Comments Add Comment

माओवादी नेता भन्छन्- कांग्रेस-एमालेले जिते स्थानीय तह विघटन हुन्छ

पुरानै शक्ति चुनियो भने आत्मघातः प्रभाकर

चुनावी सभामा माओवादी केन्द्रका नेताहरु । तस्वीर: उमेश पुन/अनलाइनखबर

१५ बैशाख, पोखरा । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले अहिले हुन लागेको स्थानीय तह निर्वाचनमा माओवादीले हारेमा स्थानिय तह नै विघटन हुने चेतावनी दिएका छन् । नेकपा माओवादी पोखरा लेखनाथ महानगर स्तरीय आमसभालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले यो निर्वाचनमा कांग्रेस-एमालेले चुनाव जिते सिंहदरबारको अधिकार गाउँमा लिएर आएको स्थानिय तह नै विघटन हुने खतरा रहेको बताएका हुन् ।

उनले भने, ‘गणतन्त्र, संघीयता र स्थानिय तह ल्याउने माओवादी हो, जसको नीति उसकै नेतृत्व भयो भनेमात्रै त्यसको कार्यान्वयन सहि ढंगबाट हुन्छ, यदि अहिले हुन गइरहेको निर्वाचन कांग्रेस-एमालेले जित्यो भने स्थानिय तह उनीहरुको लागि बाँदरको हातमा नरिवल जस्तो हुन्छ र त्यतिबेला यो विघटन हुनेवाला छ ।’

उनले स्थानिय तह जोगाइराख्नका लागि भएपनि माओवादीलाई भोट हाल्न आग्रह गरे । उनले भने, ‘तपाईंहरु सचेत रहनुस्, अबको निर्वाचनबाट स्थानिय तह देशभक्तहरुको हातमा सुम्पने हो कि विदेशी दलाल र भ्रष्टचारीहरुको हातमा ? सोंचेर मतदान गर्नुस् ।’

‘नेपाललाई अफगानिस्तान बनाउने षडयन्त्र’

प्रदेश नम्बर ४ का इञ्चार्ज समेत रहेका नेता गुरुङले मधेसी र विपक्षी एमालेको अतिवादका कारण सहमति जुट्न नसकिरहेको आरोप लगाए । दुबै पक्षको निषेधको राजनीतिका कारण सहमति जुट्नुको सट्टा झन् द्वन्द्व निम्तिने खतरा रहेको उनको भनाइ थियो ।

उनले शक्ति केन्द्रले हुन लागेको सहमति भाँडेर नेपाललाई अफगानिस्तान बनाउने षडयन्त्र गरिरहेको आरोप समेत लगाए ।

गुरुङले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्यो भने पोखरा अन्तर्राष्ट्रिय केन्द्र बन्ने र काठमाडौंको हालिमुहाली सकिने डरले यसको निर्माणमा बाधा पुर्‍याइरहेको बताए । यद्यपी माओवादी नेतृत्वको वर्तमान सरकारले आजभोलि नै अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेर पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने सुनिश्चितता गर्ने बताए ।

पुरानै शक्ति चुनियो भने आत्मघातः प्रभाकर 

कार्यक्रममा ऊर्जामन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले स्थानीय तहको निर्वाचनमा पुरानै शक्ति चुनियो भने आत्मघात हुने बताए । पहिले शासक चुन्दा देशले विकास गर्न नसकेको बताउँदै उनले अब पनि शासक नै चुन्ने हो भने सधैं शासित भइराख्ने खतरा रहने बताए ।

सहि मान्छे नचुन्दा नाम बदलिए पनि शासन नबदलिएको बताउँदै उनले भने, ‘विगतमा राणा शासन आयो, त्यो फालेर प्रजातन्त्र आयो, त्यो मासिएर पञ्चायत आयो, अनि आन्दोलनमार्फत फेरी बहुदलीय प्रजातन्त्र आयो । हो नाम बदलियो तर शासन बदलिएन । तर अब शासन पनि बदलिँदैछ त्यो माओवादीको कारण हो ।’ माओवादीले ल्याएको उपलब्धी उसैलाई कार्यान्वयन गर्न दिनको लागि चुनावमा जिताउनुपर्नेमा उनले जोड दिए ।

नेपाल अभियान केवल ऊर्जाको क्षेत्रमा मात्रै नभइ समृद्ध नेपाल बनाउने अभियान भएको बताए । ऊर्जा क्षेत्रमा भएको भ्रष्टाचार र दलाली प्रवृत्तिबिरुद्ध आफूले डटेर संघर्ष गरेपछि मात्रै उज्यालो ल्याउन सफल भएको भन्दै उनले अब समृद्धि ल्याउन पनि माओवादीलाई जिताउन आग्रह गरे ।

उनले नेपालमा श्रोत र पुँजीको समस्या नभएको बताउँदै भने, ‘यहाँ समस्या छ त केवल सोंच र दृष्टिकोणको ।’ उनले देशमा व्याप्त भ्रष्टाचार र दलाल संस्कृतिबिरुद्ध लड्न जनतालाई अपिलसमेत गरे । उनले अबको १५ वर्ष भित्रमा देशलाई समृद्ध बनाउन सकिने बताउँदै त्यो समृद्धि माओवादीले मात्र ल्याउनसक्ने जिकिर गरे ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य राजकाजी गुरुङ ‘करण’ले लोडसेडिङ गर्ने कांग्रेस-एमालेलाई चुन्ने कि लोडसेडिङ मुक्त गर्ने माओवादीलाई चुन्ने भन्नेबारे सोंचेरमात्र भोट हाल्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment