Comments Add Comment

घरजाने टिकट असोज १ गतेबाट

२९ भदौ, काठमाण्डौं । राजधानीबाट गृहजिल्ला फर्किने यात्रु लक्षित गरेर यातायात व्यवसायीले असोज १ गतेदेखि दसैंको अग्रिम टिकट बुकिङ खुला गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको बिहीबारको बैठकले बुकिङका लागि तयारी थाल्न मातहतका समितिहरूलाई निर्देशन दिएको हो ।

‘झन्डै दुई सातादेखि यात्रुहरूको भीडभाड बढ्छ भन्ने आंकलनसाथ बुकिङ खोल्ने निर्णय गरिएको हो,’ महासंघका कोषाध्यक्ष सरोज सिटौलाले भने,’फूलपातीअघिका करिब तीन/चार दिन निकै भीडभाड हुने भएकाले फुर्सद हुनेहरूलाई सकेसम्म त्यसअघि नै गन्तव्यमा लाग्न आग्रह गरेका छौं ।’ महासंघले यात्रुको चापका आधारमा तीन चरणको अवधी वर्गीकरण गरी तयार गर्ने निर्णय गरेको छ ।

बुकिङ खुल्नासाथ यात्रुहरूको खासै भीड नहुने भएकाले घटस्थापनाको करिब एक साता अघिदेखि बसको संख्या बढाउने तयारी भएको सिटौलाले बताए । यो अवधिमा सहरी क्षेत्रमा रहेका विद्यार्थी र अरू फुर्सदिला व्यक्तिहरू फर्किने अनुमान गरिएको कान्तिपुर दैनिकमा खबर छ । घटस्थापनाको साताअघिदेखि शैक्षिक क्षेत्रमा संलग्न र बालबालिकासहितका गृहिणीहरूको पनि चाप हुने भएकाले सामान्य अवस्थामा भन्दा झन्डै दोब्बर सवारी साधन उपयोग हुने आंकलनसाथ तयारी छ । घटस्थापनापछिको चाप फूलपातीसहितको तीन दिनमा निकै बढी हुनसक्ने आशंका छ । सामान्य अवस्थामा राजधानीबाट दैनिक एक हजारको हाराहारीमा सार्वजनिक यातायात बाहिर जाने गरेकामा दशैको पछिल्लो तीन दिनमा ३५०० सम्म पुग्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment