Comments Add Comment

कसले हत्याउला यस वर्षको मदन पुरस्कार ?

२२ भदौ, काठमाडौं । पछिल्लो वर्षको मदन पुरस्कारको घोषणा हुने समय नजिकिँदै छ । ०६९ सालभित्र प्रकाशित कृतिका लागि कसले पाउला त ? यस विषयमा साहित्य क्षेत्रमा ‘कफी गफ’ गर्माउन थालेको छ ।

साहित्य वृत्तमा शारदा शर्माको उपन्यास ‘ताप” चर्चाको चुलीमा छ । तर, तापको विमोचन कार्यक्रममा प्रमुख अतिथि रहेका मदनमणि दीक्षितले त्यहीँ उपस्थित कमल दीक्षितको नामै उल्लेख गरेर यसवर्षको मदन पुरस्कार दिन सार्वजनिक आग्रह गरेकाले त्यहीँबाट तापको सम्भावना कम भएको आंकलन गर्नेहरु पनि थुप्रै छन् । तर, उपन्यासभित्र रहेका अश्लील शब्दहरुका कारण ताप पुरस्कार गुठीको क्राइटेरियाबाट बाहिर पर्ने कतिपय बताउँछन् । उक्त गुठीको अहिलेसम्मको नजिर हेर्दा त्यसखाले शब्द प्रयोग भएका कृतिलाई प्रोत्साहित गरेको पाइँदैन ।

madan_puraskar_pustakalaya_logoकतिपय जानकारहरु भने यसवर्ष कविता विधाले पुरस्कार उछिट्याउने दाबी गर्छन् । उनीहरुको भनाइमा रमेश क्षितिजको “घर फर्किरहेको मानिस” र ठाकुर बेल्वासेको “त्रासमा ईश्वर” कविता विधाका मुख्य दाबेदार कृति हुन् । ०६० सालमा गोपाल पराजुलीको “नयाँ ईश्वरको घोषणा”ले पाएयता अहिलेसम्म कविता कृति पुरस्कृत नभएकाले कविताले पालो पाउने अनुमान गर्नु अस्वाभाविक होइन ।

गुठी सम्बद्ध एक स्रोतका अनुसार डा. गोविन्दराज भट्टराईको समालोचनात्मक कृति “समयबोध र उत्तरआधुनिकता”, डा. रविन्द्र समीरको लघुकथा संग्रह “अणु र पहाड” र श्रीओम श्रेष्ठ रोदनको निबन्धसंग्रह “एक्लो परिचय” पनि प्रवल दावेदारमध्येमा पर्छन् । त्यसमध्ये डा. समिरको कृति पुरस्कृत भयो भने गुठीको इतिहासमा पहिलोपल्ट लघुकथा बिधा समावेश हुने छ ।

कतिपयले हरिवंश आचार्यको “चिना हराएको मान्छे”, विनोद चौधरीको आत्मकथाको समेत नाम लिने गरेका छन् । चौधरीलाई दिँदा चर्को विवाद हुने तथा हरिवंश ०४६ मा जगदम्बाश्रीबाट पुरस्कृत भइसकेकोले दुवैको सम्भावना झिनो देखिन्छ । हरिवंशले पुस्तकको रोयल्टी सामाजिक काममा खर्च गर्ने घोषणा गरेकाले चिना हराएको मान्छेले पुरस्कार पाएमा अचम्म नमाने हुन्छ ।

त्यसो त कहिलेकाहीँ गुठीले गैरसाहित्यिक कृतिलाई समेत पुरस्कृत गर्ने गरेको पाइएको छ । यसो भयो भने चर्चामा नभएको कुनै गैरसाहित्यिक कृतिले पनि पाउन सक्छ । तर, गएको वर्ष निस्केमध्येका निष्पक्ष ढंगले गैरसाहित्यिक कृति खोजियो भने सरोजराज अधिकारीको “चक्रव्यूहमा चन्द्रसूर्य” पनि हकदार हुने सम्भावना रहेको बताइन्छ ।

मदन पुरस्कार : लेखकलाई उर्जा कि अभिशाप !

“हामीकहाँ पाण्डुलिपि लिएर आउँदैखेरि पुरस्कारका लागि त्यो वर्षको उत्कृष्ट हुनेमा अमर न्यापानेजी कन्र्फम हुनुहुन्थ्यो । त्यही भएर उहाँले सेतो धरतीमा सम्पादन गर्न दिनु भएन ।”

यो भनाइ ०६८ को मदन पुरस्कार विजेता उपन्यास सेतो धरतीका प्रकाशक फाइनपि्रन्टका अजित बरालको हो । गत साउन ८ मा मार्टिन चौतारीमा आयोजित एक अन्तक्रिर्यामा बरालले व्यक्त गरेको यो भनाइले मदन पुरस्कार पाउनेबारे स्रष्टाहरुले पूर्वजानकारी पाइसकेका हुन्छन् भन्ने प्रष्ट पार्छ । जगदीश घिमिरे र झमक घिमिरेलाई अपवाद राख्ने हो भने ०५१ यता हरेक वर्ष भनसुनका आधारमा वितरण गरिएको गुनासो सुनिने गरेको छ ।

मदन पुरस्कारलाई नेपाली साहित्यको नोवेल पुरस्कार मान्नेहरु थुप्रै छन् । यो पुरस्कार पाउन मरिहत्ते गर्ने मात्रै होइन, यसका लागि अनेक हर्कत र प्रयास गर्नेहरुको भीड नै देखिन्छ नेपाली साहित्य वृत्तमा । तर, के मदन पुरस्कार पाउनेहरुको यात्राको पारम्भ गर्छ या अन्त्य ? यो भने बहसको विषय हो । किनकि मदन पुरस्कार पाएपछि अधिकांश श्रष्टाको लेखन ओरालो लागेको देखिन्छ ।

“पुरस्कारले त स्रष्टाको लेखनमा उर्जा पो थप्नु पर्ने हो, झनै स्तरीय कृति आउनुपर्ने हो ।” एकजना पाका स्रष्टा भन्छन्, “मदन पुरस्कार पाएपछि लेखनको दृष्टिले लेखकहरु ओरालो लागेको भेटिन्छ ।”

यस्तो छ इतिहास

साँच्चै ! ०१३ सालमा सुरु भएको मदन पुरस्कारको इतिहासमा हालसम्म ६८ जना साहित्यिक-गैरसाहित्यिक स्रष्टा पुरस्कृत भइसकेका छन् । तथ्यले भन्छ, कृष्णचन्द्रसिंह प्रधान (०१३), रमेश विकल (०१८), जनकलाल शर्मा (०२०), वालकृष्ण पोखरेल (०२१), पारिजात (०२२), शंकर लामिछाने र गृष्मबहादुर देवकोटा (०२४), जगदीश समशेर राणा (०३७), महेशविक्रम शाह (०६३), जगदीश घिमिरे (०६४) लगायतका केही स्रष्टाले मात्रै स्तरीय लेखनलाई निरन्तरता दिन सके ।

मदन पुरस्कारबाट पुरस्कृत अधिकांश स्रष्टाको लेखन भने पुरस्कृत कृतिको दाँजोमा खस्किएको र ओरालो नै लागेको देखिन्छ । महानन्द सापकोटा (०२७), भवानी भिक्षु (०३२), विनोदप्रसाद धिताल (०५२) आदिको त पुरस्कृत भएपछि लेखनमै विश्राम लाग्यो भन्दा पनि हुन्छ । सत्यमोहन जोशी र चित्तरञ्जन नेपालीसँगै पुरस्कृत डा. बलराम जोशी (०१३) गंगाविक्रम सिजापति (०१५), नित्यराज पाण्डे (०१६), कोमलनाथ अधिकारी (०२०), मुकुन्दशरण उपाध्याय, नवराज चालिसे र लक्ष्मीबहादुर श्रेष्ठ (०२१), स्थिरजंगबहादुर सिंह र बिहारीकृष्ण श्रेष्ठ (०२८), डा. छविलाल गजुरेल (०३६), कन्चन पुडासैनी (०४१), डा. राजेश गौतम (०४६), हरेराम जोशी (०५८) डा. भवेश्वर पंगेनी (०४९), रेवतीरमण खनाल (०५९) आदिका लागि पनि मदन पुरस्कार प्रगतिको गन्तव्य बन्न सकेन । सर्वाधिक राशीको ‘लोकपि्रय’ मदन पुरस्कारबाट पुरस्कृत भएका स्रष्टा भएर पनि धेरै लेखकहरु लेखनवृत्तमा गुमनाम छन् ।

माधवी उपन्यासमा पुरस्कृत (०३९) पूर्वीय दर्शनका प्रकाण्ड विद्वान मदनमणि दीक्षितसमेतले त्यसपछि गतिला कृति ल्याउन सकेनन् । ननस्टप उपन्यासकार डा. धु्रवचन्द्र गौतम (०४०) ले ३८ वटा कृति ल्याएर हरेकपटक नयाँनयाँ प्रयोग गरे पनि अलिखितको मानक तोड्न सकेनन् । ध.च. गोतामे (०३५) ले घामका पाइलापछि आधा दर्जन कृति लेखे पनि घामका पाइलाभन्दा माथि जान सकेनन् । सरुभक्त (०४८) ले पनि पागलबस्तीलाई उछिन्ने उपन्यास ल्याउन नसकेको गुनासो गर्ने पाठक थुप्रै छन् । राधा (०६२) पछि कृष्ण धरावासीले पाण्डुलिपिसम्म आइपुग्दा पाठकबाट ‘रुवाबासी”को उपमा पाए । ०६१ मा पल्पसा क्याफेका लागि पुरस्कृत नारायण वाग्ले दोस्रो उपन्यास मयुर टाइम्समा खासै चर्चित भएनन् ।

नेपालका बालीनाली र तिनको दीगो विकासका लेखक नरेन्द्र साउद (०६७) पनि पुस्तकाकार रुपमा देखपार्न सकेका छैनन् । दिनेश अधिकारी, कञ्चन पुडासैनी, गोपाल पराजुलीले पनि पुरस्कारको गरिमा धान्न सकेनन् ।

मदन पुरस्कारका लागि चन्द्र समशेरका कान्छा छोरा जनरल मदन समशेरको मृत्युपछि कोलकातास्थित उनको निवासमा रहेका महँगामहँगा विदेशी रक्सीको भण्डार बिक्री गरी आएको रकमबाट पुरस्कार गुठीको सुरुआत गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment