Comments Add Comment

अन्तर्घात गरेको भन्दै एमालेका दुई नेता निलम्बित

इलाम जिल्ला समन्वय समितिमा बराल र बराइली सिफारिस

४ साउन, इलाम । स्थानीय तहको निर्वाचनमा पार्टीलाई अन्तर्घात गरेको भन्दै इलाममा एमालेका दुईजना जिल्ला नेतालाई पार्टीले निलम्बन गरेको छ ।

एमाले जिल्ला कमिटीले इलाम नगरपालिका- ७ का जिल्ला सदस्य बद्री खड्का र इलाम नगरपालिका-१२ का जिल्ला सल्लाहकार कमिटी सदस्य गणेश घिमिरेलाई पार्टी सदस्य समेत नरहने गरी निलम्बन गरेको हो ।

निर्वाचनअघि नै फाकफोक थुम निवासी जिल्ला सदस्य नरेन्द्र फियाकलाई पार्टीबाट निस्कासन गरिएको थियो ।

इलामका १० स्थानीय तहमा एमालेलाई जित्न अनुकूल भए पनि अपेक्षित परिणाम आउन नसकेको जिल्ला कमिटिको निष्कर्ष रहेको बुधबार आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभागका सचिव नवराज शंकरले जानकारी दिए । पार्टीभित्रको अन्तरघातका साथै भूगोल अनुकूल उम्मेद्वार छनौट गर्न नसक्दा पार्टीको अवस्था मजवुद भएको स्थानीय तहमा पनि हार व्यहोर्नु परेको पार्टीले निष्कर्ष निकालेको पनि उनले बताए ।

यसरी नै एमालेले स्थानीय तहको निर्वाचनमा पार्टीका नेता कार्यकर्ताहरुबाट अन्र्तघात भएको भन्दै जिल्ला कमिटीमा लिखित तथा मौखिक उजुरी आएकाले त्यसको छानविन गर्नका लागि ओमनारायण खनालको संयोजकत्वमा धिरेन चेम्जोङ्ग, प्रकाश अधिकारी, र तेजमाया गुरुङ्ग सदस्य रहेको एक छानविन समिति बनाएको छ ।

स्थानीय तहको काम कार्वाहीलाई व्यवस्थित र चुस्त बनाउनका लागि पार्टीका जिल्ला अध्यक्ष राम रानाका संयोजकत्वमा राजनीतिक, गणेश बरालको संयोजकत्वमा योजना र बजेट, गोपाल नेपालको संयोजकत्वमा लेखा र अधिवक्ता जसबहादुर लुङ्गेलीको संयोजकत्वमा कानुनी कार्यदल गठन गरेको छ ।

त्यसैगरी एमालेले स्थानीय तहको निर्वाचनमा आफ्ना दलको तर्फबाट उम्मेद्वार बनेकाहरुलाई निर्वाचन आयोगले तोके अनुसार निर्वाचन खर्चको विवरण तत्काल बुझाउन निर्देशन दिएको छ ।

जिल्ला समन्वय समितिमा बराल र बराइली सिफारिस

जिल्लाका १० स्थानीय तहहरु मध्ये ७ वटामा जीत हासिल गरेको एमाले इलामले जिल्ला समन्वय समितिको प्रमुख गणेश बराल र उप-प्रमुख चित्रकला बराइलीलाई सिफारिस गरेको छ ।

एमालेले प्रमुख र उपप्रमुखका लागि बराल र बराइलीलाई प्रदेश मार्फत केन्दि्रय कमिटिमा सिफारिस गरेको हो । इलाममा जिल्ला सभाको संख्या २० रहेको छ । यस मध्ये १६ जना एमाले र चारजना मात्र नेपाली कांग्रेस रहेकाले सिफारिस भएका बराल र बराइली प्रमख र उपप्रमुख बन्ने निश्चित रहेको एमाले नेताहरुले बताएका छन् । प्रमुखमा सिफारिस भएका बराल देउमाई नगरपालिकाबाट सदस्य जितेका हुन् भने बराइली सर्योदय नगरकार्यपालिकाकी सदस्यमा निर्वाचित भएकी हुन् ।

स्थानीय तहको निर्वाचनमा एमालेले प्रमुख/अध्यक्ष सात, उप-प्रमुख/उपाध्यक्ष ९ वटा जितेको छ । जिल्लाका ८१ वडाहरु मध्ये ४७ वडाध्यक्ष, ५५ महिला सदस्य, ५६ दलित महिला सदस्य, एक सय ४४ खुल्ला सदस्य जितेको थियो ।

माओवादी केन्द्रले एक, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च एक, राष्ट्रिय जनमुक्ति मोर्चाले एक र ३१ वडाध्यक्ष नेपाली कांग्रेसले जितेको छ । इलामको रोङ गाउँपालिका बाहेक सबै नगर र गाउँपालिकाका कार्यपालिकामा एमालेको बहुमत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment