Comments Add Comment

राजपा शीर्ष नेताहरुको दाबीः हाम्रो सहभागिता विनाको चुनाव अवैध

१० असार, सप्तरी । राष्ट्रिय जनता पार्टी (राजपा) का शीर्ष नेताहरुले सरकार र मुख्य दलले नै आफूहरुलाई निर्वाचनभन्दा बाहिर राखेको आरोप लगाएका छन् । उनीहरुले निर्वाचनमा आउन भनेको तर, ढोकामा ताला लगाएर द्वैध चरित्र देखाएका कारण आफूहरु निर्वाचनमा सहभागी हुन नसकेको बताए ।

सप्तरीको मलेठमा शनिबार आयोजित पार्टी प्रवेश तथा जनसभामा राजपाका पाँच शीर्ष नेताले एक स्वरमा १, ५ र ७ नम्बर प्रदेशमा भइरहेको निर्वाचन अवैध भएको बताए । राजपा पार्टी मात्र नभएर मुलुकको एउटा पक्ष भएको भन्दै आफूहरु भाग नलिएमा निर्वाचन अवैध हुने उनीहरूको दाबी छ ।

राजपाका नेताहरूले वर्तमान संविधान मधेसी, जनजाति, सिमान्तकृत, दलितसहित पछडिएका समुदाय बिरोधी भएपनि चुनावमार्फत कसैको बिरोधी नरहेको प्रमाािणत गराउन खोजिएको भन्दै माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने बताए ।  ।

राजपा नेता राजेन्द्र महतोले आफूहरुलाई चुनावमा आउन नदिएको बताए । ‘चुनावमा आउन मौखिक रुपमा मात्रै भन्यो तर, चुनावको बाटोमा ठूलो ताला लगाएर राखियो । हामी कसरी त्यो तालाबन्दी बाटोमा प्रवेश गर्न सक्छौं ?’ महतोले भने, ‘राज्य पक्षले राजपा चुनावमा आउँदै आउँदैन भनिरहेको छ । तर, हामीलाई ल्याउँदै ल्याउँदैन हामी कसरी चुनावमा जानु ।’

आफूहरु चुनाव बिरोधी नरहेको भन्दै उनले आफूहरुले चुनावलाई प्रयोग गर्न खोजेपनि नदिएको बताए ।

पटक-पटक सम्झौता गरेपनि मुख्य दल कांग्रेस, एमाले र माओवादीले संविधानमा अधिकारै नदिई चुनाव गराउने खोजेको बताए । अध्यक्ष मण्डलका सदस्य महतोे भने ‘आफ्नै बञ्चरो लिएर हामी आफ्नै खुट्टामा कसरी प्रहार गर्न सक्छौं ? के मधेसका सबै उपेन्द्र यादव र विजय गच्छदार नै छन् त ?’

यत्रो आन्दोलन कुनै उपलब्धी बिना नै हामी कसरी खेर जान दिने भन्दै उनले आफ्नो मृत्यु पत्रमा आफैं हस्ताक्षर गर्न नसकिने बताए । आफूहरु माग पूरा नभएसम्म निर्वाचनमा सहभागी नहुने बताए ।

अर्का नेता शरदसिंह भण्डारीले संघीयतालाई खारेज गराउन मुख्य दलहरु लागिपरेको आरोप लगाए । आफूहरुले बारम्बार माग पूरा गरिदिन आग्रह गरेपनि सरकारले नगरी ढोका बन्द गरेको बताए ।

नेता महेन्द्र राय यादवले संविधान संशोधन, आन्दोलनमा मारिएकालाई शहीद घोषणा, उनको परिवारलाई क्षतिपूर्ति र जनसंख्याको आधारमा स्थानीय तह बृद्वि गर्न बारम्बार माग गरेपनि सरकारले कुनै ध्यान नदिएर सिधै निर्वाचन गराउन खोज्नु अर्काे षड्यन्त्र भएको बताए ।

अर्का नेता अनिल झाले स्थानीय तहको निर्वाचन अवैध घोषणा गराउनका निम्ति प्रयास गरिने बताए । उनले माग सम्बोधन नै नगरी गराइरहेको निर्वाचनले मधेशको माग झनै पछाडि पर्ने बताउँदै नौटंकीपूर्ण निर्वाचन गराएर संविधान कार्यन्वयनको दुस्साहसको प्रयास गरिरहेको बताए ।

नेता राजकिशोर यादवले राजपा नेपाल मुलुककै एउटा ठूलो पक्ष भएको बताउँदै यो पक्षलाई बाहिर राखेर गराइरहेको निर्वाचनले बैद्यता प्रदान नगर्ने बताए । उनले २०७२ सालमा बनाइएको नश्लवादी संविधानलाई बैद्य बनाउने प्रयास स्वरुप निर्वाचन गराउन खोजिएको बताए ।

कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी दुई सयभन्दा बढी राजपामा प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment