Comments Add Comment

सरकारी सूचीमा नरहेको कम्पनिबाट औषधि खरिद !

 

१० साउन, सप्तरी । केहि दिन अघि म्याद बाँकी रहेकै औषधि जलाउने जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका कर्मचारीहरुले अर्काे बदमासी गरेको खुलेको छ । नेपाल सरकारले बन्देज लगाइसकेको कम्पनीबाट कर्मचारीहरुले औषधि खरीद गरेको खुलेको हो ।

नेपाल सरकारले सन् २०१४ मै औषधि बन्देज लगाइसकेको सुनसरीको धरानस्थित मनोज फर्मास्यूटिकल्सबाट कर्मचारीहरुले गत आर्थिक वर्षमा औषधि खरीद गरेका थिए । नेपाल सरकारको सूचीमै नरहेको कम्पनीबाट औषधि खरीद गरेकाले रकमको चलखेल भएको हुनसक्ने आशंका छ ।

जबकी सरकारको सूचीमा रहेको जनआर्शिवाद औषधि कम्पनीबाट खरीद गर्नका निम्ति टेण्डर समेत गरिसकिएको थियो । ‘यो कम्पनीसँग ६७ लाख रुपैयाँको औषधि खरीद गर्नुपर्ने टेण्डर भइसकेको थियो,’ कार्यालय श्रोतले भन्यो, ‘तर केहि कर्मचारीले टेण्डरको बेवास्ता गर्दै सरकारको सूचीमै नरहेको मनोज कम्पनीबाट औषधि खरीद गरेर आर्थिक चलखेल गरेका छन् ।’

केहि दिनअघि मात्रै जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीहरुले लाखौं मूल्य बराबरको म्याद रहेको औषधि जलाएका थिए । म्याद रहेकै औषधि जलाउनुको ठोस जवाफ कार्यालय प्रमुख नागेन्द्र चौधरी र स्टोर किपर परमेश्वर झाले दिन सकेका छैनन् । सञ्चारकर्मीले कति मूल्य बराबरको औषधि जलेको हो ? भनेर प्रश्न गर्दा उनीहरु अनुत्तरित बनेका छन् ।

कार्यालय श्रोतका अनुसार मनोज कम्पनीबाट खरीद गरिएको औषधि अधिक मात्रामा जलाइएको छ । कार्यालयका एक कर्मचारीका अनुसार औषधि खरीद गरिएको सम्बन्धमा मन्त्रालयबाट अनुगमन आउने भएपछि औषधि जलाइएको छ ।

यसो त जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीमा कर्मचारीहरुबीच विवाद रहेको छ । यही विवादका कारण पछिल्लो आठ महिना यता चार जना प्रमुख फेरिएका छन् । प्रमुख आउने र कर्मचारीको कुरा नमानेपछि हातपातका घटना समेत बाहिर आइसकेको छ ।

गत शुक्रबार जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका कर्मचारीहरुले दुई वर्षसम्म उपभोगको म्याद बाँकी रहेका औषधि जलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment