Comments Add Comment

हात्तीको डरले बस्ती छाड्दै सर्वसाधारण

२१ भदौ, कञ्चनपुर । जङ्गली हात्तीको डरले कञ्चनपुरको देखतभुली र शङ्करपुर गाविसका सर्वसाधारण रातमा बस्ती छाडेर सुरक्षित स्थानमा बस्दै आएका छन् ।

हात्तीले दैनिक बस्तीमा छिरेर लगाएको धान तथा मकै बाली खाने र घर भत्काएर नोक्सान पुर्‍याउन थालेपछि ज्यान जोगाउनका लागि यहाँका सर्वसाधारण सामूहिक रुपमा राति बस्ती छाडेर सुरक्षित स्थानमा बस्न थालेका हुन् । भारतको दुधुवा नेसनल पार्क क्षेत्रमा हाल वर्षाको पानी जम्मा भएका कारण प्रतिवर्ष नेपाली बस्तीमा छिरेर हात्तीले विध्वंश मच्चाउँदै आएका छन् ।

दिनभरि लालझाडी वनमा बस्ने हात्तीको झुण्डले साँझ नपर्दै स्थानीयवासीको खेतमा छिरेर धान र मकै बाली खाने गरेको स्थानीय निर्मल रानाले बताउनुभयो । ४० भन्दा बढीको सङ्ख्यामा रहेको छावासहितको हात्तीको झुण्डलाई खेत क्षेत्रबाट भगाउन रातभरि जाग्राम बस्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

हात्तीको झुण्डले शङ्करपुर गाविस-९ को पर्सिया र देखतभुली गाविस-२ र ३ जाई क्षेत्रमा बढी नोक्सानी पुर्‍याएको छ । देखतभुली गाविसका सचिव केशवदत्त भट्टका अनुसार हात्तीले नोक्सानी पुर्‍याएको भन्दै हालसम्म २० भन्दा बढी परिवारले क्षतिपूर्तिका लागि निवेदन दिएका छन् ।

दुवै गाविसमा गरी १२ जनाभन्दा बढी व्यक्तिका घर हात्तीको झुण्डले भत्काएको छ । एक महिनाको अवधिमा ४० बिघाभन्दा बढी क्षेत्रफल जग्गामा लगाएको धान र मकै बाली हात्तीले खाएर नोक्सानी पुर्‍याएको छ । यहाँका स्थानीय बासिन्दाले जीउज्यानको सुरक्षाको माग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी पर्शुराम अर्याललाई अवगत गराएको स्थानीय भीम चन्दले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी अर्यालले हात्ती नियन्त्रणका लागि पहल गरिने आश्वासन दिएको उहाँले बताउनुभयो । एक महिनादेखि यहाँ हात्तीको आतङ्क छाएको छ । गत वर्षसमेत यसैगरी हात्तीको झुण्डले यहाँका बस्तीमा छिरेर धेरै व्यक्तिका घर भत्काएको र सयौँ बिघा खेतमा लगाएको अन्नबाली खाएर नोक्सान पुर्‍याएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment