Comments Add Comment

प्रचण्डले भने-ज्ञानेन्द्रले मौका छोप्न नसक्दा दलहरुसँग दिल्लीमा सम्झौता गर्नुपर्‍यो

वीरेन्द्रसँग वार्ता हुनै लाग्दा दरबार हत्याकाण्ड भयो

६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले तत्कालिन राजा ज्ञानेन्द्र शाहले आफ्नो हातमा आएको मौका छोप्न नसक्दा नेपालका शान्ति प्रक्रियामा विदेशीले भूमिका खेल्न पाएको खुलासा गरेका छन् ।

माओवादी सशस्त्र विद्रोहका साथै शान्ति प्रक्रियाको समेत कमाण्ड गरेका प्रचण्डले आफूले जनयुद्धलाई विदेशीको भूमिकामा नभई नेपाली भूमिमै अवतरण गराउन चाहेको बताए । तर, राजा ज्ञानेन्द्र सक्कली राजा नभएकाले उनले आँट गर्न नसकेको प्रचण्डले बताए ।

नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरको जनयुद्धकालीन रिपोर्टिङका संस्मरणहरु समेटिएको पुस्तक ‘अंश’को मंगलबार काठमाडौंमा लोकार्पण गर्दै प्रचण्डले भने, ‘ज्ञानेन्द्रले आफ्नो हातमा आएको मौका छोप्न नसक्दा राजनीतिक दलसँग दिल्लीमा १२ बुँदे समझदारी गर्नुपर्‍यो ।’

आफूले युद्धबाट मुलुकलाई धेरै क्षति हुन नदिन तत्कालिन राजा वीरेन्द्रका भाइ धिरेन्द्रसँग वार्ता गरेको र वीरेन्द्रसँग वार्ता हुने बेला दरबार हत्याकाण्ड भएको स्मरण प्रचण्डले गरे । उनले दरबार हत्याकाण्डपछि ज्ञानेन्द्रसँग वार्ता गर्न खोज्दा उनले उल्टो बाटो हिँडेको बताए ।

प्रचण्डले भने, ‘असली राजा र बनावटी राजामा फरक हुँदो रहेछ । हामीले सानामा राजकुमार दिक्पालका कथा पढ्थ्यौं । सक्कली राजकुमार जोखिमपूर्ण बाटो हिड्न तयार भयो तर, नक्कली राजकुमार घुमाउरो बाटो हिड्न खोज्यो । वीरेन्द्र र ज्ञानेन्दमा पनि त्यहि फरक पायौं ।’

माओवादी अध्यक्ष प्रचण्डले तत्कालिन संसदवादी पार्टीहरु संविधानसभामा राजालाई सहमत गराउन र आफू पनि आउन असमर्थ भएपछि आफूले राजासँगै वार्ता खोजेको स्मरण गरे । ‘नोकरसँग होइन मालिकसँगै वार्ता गर्छौं भनेको हो तर, ज्ञानेन्द्रले हातमा आएको मौका छोप्न सकेनन्’ उनले भने ।

कार्यक्रममा बरिष्ठ पत्रकारहरु युवराज घिमिरे, नारायण वाग्ले, गुणराज लुइटेल, गोविन्द आचार्य, पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्ट, एमाले नेता सूर्य थापा लगायतले पुस्तकबारे टिप्पणी गरेका थिए ।

पुस्तकमा लेखकले माओवादीको सशस्त्र जनयुद्धको बेला युद्धग्रस्त क्षेत्रमा स्थलगत रिपोर्टिङमा जाँदामा अनुभव, अविष्मरणीय घटनाहरु र पात्र र प्रवृतिको वर्णन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment