Comments Add Comment

असारभित्रै कोटेश्वर-एकान्तकुना ८ लेनमा गाडी चल्ने

कोटेश्वर-कलंकी खण्डको ५१ प्रतिशत काम सकियो


९ चैत, काठमाडौं । चक्रपथको कोटेश्वर-एकान्तकुना सडकखण्ड आउँदो असारभित्रै ८ लेनमा सञ्चालनमा आउने भएको छ । विस्तारको क्रममा रहेको कोटेश्वर-कलंकी खण्डको पहिलो ५ किलोमिटर सडकखण्डको सबै काम असारभित्रै सक्ने गरी चिनियाँ ठेकेदारले काम तीब्र बनाएको छ ।

अहिले विस्तारको कामका कारण धुलाम्य र हिलाम्य बनेको यो खण्ड असारपछि भने भक्तपुरको ८ लेलभन्दा कम्तिको हुनेछैन । विस्तारको काम सकिएपछि चक्रपथको कोटेश्वर-एकान्तकुना सडकखण्ड आकर्षक मात्रै हुने छैन, यसले अब विस्तार हुने चक्रपथको नमुना स्वरुप पाउनेछ ।

असारपछि सो सडकखण्डको क्षेत्रमा अहिले उडिरहेका धुलो निमिट्यान्न हुँदा स्थानीय र यात्रुहरुलाई सहज हुनेछ । कलंकी-कोटेश्वर सडक विस्तार आयोजनाका प्रवक्ता रमेश डिष्टीले आगामी असारसम्म कलंकीबाट सातदोबाटोसम्मको ५ किलोमिटर सडकखण्डको सबै काम सकिने अवस्था रहेको बताए ।

यो सडकखण्डमा चार लेनको प्रमुख सडकसहित दुईतर्फ दुई-दुई लेनका सर्भिस सडक र साइकल ट्रयाक निर्माण हुँदैछ । यस्तै, सडकको दायाँबायाँ फुटपाथ र पब्लिक बस स्टप पनि निर्माण हुनेछ । अब यो सडकखण्ड ३८ दशमलव पाँच मिटर फराकिलो बन्दैछ ।


पहिलो ५ किलो मिटरको सडक विस्तारपछि यही स्वरुपमा ०७५ को असारसम्म आयोजनाको सबै काम सकेर कलंकीसम्मकै सडक विस्तार भइसक्ने उनले बताए ।
अहिले कोटेश्वरबाट बालकुमारीसम्मको सडकको सर्भिस लेनमा कालोपत्रेको काम सुरु भएको छ ।

‘बेमौसमी बर्षाले काम प्रभावित गरेन भने मंगलबारबाट कालोपत्रको काम सुरु भएको छ,’ डिष्टीले भने,’सर्भिस लेनको कालोपत्रेपछि मुख्य लेनमा पनि पिच सुरु गरिनेछ ।’

पुलको काम सकियो

कलंकी-कोटेश्वर खण्डमा ४ वटा मोटरेबल पुलको निर्माण लगभग सकिएको छ । अब रेलिङ राखेर त्यसमा पेन्टिङको काम बाँकी छ ।पुरानो पुलमा लेन थपेर पुललाई सढकको चौंडाइअनुसार विस्तार गरिएको छ । पुरानो पुलको पनि मर्मत गरिएको छ ।

कंलकी खसीबजार, बागमती पुल, बल्खु खोला र बालकुमारीस्थित मनोहरामा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ ।’पुलको काम ९८ प्रतिशत सकिइसक्यो,’ प्रवक्ता डिष्टीले भने,’अब यी पुल रंग लगाएर खुला गर्न मात्रै बाँकी छ,’ उनले भने ।

आकाशे पुल बन्दै

अहिले यो खण्डमा विभिन्न स्थानमा पैदलयात्रुलाई बाटो काट्न आकाशे पुल निर्माणको काम भइरहेको छ । चिनियाँ ठकेदारले ३ वटा पुल बनाइरहेको छ भने आयोजनाले आफ्नै लागतमा ३ वटा पुल बनाइरहेको छ ।

पैदलयात्रीका लागि चीनले कोटेश्वर, ग्वार्को र बागडोलमा आकाशे पुल निर्माण गरिरहेको छ । ग्वार्को तथा बालकुमारीको बीच, सातदोबाटो र एकान्तकुनामा आयोजनाले नै आकाशे पुल निर्माण गरिरहेको छ ।

कुनै आकाशे पुलको निर्माण लगभग सकिने क्रममा छन् भने कुनै निर्माणको प्राथमिक चरणमा छन् । ‘प्रत्येक एक-एक किलोमिटरमा आकाशे पुल राख्नुपर्छ भनेर हामीले थप २ वटा पुल पनि थप्दैछौं’ डिष्टीले भने,’थप आकोश पुलका लागि यो वर्ष टेण्डर हुन्छ ।’

अब थप कुसुन्ती र बल्खुमा पनि पुल बनाउन काम गर्न लागिएको उनको भनाइ छ ।

अण्डरपासको लागि पाइलिङ हुँदै

कलंकी-कोटेश्वर सडक विस्तारको काम चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले गरिरहेको छ । अहिले यो सडकखण्ड अन्तरगत नै कलंकीमा अन्डरपास-वे निर्माणका लागि पनि काम भइरहेको छ ।

कुल ८ सय मिटर लामो अन्डरपासमध्ये अहिले बल्खुतिरको भागमा अन्डरपास छेड्न पाइलिङको काम सकिएको छ । कलंकी चोकबाट बल्खुतिर ४ सय मिटरमा पाइलिङ सकिएको हो । सांघाईले अन्डरपासको निर्माण सन् २०१८ को जुलाई अगावै सक्ने लक्ष्य लिएको छ ।

अब सितापाइलातिर ४ सय मिटर पाइलिङको काम सुरु गर्न ट्राफिकसँग सहयोग मागिएको प्रवक्ता डिष्टीले बताए । आगामी वर्षको  वर्षात सकिएपछि मात्रै सितापाइलातर्फको निर्माण थाल्ने भनिएपनि कामको गति बढाउन अहिलेबाटै काम गर्न लागिएको उनको भनाइ छ ।


कलंकी क्षेत्रमा गाडीको अत्यधिक चाप हुने भएकाले त्यसलाई व्यवस्थित गर्न भूमिगत मार्ग पनि बनाइँदैछ । बल्खुबाट सीतापाइलातिर जाने गाडीहरु अन्डरपास बनेपछि भूमिगत रुपमा सिधै जान्छन्, जसबाट अहिले कलंकीमा लामो समय रोकिनुपर्ने बाध्यता हट्ने छ ।

त्यस्तै थानकोटबाट सोल्टीमोड चोकतिर जाने गाडीहरु पनि अब कलंकीको जाममा फस्नु पर्दैन । यद्यपी यो अन्डरपासको उपयोग भने चक्रपथ विस्तार पूर्णभएसँगै हुनेछ ।

५१ प्रतिशत काम सकियो

भूकम्प र नाकाबन्दीका कारण यो सडक विस्तार काम सम्पन्न हुनुपर्ने अवधि १ वर्ष लम्बिएको थियो । सुरुवातको सम्झौतामा २०१७ जनवरीसम्म काम सम्पन्न गर्ने भनिए पनि अहिले सडक विस्तार काम सक्नुपर्ने अवधि एक वर्ष लम्बिएको छ ।

२७ किलोमिटर चक्रपथमध्ये १० दशमलव ३९ किलोमिटर अन्तर्गतको यो सडकखण्ड विस्तारपछि ८ लेनको हुनेछ ।


२०७० साल भदौदेखि विस्तार कार्य थालिएको यो सडकखण्डमा समग्रमा अहिलेसम्म ५१ प्रतिशत काम सकिएको छ । यसमा चीन सरकारले झण्डै ५ अर्ब रुपैयाँ खर्च गर्दैछ । सडक सुधारका लागि नेपाल सरकारको १ अर्ब रुपैयाँ खर्च भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment