
२७ वैशाख, काठमाडौं । कोरोना भाइरसबाट संक्रमित गम्भीर बिरामीलाई हवाई उद्दार रेस्क्यू गरेको शुल्क साविकको तुलनामा १ लाख ५० हजारसम्म बढी पर्ने वायुसेवा सञ्चालकले बताएका छन् ।
कोरोना संक्रमितसँग हेलिकोप्टर कम्पनीले बढी भाडा लिएको भन्ने गुनासो आएपछि सोमबार वायुसेवा कम्पनीले यस्तो स्पष्टीकरण दिएका हुन् । साविकमा जहाज उडाउने पाइलटलाइ अतिरिक्त भत्ता र कोभिड बीमाको दायित्व दिनु पर्दैनथ्यो ।
आयोनका अनुसार अहिले सो दायित्वसँगै कर्मचारीलाई पीपीई सेट, प्यारामेडिकल टोली, सेमि भेन्टिलेटर मेसिन, प्रत्येक उडानपिच्छे हेलिकोप्टरको सेनिटाइनेजन, डिसइन्फेक्सनलगायत अन्य सामग्रीको जोहो वायुसेवा कम्पनी आफैंले गर्नुपर्ने हुन्छ ।
अन्य उडानको तुलनामा समय पनि बढी लाग्ने र मेडिकल टोली अनिवार्य राख्नु पर्ने भएकाले प्रत्येक उडानमा १ लाख ५० हजार भन्दा बढी मूल्य लाग्ने आयोनले जानकारी दिएको छ ।
नेपाल सरकार, नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको भाडादर एएस ३५० हेलिकोप्टरलाई प्रतिघण्टा १५ सय डलर र रोविन्सन्स हेलिकोप्टरलाई प्रतिघण्टा १ हजार डलर हो । यो मूल्यभन्दा माथि थप एक लाख ५० हजारसम्म लिएर उडान गरिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बताएका छन् ।
बिचौलियाबाट सम्पर्क नगर्न आह्वान
हेलिकोप्टर बुकिङ गर्दा बिचौलियासँग नगरी सिधै कम्पनीसँग गर्न समेत वायुसेवा सञ्चालकले आग्रह गरेका छन् । तोकिएको भन्दा बढी भाडा लिएको देखिएमा नेपाल नागरिक उड्डयन प्राधिकरण तथा कम्पनीमा सिधै गुनासो टिपाउन समेत आग्रह गरेका छन् ।
हवाई उडानको भाडादरलाई प्राधिकरणले नियमित निगरानी गरिरहेको भन्दै सरकारको नियम भित्रै रहेको उडान गरिरहेको समेत बताएका छन् ।
गुनासो भए भन्नुस् : प्राधिकरण
आजै नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत हवाई रेस्क्यूका सम्बन्धमा नागरिकका केही गुनासा भए प्राधिकरणमा टिपाउन आहृवान गरेको छ । प्राधिकरणले समेत कोभिड संक्रमित बोक्नु पर्दा यात्रुको व्यवस्थापन एवम् अन्य संलग्न कर्मचारीको जोखिमवापत थप शुल्क सम्बन्धित हेलिकोप्टरले लिने विषय स्वीकार गरेको छ ।
तर, प्राधिकरणले बिचौलियालाई भने प्रयोग नगर्न आग्रह गरेको छ । सिधै हेलिकोप्टर कम्पनीबाट बुक गर्न र केही गुनासा भए नेपाल प्राधिकरणका उपप्रवन्धक ज्ञानेन्द्र भुलको फोन नम्बर ९८५११३५०९१ मा सम्पर्क गर्न समेत प्राधिकरणले आग्रह गरेको छ ।
प्रतिक्रिया 4