Comments Add Comment

रामेछापले मन्त्री नपाएको भन्दै माओवादीमा असन्तुष्टि

तेह्रथुमकी सीता गुरुङ देउवाको नजरमा परिनन्

 

११ साउन, काठमाडौं । सरकार विस्तार प्रक्रियासँगै विभिन्न जिल्लाका सत्तारुढ नेताहरुले आ-आफ्नो जिल्लाले मन्त्री पद पाउनुपर्ने माग गर्न थालेका छन् । यस्तो असन्तुष्टि कांग्रेस र माओवादी दुबै दलभित्र देखिएको छ ।

मन्त्रिपरिषद विस्तारमा यसपटक पनि रामेछाप जिल्लाले मन्त्री नपाए माओवादी नेता कार्यकर्ताले सामुहिक राजीनामा दिने चेतावनी हेडक्वार्टरलाई दिएका छन् । मन्त्री छान्ने अन्तिम बैठक बसिरहेकै बेला रामेछापका माओवादी नेताहरुले विद्रोहको चेतावनी दिएका हुन् ।

यसपटक रामेछाप क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद श्यामकुमार श्रेष्ठलाई सामान्य प्रशासन मन्त्री बनाउने आश्वासन शीर्ष नेताले दिएपछि जिल्लाका कार्यकर्ताले दुई सातादेखि नै उनलाई बधाइ दिइरहेका थिए ।

मंगलबार एकाएक नेताहरुको भागबण्डामा श्याम श्रेष्ष्ठको नाम काटिएको खबरसँगै जिल्लामा आक्रोश बढेको छ । पूर्वसभासद तथा माओवादी जिल्ला सचिव तारानारायण श्रेष्ठले पटक-पटक पार्टी हेडक्वार्टरले रामेछापलाई अपमान गरेको भन्दै फेसबुकबाटै सामुहिक बिद्रोहको धम्की दिएका छन् ।

माओवादी जनयुद्धकालमा रामेछापलाई पूर्वको रुकुम रोल्पा भनिन्थ्यो । जनयुद्धमा पहिलोपटक प्रहरी चौकीमा फौजी हमला गर्ने रामेछापकै माओवादी थिए । बेथान चौकी भिडन्तमा तीनजना माओवादी मारिएका थिए ।

दोस्रो संविधानसभा चुनावमा देशभर माओवादी पराजित भइरहदा रामेछापमा श्यामकुमार श्रेष्ठले चुनाव जितेका थिए । ३ नम्बर प्रदेशमा माओवादीले जम्मा ३ सिट जितेको छ । जसमध्ये सिन्धुपाल्चोकका अग्नि सापकोटा र सिन्धुलीका हरिबोल गजुरेल मन्त्री भइसकेका छन् ।

यसपटक रामेछापलाई न्याय गर्ने भनेर अन्तिममा हेडक्वार्टरले धोका दिएको भन्दै रामेछापका माओवादीले सामुहिकरुपमा पार्टी परित्यागको चेतावनी दिएका छन् ।

पूर्वसभासद तथा माओवादी नेता तारानारायण श्रेष्ठले भने- हामीले के अपराध गरेका थियौं वा अझै केको कोटा चुक्ता गर्न बाँकी थियो ? छ भने कति बाँकी छ ? यसको जवाफ केन्द्रीय कार्यलयले दिनुपर्छ । अन्यथा रामेछापमा बिद्रोहको ज्वाला दन्किने छ, यसको जिम्मा पार्टी हेडक्वार्टरले लिनुपर्ने छ ।

ठूला र प्रभावशाली नेता भएका ठाउँबाट सदावहादर मन्त्री भइरहने र रामेछाप जस्ता जिल्लाका कार्यकर्ताले पार्टीलाई सधैं जिताएर पनि अवसर नपाउने अवस्थाले निराश बनेको पूर्वसभासद लक्ष्मी गुरुङले बताइन् । उनले शहीद र जित रामेछापले दिनुपर्ने तर अवसर अरुले नै पाउने अवस्था देखिएको बताइन् ।

हालै स्थानीय चुनावमा पनि रामेछापमा माओवादीे ८ मध्ये २ स्थानीय तह जितेर दोस्रो स्थानमा छ । ६ नम्बर प्रदेशका माओवादी नेताहरु जनार्दन शर्मा र शक्ति बस्नेतको भागबण्डा मिलाउनका लागि रामेछापका श्यामकुमार श्रेष्ठलाई बली दिनुपरेको एक माओवादी नेताले बताए ।

सामान्य प्रशासन मन्त्रीमा टेबहादुर बस्नेतलाई लैजाने भएपछि श्रेष्ठलाई राज्यमन्त्रीमा मनाउने प्रयास भइरहेको छ । तर, श्रेष्ठले मानेका छैनन् । ६ नम्बर प्रदेशबाट यसअघि नै जनार्दन शर्मा मन्त्री छन् भने अब टेकवहादुर बस्नेत र महेन्द्रवहादुर शाही थपिँदैछन् । टेकबहादुर बस्नेत शक्ति बस्नेत पक्षका हुन् भने शाही जनार्दन शर्मा पक्षका ।

दुई नम्बर प्रदेशबाट पनि गिरिराजमणी मन्त्री भएपछि २ जना फूलमन्त्री हुने भएका छन् । यसअघि प्रभु साह शहरी विकास मन्त्री छन् । ३ नम्बर प्रदेश र ७ नम्बर प्रदेशबाट भने माओवादीले कसैलाई मन्त्री नबनाउने भएको छ ।

तेह्रथुमकी सीता देउवाको नजरमा परिनन्

यसैवीच दशकौंसम्म मन्त्री नपाएको तेह्रथुम जिल्लाले पनि यसपटक मन्त्री पाएन ।

तेह्रथुममा कांग्रेसको पोजिसन राम्रो बनाउने यसपालि जिल्लाबाट मन्त्री बनाइनुपर्ने स्थानीय नेताहरुको माग थियो ।

कांग्रेस नेतृ सीता गुरुङले आफ्नो जिल्लाको भागका एउटा मन्त्रालय पाउनुपर्ने माग गर्दै आएकी थिइन् ।

आफू महिला र जनजातिसमेत भएकाले मन्त्रीका लागि उनको आफ्नै दाबीसमेत थियो ।

तर, देउवाले मन्त्री छान्दा धनकुटा, तेह्रथुम जस्ता पूर्वी पहाडका जिल्लालाई वास्ता नगरेको गुनासो स्थानीय कांग्रेस नेताहरुले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment