+
+
Shares

चुनावको मिति सार्दा आकाश खस्दैन, देश डुब्दैन

राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले अमेरिकामा राजनीतिक अर्थशास्त्रको अध्यययन गर्नुभएको छ । तर्कशील नेताका रुपमा चिनिने पूर्वअर्थमन्त्री डा. लोहनीले अनलाइनखबरसँगको कुारकानीका क्रममा वैद्यपक्षलाई पनि संविधानसभाको चुनावमा सहभागी गराउनुपर्ने बताउनुभयो । चुनावकमो मिति सार्दैमा आकाश नखस्ने र

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २८ गते १२:१७

– डा. प्रकाशचन्द्र लोहनी, राप्रपाका नेता

 राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले अमेरिकामा राजनीतिक अर्थशास्त्रको अध्यययन गर्नुभएको छ । तर्कशील नेताका रुपमा चिनिने पूर्वअर्थमन्त्री डा. लोहनीले अनलाइनखबरसँगको कुारकानीका क्रममा वैद्यपक्षलाई पनि संविधानसभाको चुनावमा सहभागी गराउनुपर्ने बताउनुभयो । चुनावकमो मिति सार्दैमा आकाश नखस्ने र देश नडुब्ने उहाँले तर्क गर्नुभयो :prakash-chandra-lohani-2

चुनाव आउन लागेको छ, राप्रपाको तयारी कस्तो छ ?

– अलिअलि तयारी हुँदैछ । उम्मेदवार छनौट गर्न जिल्ला जिल्लालाई सिफारिस गर्न भनेका छौं । प्रत्यक्षमा ५ जना र समानुपातिकमा ३ जनाको नाम पठाउन भनेका छौं । करिव ४० जिल्लाबाट आइसकेको छ ।

ठूला पार्टीहरुमा टिकटका लागि ठूलै झगडा हुन्छ, राप्रपामा के छ ?

– हामीमा प्रत्यक्षमा त्यति झगडा हुँदैन होला । समानुपातिकमा चाँहि झगडाभन्दा पनि धेरै प्रतिस्पर्धा होला । जिल्लाले गरेको निर्णयलाई आधारमा मानेर केन्द्रमा हामी मापदण्ड बनाउँदैछौं । त्यसका आधारमा छान्ने काम गर्छौं ।

पार्टी एकीकरणले केही समस्या ल्याएको छ कि ?

– त्यस्तो खास केही छैन । राप्रपा पहिले पनि हामी एउटै हौं । त्यसैले त्यहाँ कुनै नयाँ मान्छे, नयाँ अनुहार भन्दा पनि पुरानै साथीहरु हौं । त्यसकारण त्यस्तो खास कुनै समस्या छैन ।

ठूला नेतालाई २/३ ठाउँबाट उम्मेदवार बनाउने चर्चा छ । तपाईहरु पनि सूर्यबहादुर थापा लगायतका प्रमुख नेताहरु एक भन्दा बढी ठाउँबाट उठ्नुहुन्छ कि ?

– मलाई जहाँसम्म लाग्छ हामी एक-एक ठाउँबाट उठ्छौं । किनभने अरु ठूला दलका नेताहरुलाई एकबाट जितिन्छ भन्ने विश्वास छैन होला । त्यसकारण उहाँहरुले ३ ठाउँ, ४ ठाउँ जानु भा’छ । हामीलाई हामी जुन ठाउँबाट उठ्छौं, त्यो ठाउँबाट जित्छौं भन्ने पूर्ण विश्वास छ ।

घोषणापत्र कस्तो बनाउँदै हुनुहुन्छ ?

– हेर्नुस, हाम्रो दर्शन समावेशी राष्ट्रवाद भनेका छौं । समावेशी प्रजातान्त्रिक राष्ट्रवाद भनेको नेपालको विविधता, सबै वर्ग समूहलाई राज्य व्यवस्था, नेपालको आर्थिक संरचनाका साथ साथै विकासको प्रक्रियामा सहभागी गराउने, सहभागिता सुनिश्चित गरेर निर्माण हुने राष्ट्रियता, त्यो नेपालको राष्ट्रियता बलियो हुन्छ । र त्यसैलाई समावेशी राष्ट्रवाद भनेका छौं । तर, त्यो राष्ट्रियता निर्माण गर्नका लागि राजनीतिक पद्धति भनेको प्रजातान्त्रिक मूल्य र मान्यतामा, बहुलवादमा आधारितमार्फत समावेशी राष्ट्रियता निर्माण गर्न सकिन्छ । अनिमात्र नेपालको राष्ट्रियता बलियो हुन्छ भन्ने हाम्रो दृष्टिकोण हो । यसलाई नै लिएर हामी जान्छौं ।

जहाँसम्म अर्थतन्त्रको कुरा छ, जनपक्षीय उदारवाद भनेका छौं । उदारवादले व्यक्तिलाई बढी केन्दि्रत गर्छ । हामी व्यक्तिलाई केन्द्रविन्दु बनाएर जाने दर्शनको समर्थन गछौं । तर, त्यसपछि पनि व्यक्तिको विकासको लागि र समूहको विकासका लागि पनि राज्यको सहयोग, सहभागिता र नियमनकारी भूमिका अत्यन्तै महत्वपूर्ण हुनुआउँछ । त्यसैले दुबैको संयोजनबाट खडा हुनुपर्छ ।

एमालेलाई भाइ कांग्रेस भनेजस्तो एकातिर कांग्रेस छ, अर्कातिर राप्रपा नेपाल छ, वीचमा तपाईहरुको के काम भन्छन् नि मान्छेहरु ?

– यो राप्रपा सुरुबाटै राष्ट्रवादी पार्टी हो । हुन त राष्ट्रियता सबैले भनेका छन् । तपाईले अहिले देख्नु भएको छ, राष्ट्रियता कमजोर भएर गयो भनिएको छ । कसले गरेको छ, यसका जिम्मेवार ठूला दलहरु नै हुन् । उनीहरुले नै शासन गरिरहेका छन् ।हाम्रो पार्टी भनेको एउटा कन्जरभेटिभ पार्टी हो । परम्परा र आधुनिकताको बीचमा फ्युजन गरेर जाने कन्जरभेटिभ पार्टी हो । यसले आफ्नो राष्ट्रका राम्रा परम्परा र मानवतावादी मूल्य मान्यताहरु र आधुनिकताका लागि चाहिने आधुनिक मूल्य मान्यताहरु प्रजातन्त्र र आधुनिक अर्थतन्त्र चलाउन चाहिने निश्पक्षता, कार्यकुशलता, उत्कृष्टलाई प्रत्साहन दिएर लैजाने मान्यताहरुको बीचमा फ्युजन गरेर लैजाने कन्जरभेटिभ पार्टीका रुपमा हामीले लिएका छौं । यस्तो अरु पार्टी नेपालमा छैन र कन्जरभेटिभ पार्टी जहिले पनि राष्ट्रवादी हुन्छ र राष्ट्रियतालाई नै प्राथमिकता दिएर जान्छ ।prakash-lohani

कांग्रेस, एमालेसँग राष्ट्रियताको सवालमा फरक भयो । राप्रपा नेपालसँग तपाईहरुको भिन्नता के ?

-अहिलेको परिवेशमा नेपालमा राजतन्त्र चाहिन्छ, राजतन्त्र नभई अडि्डदैन भन्ने जुन दृष्टिकोण हो, त्यसलाई हामी मान्दैनौं । नेपालले एउटा फड्का लिइसकेको छ र नेपाली जनताको छोरो, त्यो जो सुकै हो, उ नेपालको सबैभन्दा माथिल्लो पदमा पुग्ने कुरालाई जन्मसित जोड्न हुँदैन र राजनीतिक प्रक्रियासँग जोड््नुपर्छ ।

तपाईहरुको नजरमा राप्रपा नेपाल, कांग्रेस, एमालेमध्ये को नजिक को टाढा ?

– को नजिक र को टाढा भन्दा पनि हाम्रा मूल्य मान्यताहरुलाई लिएर जाने हो । हामी बहुलवादमा विश्वास गर्छौं । एकलवाद अर्थात अधिनायकवादमा विश्वास गर्ने एमाओवादी देखिएको छ । त्यसकारण उसले यो धारणालाई नतोडेसम्म यसँग सहकार्य गर्न गाह्रो हुन्छ । तर, सत्ताका लागि आफ्नो सबै मूल्य र मान्यतालाई तिलान्जली दिने जुन नेपाली कांग्रेसको परम्परा छ, त्यसलाई हामीले अस्वीकार गरेका छौं । परम्परा यो मानेमा सत्ताका लागि बाध्यता भन्ने अमूर्त शब्दको आडमा कार्यपालिका, न्यायपालिका र विधायिका एउटै मान्छेमा सुम्पने जुन अनुशासनहीन र राजनीतिक चिन्तन शुन्य प्रजातन्त्रको विरोधी काम नेपाली कांग्रेसबाट भयो । माओवादीले प्रस्ताव ल्याउने वित्तिकै समर्थन गर्ने काम भयो, यसलाई हामी अस्वीकार गछौं ।

पछिल्लो दिनमा राप्रपाको भन्दा राप्रपा नेपालमा मनिसहरुको आकर्षण बढेको देखिन्छ । तपाईहरुका पार्टीबाटै मानिसहरु उता गएका छन् । तपाईहरुको मूल्यांकन के छ ?

– कसको के प्रचार भयो, कस्तो जनमत छ भन्ने हाम्रो टाउको दुखाइको विषय होइन । हामी आफ्नो दृष्टिकोण लिएर गइरहेका छौं र हामीलाई विश्वास छ नेपाली जनताले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एउटा सशक्त सम्मानजनक स्थान दिनेछन् भन्ने विश्वास छ । ०५१ सालमा पनि हामी तेस्रो बलियो शक्तिका रुपमा आएका थियौं । अब आउँदा चुनावमा पनि हामी एउटा राष्ट्रिय शक्तिको रुपमा आउँछौं । कति सिट र यति सिट भनेर डिङ हाँकेर हिड्दैनौं ।

भनेपछि तेस्रो विकल्पका रुपमा आउने योजना छ ?

– नेपालको राष्ट्रिय शक्तिको रुपमा, नेपाली राष्ट्रियताको वाचडग, पहरेदारका रुपमा हामी संसदमा हुन्छौं ।

मंसिर ४ मै चुनाव हुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ ?

– चुनाव हुनुपर्छ भन्नेमा दुईमत छैन । चुनाव हुनु संविधानसभाको परिप्रेक्ष्यमा आधा मात्र काम हो । संविधान बन्छ नै भन्ने कुनै ग्यारेन्टी छैन । तर, त्यो बाटोमा जान पनि चुनाव हुनुपर्छ । अर्को कुरा, मिति कहिले भन्ने हो । अहिले मंसिर ४ भनेर तोकिएको छ । हाम्रो दृष्टिकोण के छ भने यो चुनाव संविधानसभाका लागि भएकाले सबै दलको सहभागिता हुनुपर्छ । अहिले त्यो थिती देखिएको छैन । नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका खेलेको दल जसलाई ड्यास माओवादी भनिन्छ, बैद्य माओवादी बाहिर बसिरहेको छ । उनीहरुले पनि चुनावमा भाग लिन्न भनेका छैनन् । तर, केही कुरामा छलफल गरौं भनेका छन् ।

हाम्रो धारणा के छ भने नेपाल सरकार र आफूलाई ठूला भन्ने दलहरुले उहाँहरसित छलफल गरेर उहाँहरुलाई पनि चुनावमा सहभागी गराउनुपर्छ । यदि सहभागी गराइन भने चुनावको बेला हुने गडबड त छँदै छ, कथंकदाचित त्यो सामना गरियो भने पनि त्यसपछि गठन हुने संविधानसभाको बैधानिकतामा ठूलो प्रश्न लाग्छ । दोस्रो कुरा त्यो संविधानसभालाई मध्यमार्ग लिएर जान पनि गाह्रो पर्छ । किनभने जो संविधानसभाभन्दा बाहिर रहेका दलले अतिवादी दृष्टिकोण नै लिएर जाने सम्भावना रहन्छ । त्यसलाई समेत मध्यनजर गरेर भित्र काम गर्नु पर्ने अवस्था आउँछ । त्यो परिवेशमा सबैलाई हुने मध्यमार्ग लिएर जान गाह्रो पर्छ ।

त्यसैले बैद्य माओवादीलाई जसरी भएपनि भित्र लिएर आउनुपर्छ । त्यो सम्भव छ । त्यसका लागि चुनावको मिति केही समय तलमाथि गरेर आकाश खस्ने वाला छैन, देश डुब्ने वाला छैन ।

चुनावमा तालमेलको कुरा पनि आएको छ । के छ तपाईहरुको योजना ?

-मैले पनि सुनेको छु । तर, केही थाहा छैन । शीर्ष नेताहरुलाई जिताउन तालमेल गर्ने कुरा अखबारबाट मात्र सुनिएको छ, अहिलेसम्म कुनै वर्क भएको छैन । तर, हामीले पहिलेदेखि नै प्रजातान्त्रिक शक्तिहरु त्ाालमेल गरेका जाउँ भनेर । किनभने एकदलीय अधिनायकवादमा विश्वास गर्ने, जसले माक्र्सवादको नाममा माक्र्सवादको मानवतावादी दर्शन र दृष्टिकोणलाई दुरुपयोग गरेर सत्तालाई केन्द्रीत गरेर अधिनायकवाद कायम गर्न खोज्ने शक्ति छ, अर्को साशन बलियो हुनुपर्छ तर बहुलवादको मूल्य मान्यताका आधारमा स्थापित सत्ता हुनुपर्छ भन्ने शक्ति छ । बहुलवादको मूल्य मान्यताका आधारमा स्थापित सत्ता हुनुपर्छ भन्ने शक्तिले तालमेल गर्नुपर्छ भन्दै आएका छौं तर, अहिलेसम्म केही भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?