Comments Add Comment

राजदूत लक्की शेर्पाः एमालेले चिनायो, माओवादीले चिन्यो

शेर्पा समुदायबाट पहिलो राजदूत बन्ने भाग्यमानी

२ असार, काठमाडौं । लक्की शेर्पाको राजनीतिबाट कुटनीतिक छलाङबारे लेखिरहँदा उनी अष्ट्रेलिया पुगिसकेकी छन् । कानबेरामा नेपाली राजदूत बनेर जानुअघि काठमाडौंको एक क्याफेमा भेटिएकी उनले उनको जीवनका केही संयोगहरु सुनाएकी थिइन् । जुन संयोग र उनीसँग जोडिएका केही सन्दर्भ सबैका लागि चासोको विषय हुन सक्छन् ।

भग्यमानी लक्की

लक्की शेर्पाको नाममा मात्र ‘लक्की’ रहिनन् । राजनीतिमा उनको ‘लक’ लोभलाग्दो रहृयो । अझ राजनीतिको भोक नमेटिदै कुटनीतिक लकले त छलाङनै मार्‍यो । यस अर्थमा मात्रै पनि उनी लक्की होइनन् । शेर्पा समुदायबाट नेपालको इतिहासमै पहिलो राजदूत हुने ‘लक’ पनि उनैलाई लाग्यो ।

लक्की शेर्पाको ‘लक’ यतिमा मात्रै पनि सीमित रहेन । शेर्पा समुदायबाटै पहिलो महिला राजदूत हुने लक पनि उनकै लाग्यो । कुल मिलाएर लक्कीको जीवन ‘लकै लक’को फ्युजन भन्नुस् । एमालेबाट सभासद बनेर माओवादीको कोटामा राजदूत बन्ने लक पनि सायद उनैलाई जुर्‍यो ।

एमालेले चिनायो, माओवादीले चिन्यो

संखुवासभाका श्यामसुन्दर शेर्पा शेर्पा समुदायका पहिलो प्राध्यापक हुन् । उनकै छोरी लक्की शेर्पाले शेर्पा समुदायबाट पहिलो राजदूत बनेर बाबुको रेकर्ड कायम राखिन् । त्यसो त श्यामसुन्दरले आफूलाई पहिलो शेर्पा कम्युनिस्ट पनि भन्ने गरेका छन् । उनी तत्कालिन माले हुँदै एमालेको सान्निध्यमा थिए ।

पारिवारिक कारणले गर्दा लक्की एमालेको समर्थक बन्ने नै भइन् । यद्यपी २०६४ सालको संविधानसभा निर्वाचनपछि एमालेबाट सभासद बन्नुअघिसम्म उनी एमालेको संगठित सदस्य थिइनन् । बरु जनजाति महासंघको सचिव भएर आदिवासी जनजाति समुदायको अगुवा बन्दै थिइन् ।

त्यो बेला संयोगनै यस्तो पर्‍यो कि आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा र सचिव लक्की शेर्पा दुवैजना एमालेबाट सभासद भए । पहिलो संविधानसभा बिघटनसँगै दुवैजनाले एमाले छाडे । पासाङ सामाजिक लोकतान्त्रिक पार्टी हुँदै नयाँ शक्तिमा पुगेका छन् भने लक्की माओवादी प्रवेश गरिन् ।

एमालेसँग जातीय पहिचानका सन्दर्भमा कुरा नमिलेर उनी निष्क्रिय थिइन् । त्यसबीचमा बेलायत गएर पिएचडी गर्ने तयारीमा थिइन् । तर यताबाट बोलवट आयो । दोस्रो संविधानसभा चुनावको मुखमा उनलाई प्रचण्डले पहिचानको मुद्दामा एकमत रहेको भन्दै माओवादी प्रवेशको प्रस्ताव राखे ।

शुरुमा त उनले अब कुनै पार्टीमा नलाग्ने भनेकी थिइन् । तर माओवादी अध्यक्ष प्रचण्डले मुद्दा मिल्ने भएकाले सँगै काम गर्न जोडबलनै गरे । रामचन्द्र झासँगै एमाले छाडेर माओवादी प्रवेश गर्ने दिन उनी पेरिसडाँडामा रोएकी थिइन,एमाले छाड्नुपरेकोमा ।

शेर्पाले त्यो क्षण सम्झिँदै भनिन्- म त्यो बेला कम्बोडिया जानुपर्ने भएकाले कुनै निर्णय दिएकी थिइन । तर म नआउन्जेल रामचन्द्र झा लगायतका नेता मलाईनै कुरेर बस्नुभएको रहेछ । हिमाल, पहाड र तराईको कम्बिनेशन मिलाउनुपर्छ भन्दै उहाँहरुले आग्रह गरेपछि एयरपोर्टबाट सिधै पेरिसडाँडा गएर टीका लाएँ ।

उनी माओवादीबाट समानुपातिक उम्मेदवार भए पनि दोस्रो संविधानसभा चुनावमा माओवादी पार्टी पराजित भएकाले सभासद हुन पाइनन् । पार्टी केन्द्रीय सदस्य हुँदै हाल पोलिटव्यूरो सदस्य रहेकै बेला प्रचण्डले नै उनको क्षमता बुझेर अष्ट्रेलियाको राजदूतको जिम्मेवारी दिए । यति चाहिँ भन्न सकिन्छ लक्कीलाई एमालेले चिनायो, माओवादीले चिनेर गहन जिम्मेवारी दियो ।

मिनी नेपालमा चुनौतिका चाङ

अष्ट्रेलिया पछिल्लो समय मिनी नेपाल जस्तै भएको छ । अध्ययनका लागि जाने विद्यार्थी र अन्य प्रयोजनमा रहेका नेपालीहरुको संख्या नेपालको एउटा जिल्लाको जनसंख्या भन्दा बढि भइसकेको छ । यस्तोमा नेपाली राजदूतको भूमिका पनि फराकिलो र चुनौतिपूर्ण बनिरहेको छ ।

चुनौतिको चाङ पन्छाउँदै मुलुकको पक्षमा उल्लेख्य योगदान गर्ने लक्ष्य बोकेर लक्कीले कानबेराको यात्रा तय गरेकी छन् । चार वर्षको समय कुनै लामो होइन । तर उनले यो अवधिलाई आफ्नो भाबी राजनीतिक तथा कुटनीतिक करिअर र मुलुकको हितमा अधिकतम सदुपयोग गर्ने सोच बनाएकी छन् ।

अष्ट्रेलियामा नेपालीहरुका समस्या समाधानको दैनिक कार्यसूची त हुने नै भयो । त्यो भन्दा महत्वपूर्ण कुरा चाहिँ उनले नेपालमा अष्ट्रेलियाको लगानी भित्र्याउने र आफ्नो कार्यकालमा दुवै देशका उच्चस्तरीय भ्रमण मिलाउने कार्यसूचीलाई प्राथमिकता दिएकी छन् ।

जहाँ नेपाली त्यहाँ राजनीति । जहाँ नेपाली त्यहाँ गुटबन्दी । जहाँ नेपाली त्यहाँ जातीय र सामुदायिक विभाजन । पछिल्लो समय यो विकृति विदेशमा बढेको छ ।

नेपाली राजदूतका रुपमा यस्तो विभाजनबीच जोगिएर सबैको साझा हुन सक्नु नै लक्की शेर्पाको मुख्य चुनौति हो । जुन चुनौतिको पहाड पार गर्न लक्की अवश्य सफल हुनेछिन् । किनकि उनी नाम जस्तै लक्की त छँदैछिन्, अध्ययन र एपियरेन्समा उत्तिकै स्मार्ट पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment