Comments Add Comment

वैशाख ३१ मै चुनाव गर्न प्रमुख चार दल प्रतिवद्ध

सीमांकन बाहेक विषय सम्बोधन गर्न एमालेले खोज्यो मोर्चा चुनावमा आउने सुनिश्चितता

७ चैत, काठमाडौं । स्थानीय तहको चुनाव घोषित मिति वैशाख ३१ मै  गर्न प्रमुख चार दल प्रतिवद्ध भएका छन् । साथै मधेसी मोर्चालाई कसरी चुनावमा ल्याउन सकिन्छ भन्नेबारे छलफल थालेका छन् ।

नेपाली कांग्रेस, एमाले, माओवादी र राप्रपा शीर्ष नेताहरुबीच सोमबार विहान र साँझ गरेर दुई पटक भएको छलफलमा वैशाख ३१ को चुनाव मिलेर सम्पन्न गर्ने र निर्वाचन गरे वापत उत्पन्न हुने समस्याको पनि मिलेर नै समना गर्ने समझदारी भएको छ ।

साथै मधेसी मोर्चाको असन्तुष्टि सम्बोधन गर्दै चुनावमा ल्याउन पहल गर्ने चार दलबीच समझदारी भएको छ ।

बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले वैशाख ३१ को चुनाव कुनै हालतमा हुने भन्दै शंका नगर्न आग्रह गरेका छन् । सिंगो देश चुनावको समर्थनमा रहेका र तराई मधेसका जनता पनि चुनावको पक्षमा रहेका आफ्नो बुझाइ रहेको सुनाउँदै प्रधानमन्त्री प्रचण्डले भने, निर्वाचन गर्नैपर्छ र म निर्वाचन गर्छु । मैले मधेसी मोर्चा र गठवन्धनका नेताहरुलाई पनि यहि कुरा भनेको छु ।’

प्रधानमन्त्री प्रचण्डले सीमांकन हेरफेर अहिले सम्भव नभएको भन्दै बाँकी विषयलाई सम्बोधन गरेर अघि जान प्रस्ताव गरे । ‘अहिले सीमांकन अब यताउती गर्ने कुरा छैन । मैले मोर्चालाई पनि भनेको छु’ प्रचण्डको भनाइ उदृत गर्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अनलाइनखबरसँग भने, ‘सीमांकन बेगर बाँकी कुराहरु छलफल गरेर अगाडि जान सकिन्छ कि सकिँदैन ?’

‘प्रधानन्त्रीले भन्नुभो, वैशाख ३१ को चुनाव कुनै हालतमा गर्छौं र हामी चारै दल मिलेर जान्छौं । त्यो निर्वाचन गरे वापत उत्पन्न हुने सबै परिणामलाई चार दल मिलेर सामना गर्छौं- सुवास नेम्बाङ

सीमांकन बाहेकका विषय सम्बोधन गरेपछि मधेसी मोर्चा चुनावमा जान तयार हो कि होइन भनेर आफूले प्रश्न गरेको प्रचण्डले प्रमुख चार दलका शीर्ष नेताहरुको बैठकमा सुनाएका छन् ।

कार्यदल स्तरमा भएको छलफलबारे जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले सीमांकन बाहेकका बाँकी विषयमा सम्बोधन गरेर चुनाव ल्याउन प्रयास गर्नु पर्ने प्रस्ताव राखेका छन् ।

बैठकमा प्रधानमन्त्रीसहित कांग्रेस नेताहरुले संविधान चार दलले मिलेर बनाएको भन्दै यसको कार्यान्वयन गर्ने जिम्मा पनि चार दलकै भएको बताएका छन् । साथै यसक्रममा चार दल मिलेर नै असन्तुष्टिहरुलाई सम्बोधन गर्नु पर्नेमा जोड दिएका छन् ।

जवाफमा एमाले नेताहरुले भने आफूहरुले यहि कुरा पहिला राख्न नसुनेको स्मरण गर्दै अहिले बुद्धि आएछ भनेर टिप्पणी गरेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेताहरुले सीमांकन बाहेकका अन्य विषयमा छलफल गर्न सकिने संकेत दिएका छन् ।

तर, संविधानमा पहिलो संशोधन गर्दा पनि समस्या समाधान हुन्छ भनेको तर नभएको स्मरण गर्दै गराएको भन्दै मधेसी मोर्चा चुनावमा आउने सुनिश्चितता खोजेका छन् ।

सत्तारुढ दल र मधेसी मोर्चाको फरक फरक धारणा आइरहेको भन्दै एमाले नेता नेम्वाङले भने, ‘अहिले तपाईहरुले के कुरा गर्नु भएको छ ? के गर्दा उहाँहरु चुनावमा भाग लिनु हुन्छ ?

बैठकको समापन गर्दै प्रधानमन्त्री प्रचण्डले वैशाख ३१ को चुनाव कुनै हालत गर्ने बताएको नेम्वाङले सुनाए । ‘प्रधानन्त्रीले अन्तिममा भन्नुभो, ‘वैशाख ३१ को चुनाव कुनै हालतमा गर्छौं र हामी चारै दल मिलेर जान्छौं’ उनले अघि भने, ‘के पनि भन्नु भो भने, त्यो निर्वाचन गरे वापत उत्पन्न हुने सबै परिणामलाई चार दल मिलेर सामना गर्छौं ।’

यसक्रममा मधेसी मोर्चा र गठवन्धनलाई कसरी सम्बोधन गर्ने भनेर गृहकार्य गर्ने प्रचण्डले बताए । सरकारले आवश्यक गृहकार्य गरेपछि आफूहरु छलफलमा बस्ने एमाले नेता नेम्वाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment