१० चैत, काठमाडौं । गृह मन्त्रालयले इजाजत लिएर राखिएका निजी हतियार फिर्ता लिन दिएको निर्देशन अनुरुप स्थानीय प्रशासनले हतियार खोज्न सुरु गरेको छ ।
आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षामा चुनौती बन्न सक्ने भन्दै गृहले हतियार खोज्न केही दिनअघि जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको थियो । चुनाव अवधिभरका लागि ती हतियार फिर्ता लिने गृहको निर्देशन छ । त्यस अनुसार जिल्लास्थित प्रशासन कार्यालयहरुले सर्वसाधारणले दर्ता गरेर घरमा राखेका हतियार खोज्ने काम सुरु गरेका छन् ।
मोरङ जिल्ला प्रशासनले पनि गृहको निर्देशन अनुसार निजी हतियारको विवरण प्रहरीलाई उपलब्ध गराई खोजी कार्य अगाडि बढाएको सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले बताए ।
‘जिल्लामा लाइसेन्सप्राप्त हतियारसहितको विवरण जिल्ला प्रहरी कार्यालयलाई उपलब्ध गराइसकेका छौं’, पौडेलले भने, ‘अब सुरक्षा समितिको बैठकबाट हतियार फिर्ताको लागि जिल्लावासीलाई अनुरोध गर्नेछौं ।’
मोरङमा प्रशासनसँग अनुमति लिएर ७ सय २६ जनाले निजी हतियार राखेका छन् । तीमध्ये अहिलेसम्म कसैले पनि प्रहरीलाई हतियार नबुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उता जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पनि अनुमति लिएर राखिएका हतियारहरु बुझाउन सर्वसाधारणलाई चैत २० गतेसम्मको समय दिएको छ ।
‘चैत २० गतेभित्र सर्वसाधारणले आफूसँग राखेको सम्पूर्ण हातहतियार बुझाउन आग्रह गरेका छौं’, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले अनलाइनखबरलाई बताए, ‘सो अवधिभित्र कसैले हतियार नबुझाएमा कारवाही गर्नेछौं ।’
– विराटनगरबाट ध्रुव भट्टराई र भैरहवाबाट सलमान खान