत बाहिरका मान्छेहरु प्रतिस्पर्धाका आधारमा भर्ना गर्न सकिने भनिएको छ । उनीहरु पनि सरकारी शुल्कमै डाक्टर तथा नर्स बन्न सक्नेछन् ।’

यो योजना अर्थमन्त्रालयमा पनि पुगिसकेको छ । तर, डा. गोविन्द केसीको अनसन र प्रहरी नेतृत्वको उदासीनताका कारण सबै योजना अलपत्र परेको निमित्त आइजीपी पोखरेलको गुनासो छ ।

महाराजगञ्जको राष्ट्रपति भवन नजिकै प्रहरी अस्पतालका लागि आवश्यक जग्गा पनि छ । भौतिक पूर्वाधारदेखि जनशक्तिसम्म सम्पन्न भएको प्रहरी मेडिकल कलेज सरकारको स्वीकृतिको प्रतीक्षामा रहेको पोखरेल बताउँछन् ।

निमित्त आइजीपी बन्नुअघिसम्म प्रहरी अस्पतालमा प्रमुख रहेका पोखरेलको निजी अस्पतालमा समेत लगानी रहेको चर्चा छ । बानेश्वरको भरोसा अस्पतालमा उनको लगानी रहेको बताइन्छ ।

यो पनि पढ्नुहोस्

सलाम खान पाउँदा खुशी लाग्यो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment