१५ बैशाख, काठमाडौं । निर्वाचन आयोगले सरकारी तलब भत्ता खाने कर्मचारी वा कुनै संघसंस्थामा आवद्ध व्यक्तिले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिँदा राजीनामा दिनुपर्ने जनाएको छ ।
कुनै सार्वजनिक वा कुनै संस्थामा आवद्ध व्यक्तिले उम्मेदवार दिँदा त्यसअघि नै निजको आवद्ध संस्था वा कार्यालयबाट राजीनामा स्वीकृत भइसकेको हुनुपर्ने आयोगले बताएको छ ।
स्थानीय तहको निर्वाचनमा निजामति कर्मचारी, संस्थान र शिक्षक लगायत विभिन्न सरकारी पेशामा आवद्धहरुले पनि दलको तर्फबाट उम्मेदवारी घोषणा गरिरहेका छन् । उनीहरुले उम्मेदवारी दर्ता गर्नु भन्दा पहिले नै राजीनामा पनि स्वीकृत गराइसक्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।
प्रवक्ता शर्माले उम्मेदवारी दिएका तर बैशाख १८ गतेसम्म राजीनामा दिएर पनि स्वीकृत नभएका कर्मचारीको उम्मेदवारी दर्ता नहुने बताएको छ । त्यस्ता कर्मचारीले उम्मेदवारी दर्ता गर्दा राजीनामा स्वीकृत भएको पत्र समेत सँगै पेश गर्नुपर्ने आयोगले बताएको छ ।