१० बैशाख, काठमाडौं । फ्रान्समा आज राष्ट्रपति पदको चुनाव हुँदैछ । चुनावी मैदानमा ११ जना उम्मेदवार छन् ।
चुनावको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
विदेशमा बस्ने करिब १० लाख फ्रान्सेली नागरिकहरुले भने शनिबार नै आफ्नो मत व्यक्त गरिसकेका छन् ।
मतदातालाई राष्ट्रपति पदका लागि ११ जनाको उम्मेदवारको विकल्प छ तर मुख्य प्रतिस्पर्धा भने पाँचजना बीच हुनेछ ।
नेशनल फ्रन्टका मरिन ल पेन, एन मार्शका इम्यानुअल म्याक्रो, दि रिपब्लीकनका फ्राँस्वा फियो, ला फ्रान्स इनसोमाइजका जाँ लुक मेलाशो र सोसलिस्ट पार्टीका बेनवा एमो बीच मुख्य प्रतिस्पर्धा हुने बीबीसीले लेखेको छ ।
मतदाताको सुरक्षाका लागि ५० हजार प्रहरी र पाँच हजार सैनिक परिचालन गरिएको छ ।
पछिल्ला दिनमा राजधानी पेरिसका मुख्य सडकमा प्रहरीको गाडीमाथि आक्रमण भएको घटनालाई मध्यनजर गर्दै सुरक्षाको अतिरिक्त बन्दोबस्त गरिएको अधिकारीहरुले बताएका छन् ।
फ्रान्समा राष्ट्रपति चुनावको प्रक्रिया केही अलग छ । जनताबाट चुनिएका प्रतिनिधिहरुले सुरुमा राष्ट्रपति पदका उम्मेदवारहरुको चुनाव गराउँछन् । त्यसपछिमात्र मतदान हुन्छ ।
पहिलो चरणमा यदि कुनै उम्मेदवारले ५० प्रतिशत वा सोभन्दा बढी मत पाउन नसकेमा दोस्रो चरणको मतदान हुन्छ । फ्रान्समा हालसम्म ५० प्रतिशत मत ल्याउन नसक्दा दोस्रो चरणको चुनाव गराउनुपरेको छैन ।
दोस्रो चरणमा पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुन्छ । जसले जित्छ उसैले एलसी प्यालेस अर्थात् फ्रान्सको राष्ट्रपति भवनमा शपथ ग्रहण गर्छ ।
– एजेन्सीको सहयोगमा