Comments Add Comment

कतारमा द्वन्द्वको घाउ स्मरण

दोहा । सशस्त्र द्वन्द्व र त्यसपछि नेपाली नागरिकले खेपेका पीडालाई कतारबासी नेपालीहरुले डकुमेन्ट्रीमार्फत पुनः स्मरण गरेका छन् । पत्रकार गणेश पाण्डे निर्देशित तीन वटा वृत्तचित्रहरु बहादुर बहिनी, अन्तिम सन्देश र मरेर बाँचेकाहरुको प्रदर्शन कार्यक्रममा कतारमा रहेका नेपालीहरुले विगतको सशस्त्र द्वन्द्वले छाडेको मानवीय संवेदनाहरु देख्दा मन अमिलो बनाए । ‘विगतको सशस्त्र द्वन्द्व नेपाली नागरिकका लागि अति नै कष्टकर थियो,’ डकुमेन्ट्री प्रदर्शन कार्यक्रमको आयोजक नेपाल लोकतान्त्रिक मञ्च (एनडीएफ) कतारका अध्यक्ष दिलकिरण खुजुम भन्दै थिए -‘अब नेपालीहरुले यस्ता द्वन्द्वको कल्पना कहिल्यै गर्न नपरोस ।’1

अझ प्युठानका छविलाल विकलाई त आफुले द्वन्द्वकालमा गाउँबाट अनाहकै विस्थापित हुनुपरेको पीडाले घोचेछ । ‘यी डकुमेन्ट्रीका पात्रहरुझैं म पनि एउटा प्रतिनिधि पात्र हुँ, जसले अनाहकै आफ्नो सुन्दर गाउँबाट पलायन हुनुपर्‍यो ।’- विक भन्दै थिए । कतारको दोहास्थित गोल्डेन र्फक रेष्टुरेष्टमा गरिएको कार्यक्रममा दर्शकहरुले आफ्ना दाजुभाइको हत्यारालाई कारबाही गर्न माग गर्दै संघर्षरत सावित्री श्रेष्ठको पीडालाई समेटिएको “बहादुर बहिनी” लाई धेरै रुचाए । ४० मिनेटको यो डकुमेन्ट्रीमा अन्तरजातीय विहेकै उज्जनकुमार श्रेष्ठलाई गुमाएपछि परिवारले भोगेको संघर्ष, भाइका हत्यारालाई कारबाही गर्न जाहेरी दिएका गणेशकुमार श्रेष्ठको हत्या, आफ्नै आँखा अगाडि बाबुको होली हानेर मारेको देखेकी गणेशकी छोरी रचनाको रहस्यमय आत्महत्या, मिडिया र अधिकारकर्मीको सडक संघर्ष, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मका शरण, न्यायको लडाईंदेखि कैदीदेखि कन्ट्याक्ट किलरसम्मका तारन्तारको धम्कीलाई पर्दामा उतारिएको छ ।2

 “नेपालमा आफूले गरेको ज्यादतीलाई सत्ता वा शक्तिमा बस्नेहरूले पदमा हुँदा गरेको स्वाभाविक कामका रूपमा बुझ्ने प्रचलन स्थापित भएको छ । “बहादुर बहिनी” त्यसको एउटा नमुना रहेछ ।” डकुमेन्ट्री हेरेपछि एनडीएफका उपाध्यक्ष समेत रहेका मोरङका चानक पोखरेलले सुनाए । अझ बेपत्ता नागरिकका विषयमा निर्मित अन्तिम सन्देश र यातना पीडितको कथा समेटिएको मरेर बाँचेकाहरु हेरेपछि धेरैले आफुलाई सम्हाल्नै सकेनन् । कतारस्थित नेपाली व्यवसायी र कामदारको सहभागिता रहेको कार्यक्रमका अधिकांश सहभागीले द्वन्द्व पीडितका घाउमा मल्हम लगाएर छिटो भन्दा छिटो शान्त र समृद्ध नेपाल बनेको हेर्न चाहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment