Comments Add Comment

सुन्धाराको होटलमा चुनावको टिकट लिनेको भीड

३० भदौ, काठमाण्डौं । नेपाली कांग्रेस कालिकोटबाट समानुपातिकमा सिफारिस भएका टेकराज शाही काठमाडौं आएको पाँचदिन भएको छ । शाही कालिकोटबाट तीन दिनको पैदल र बस यात्रापछि काठमाडौं आइपुगेका हुन् । सुन्धारास्थित होटलमा बस्दै आएका शाहीको काम भनेको बिहानदेखि बेलुकासम्म पार्टीका शीर्ष नेता भेट्ने र समानुपातिकमा उम्मेदवारी सुनिश्चित गराउन माग गर्ने हो। ‘समानुपातिकमा सिफारिस भएपछि केन्द्रमा टिकट माग्न आएको हुँ,’ नेविसंघका केन्द्रीय सदस्यसमेत रहेका शाहीले हाँस्दै भने, ‘केन्द्रले उम्मेदवारी ग्यारेन्टी नगरेसम्म फर्किने कुरा नै हुन्न।’

कालीकोटको एक सिटका लागि प्रत्यक्षमा आठ र समानुपातिकमा नौजना सिफारिस भएका छन् । उनका अनुसार सिफारिसमा परेका सबैजसो नेता यतिखेर जिल्ला छाडेर काठमाडौं आइपुगेका छन् ।

टिकट हत्याउन जिल्ला छाडेर राजधानी आउने शाही एक्लो होइनन् । कांग्रेसबाट सिफारिसमा परेका प्रायः सबै नेता यतिखेर सुन्धाराका विभिन्न होटलमा बसिरहेका छन् । सबैको समान उद्देश्य छ, केन्द्रबाट टिकट सुनिश्चित गर्ने र जिल्ला फर्कने ।

सुन्धारामा हिजोआज ‘जयनेपाल’ शब्द बाक्लै सुनिन्छ । टिकट माग्न आएकाहरू भेटघाट हुँदा ‘म पनि टिकटार्थी’ भन्दै हँसिमजाक पनि गर्छन् । पूर्वी इलामदेखि पश्चिम कञ्चनपुरसम्म, जुम्लादेखि ताप्लेजुङसम्म, तराईदेखि हिमालसम्मका कांग्रेसी नेता यतिखेर सुन्धारामा जम्मा भएको नागरिक दैनिकमा खबर छ । सुन्धारामा रहेका करिब १ सय २५ वटा होटल प्रायः कांग्रेसी नेताले भरिभराउ छन् । साँझ बिहान यस ठाउँमा ठूलो भिड हुन्छ । भिड देख्दा पार्टीको महाधिवेशन चलिरहेझैं भान हुन्छ । त्यहाँ होटल खाली नभेटेर कतिपय गौशाला, नयाँ बसपार्क, ठमेल र बागबजारतिर पनि बस्न पुगेका छन् ।

हिमाञ्चल लज एन्ड होटलमा चितवनका कांग्रेसी नेता बसेका छन् । ‘मेरो होटलमा १५ वटा कोठा छन्, एक सातायता सबै प्याक छन्,’ म्यानेजर विवेक गुरुङले भने, ‘कुरा सुन्दा सबै टिकटका लागि आएका जस्ता छन् ।’

साँझ–बिहान सुन्धारा कांग्रेसीमय भए पनि दिउँसो भने भेटाउन मुस्किल पर्छ । ‘बिहानै उठेपछि चिया–सिया खाएर १२ बजेअघि नै नेताका घर–घरमा गएर टिकटका लागि दाबी गर्नुपर्ने भएकाले दिउँसो सुन्धारा सुनसान हुन्छ,’ पर्साका कांग्रेस सचिव अशोक जयसवालले भने, ‘दिउँसो चाहिँ सानेपा (केन्द्रीय कार्यालय)मा भिड हुन्छ ।’ उनका अनुसार पर्साका पाँचवटा क्षेत्रका लागि ३१ जना प्रत्यक्षमा र १ सय २१ जना समानुपातिकमा सिफारिस भएका छन्, ती सबै यतिखेर काठमाडौंमै छन् ।

अझ रमाइलो त के छ भने आफ्नो पक्षमा बहुमत समर्थक रहेको देखाउन सिफारिस भएका केही नेताले जिल्ला समितिका धेरैजसो सदस्यलाई साथमा लिएर काठमाडौं आएका छन्, खर्च पनि उनीहरू नै गर्छन् । ‘नेता कहाँ पुग्दा त्योभन्दा म राम्रो, ऊभन्दा यो मान्छे राम्रो, मेरो जनमत छ, उहाँको जनमत छ, त्यसैले टिकट मलाई दिनुपर्छ, उहाँलाई नै दिनुपर्छ भन्ने नै कुरा हुन्छ,’ समानुपातिक कोटामा परेका पत्रकार दीपेन्द्र चौहानले भने, ‘धेरैजसोले त माइक्रो नै रिर्जभ गरेर कार्यकर्तासहित काठमाडौं आएको पनि भेटेको छु ।’ उनका अनुसार सात दिनदेखि काठमाडौंमा बसेका नेताले कम्तीमा पनि दैनिक दुई जनाका दरले एक दर्जनभन्दा बढी केन्द्रीय नेतालाई भेटिसकेका छन् ।

‘उम्मेदवार सिफारिस भएका सबैजसो काठमाडौंमा केन्द्रित भएपछि गाउँमा भने यतिखेर कांग्रेसका चुनावी गतिविधि शून्य भएको छ,’ रौतहटबाट समानुपातिक कोटामा परेका धर्मेन्द्र पासवानले भने, ‘गत सातादेखि गाउँ–गाउँमा कांग्रेसका केही कार्यकर्ता र समर्थक मात्रै छन्, नेता छैनन् ।’

कांग्रेसका जिल्ला नेता काठमाडौं केन्द्रित हुँदा एकीकृत नेकपा माओवादीका नेता भने गाउँ–गाउँमा दोस्रो चुनावी अभियानमा व्यस्त छन्, एमालेले केन्द्रमा टिकट लिन आएकालाई जिल्ला फर्कन प्रेस विज्ञप्तिमार्फत नै निर्देशन दिएको छ ।

आखिर किन कांग्रेसी उम्मेदवार काठमाडौं आइरहेका छन् त ? कालिकोटका शाही भन्छन्, ‘स्थानीय तहमा जनमत हुने कांग्रेसी नेतालाई सिफारिस गरेर पठाइन्छ, केन्द्रले भने त्यो नाम काटेर ‘गणेश प्रवृति’ हुनेलाई टिकट दिएर पठाउँछ । त्यसैले खबरदारी गर्न कांग्रेसका नेता–कार्यकर्ता काठमाडौं आएका हुन् ।’ ‘गणेश प्रवृति’लाई नेतृत्वले निरुत्साहित नगरेसम्म यस्तो भिड केन्द्रमा लागिरहने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment