+
+
Shares

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता, बहुमत सांसदको हस्ताक्षर

टोपराज शर्मा टोपराज शर्मा
२०७८ वैशाख २६ गते १९:५०

२६ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको हो ।

यसअघि ६ वैशाखमा पनि मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । उनीहरुले दिएको समावेदनका आधारमा १९ वैशाखमा प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको थियो । तर अधिवेशन सुरु हुनुअघि नै पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिए र एकल बहुमतको सरकारको दाबी गरे ।

अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुले आफूहरुको पक्षमा बहुमत भएको दाबी गरे पनि प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरेका थिए ।

अविश्वासको प्रस्तावमा छलफल हुन नपाई प्रदेशसभामा यथावत् रहेको र नेकपा एमालेका दृगनारायण पाण्डे र अमरबहादुर डाँगीको राजीनामा तथा माओवादी केन्द्र रोज्ने विमला खत्रीको निर्णयपछि प्रदेशसभामा कायम ७९ सदस्यको बहुमत (३८ सांसद) एमालेसँग नभएको भन्दै चार दलले संविधानको धारा १६८ (१) बमोजिम एकल बहुमतको प्रदेश सरकार बन्न नसक्ने बताएका छन् ।

आफूहरुको पक्षमा बहुमत रहेको भन्दै चार दलले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउनुपर्ने दाबी वैधानिक भएको बताएका छन् । यद्यपि प्रदेश प्रमुखले दलहरुसँग परामर्श नगरी संविधान विपरीत पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै चार दलले प्रदेशसभामा फेरि अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । उनीहरुले माओवादी संसदीय दलका नेता केसीलाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् ।

प्रदेशसभाको अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुखसमक्ष आजै समावेदन दिइने कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?