Comments Add Comment

प्रमुख निर्वाचन आयुक्त भन्छन्- चुनाव कसैले रोक्न सक्दैन

सुरुवा वा नियुक्ति गर्नुपरे आयोगको सहमति चाहिने

१० फागुन, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले वैशाख ३१ गते हुने चुनाब कसैले रोक्न नसक्ने बताएका छन् ।

रिपोर्टर्स क्लबमा मंगलबार बोल्दै प्रमुख आयुक्त यादवले भने, ‘आयोगले यही हप्ताभित्रै आचारसंहिता लागु गर्छ, शुन्य सहनशीलताका आधारमा हामी आचारसंहिता लागू गर्ने गरी विशेष छलफलमा छौं, आचारसंहिता लागु हुनेवित्तिकै सरुवा, बढुवा र नियुक्ति केही हुन दिँदैनौं ।’

आयोगले निश्पक्ष, स्वतन्त्र एवं स्वच्छ निर्वाचन गर्न सम्पूर्ण शक्ति लगाउने बताउँदै यादवले भने, ‘हामी स्वतन्त्र र निश्पक्ष रुपमा निर्वाचन गर्छौं ।’

प्रमुख आयुक्त यादवले तोकिएकै मितिमा निर्वाचन गर्न आयोग सफल हुने विश्वास व्यक्त गर्दै भने,’सफलता प्राप्त गर्नका लागि तीन घण्टा नै काफी छ, हामीसँग त ८२ दिन बाँकी छ, सफलता प्राप्त गर्न निरन्तरता चाहिन्छ ।’

निर्वाचन हुँदैन कि भनेर अब कसैले पनि शंका गर्न नहुने यादवले बताए । उनले भने- ‘यादवले चुनावलाई चुनौतिभन्दा पनि अवसरका रुपमा लिएको उल्लेख गर्दै भने- ‘निर्वाचनको मिति घोषणा भएको छ, कानून तथा ऐनहरु आएका छन्, त्यसैले निर्वाचन हुन्छ ।’

प्रमुख आयुक्तले थपे- ‘अक्सिजनको सिलिण्डर बोकेर त मान्छेेले सगरमाथा चढेका छन्, निर्वाचन आयोगसँग त लगनशील कर्मचारीहरु छन्, आयोगसँग दक्ष जनशक्ति छ ।’

नेपाल सरकारले पनि आयोगलाई विश्वास दिलाएको उल्लेख गर्दै प्रमुख आयुक्तले भने, ‘कुनै पनि साधान र स्रोतहरुको कमी हुन दिन्नौं भनेर सरकारले भनेको छ, आवश्यक जनशक्तिका लागि पूर्ण भरोसा दिलाएको छ ।’

चुनावका लागि सरकारले खुट्टा नकमाउनेमा आफू पूर्ण विश्वस्त रहेको यादवले बताए । सरकारले खुट्टा कमाए आमसञ्चार साक्षी रहेको उनले बताए । यादवले भने- ‘दलहरुवीच विश्वासको वातावरण बढ्दै गइरहेको छ, आपसी सद्भाव देखिरहेको छु, छलफल भैरहेको छ, यो सकारात्मक कुरा हो।’

प्रमुख आयुक्त यादवले स्थानीय निर्वाचन देश र जनताका लागि अति आवश्यक रहेको बताउँदै भने- ‘यो निर्वाचन हाम्रो जीवनसँग जोडिएको छ, हाम्रो अधिकार खोसिएको अवस्थामा थियो, अहिले जनताको अधिकार प्राप्त भएको छ, अब चुनावले त्यो अधिकार सुनिश्चितता गर्छ ।’

अन्तरराष्ट्रिय जगतको पनि चुनावमा सहयोग र सद्भाव रहने विश्वास व्यक्त गर्दै यादवले भने- ‘आचारसंहिताको सीमाभित्र रहेर उहाँहरुको सद्भाव र सहयोगको अपेक्षा गरेका छौं।’

उनले स्थानीय तह पूर्नसंरचना अनुसार नयाँ संरचनाको भूगोल गाउँपालिकाहरुमा कर्मचारी खटनपटनका लागि आफूहरुले सरकारसँग आग्रह गरेको जानकारी दिए ।

सुरुवा वा नियुक्ति गर्नुपरे आयोगको सहमति चाहिने

निर्वाचनको मिति घोषणासँगै अब सरकारले निर्वाचन आयोगको सहमतिबेगर कुनै पनि सरुवा बढुवा र नियुक्तिका कामहरु गर्न नसक्ने निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए । अनलाइनखबरसँग कुरा गर्दै यादवले भने, ‘अब हुने हरेक निर्णय, सरुवा बढुवा र नियुक्तीमा निर्वाचन आयोगको चासो रहन्छ ।’

तर, निर्वाचनको मिति घोषणा अघि नै प्रक्रियामा गइसकेका सरुवा बढुवा र नियुक्ती प्रक्रियालाई भने रोक्न नसकिने निर्वाचन आयोगले जनाएको छ । लोकसेवा आयोगले सुचना प्रकाशित गरिसकेका परिक्षाहरु अवरुद्ध नहुने निर्वाचन आयोगले जनाएको छ । यस्तै निर्वाचन आयोगको अनुमतिमा भने सरकारले अत्यावसेक कर्मचारी, सुरक्षाकर्मी लगायत आफ्ना निकायहरुलाई सरुवा तथा काजमा परिचालन गर्न भने सक्नेछ ।

निर्वाचन आयुक्त इला शर्माका अनुसार सामान्यतया मतदानका लागि १ सय २० दिन बाँकी रहेको अवधिदेखि निर्वाचन आचारसंहिता लागु हुने प्रचलन रहे पनि यस पटक मिति घोषणा भएको ८२ दिनमै निर्वाचन गर्नुपर्ने भएकाले शुरुमै निर्वाचन आचारसंहिता लागु गर्नुपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment