Comments Add Comment

प्राइम लाइफका सिईओ झा कारबाहीमा पर्ने

३० भदौ, काठमाडौं । बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रेष्टा झालाई सीमा नाघेर प्रवर्द्धन खर्च गरेको आरोपमा कारबाही गर्ने भएको छ । समितिले गत वर्ष दिएको निर्देशनविपरीत कम्पनीले उच्च रकम खर्च गरेको थियो ।

resta jha

बीमा समितिले चार वटा शीर्षकमा प्रथम बीमाशुल्कको ६ प्रतिशतभन्दा बढी खर्च नगर्न जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । समितिको अध्ययनबाट कम्पनीले १६ प्रतिशत खर्च गरेको देखिएको छ । विभिन्न शीर्षकमा खर्च देखाएर व्यवस्थापकहरुले दुरुपयोग गर्ने गरेको आरोप समितिका अधिकारीले लगाउने गरेका छन् ।

समितिले अतिथि सत्कार खर्च, व्यापार प्रवर्द्धन, विज्ञापन तथा प्रचार प्रसार र अधिकर्तालाई नियमबमोजिमको कमिसनबाहेकको रकमको कूल योग सम्बन्धित आर्थिक वर्षको प्रथम बीमा शुल्कको ६ प्रतिशतको सीमाभित्र हुनुपर्ने व्यवस्था गरेको थियो । गत चैतसम्ममै कम्पनीले ४४ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको थियो ।

गत भदौ ४ मा कम्पनीलाई समितिले अन्तिम स्पष्टीकरण सोधेको थियो । ‘कानुनअनुसार आफू कारबाहीको भागिदार हुन नपर्ने भएमा कारण पेश गर्न’ समितिले कम्पनीका प्रमुख कार्यकारी अधिकृत रेष्टा झालाई पत्र लेखेको हो ।

झाले पेश गरेको स्पष्टीकरणमाथि समितिले निर्णय लिन ढिला गरेको छ । समिति अध्यक्ष डा. फत्तबहादुर केसीले झालाई जोगाउने प्रयास गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको बुझिएको छ । समिति स्रोतले झाको स्पष्टीकरण सञ्चालक समितिको बैठकमा पेश हुने तयारीमा रहेको जानकारी दिएको छ ।

निर्देशन उल्लंघन गर्ने कम्पनीको आंशिक वा पूर्ण कारोबार रोक्का गर्ने र एक पटकमा १० हजार रुपैयाँ जरिवाना गर्न सक्ने अधिकार समितिसँग रहेको छ । कम्पनीको स्रोत कार्यकारी प्रमुखबाट दुरुपयोग भएको अवस्थामा असुल उपर गर्न सक्ने व्यवस्था छ । ‘तोकिएभन्दा बढी खर्च गरेको रकम दुरुपयोग भएको भए सोही अनुसार कारबाही हुनसक्छ’, समिति स्रोतले भन्यो ।

कारबाही प्रक्रिया अघि नबढेपछि अख्तिायार दुरुपयोग आयोगमा गत २२ गते बेनामी उजुरी परेको थियो । अख्तियारको निर्देशनपछि समितिले कम्पनीको पुनः स्थलगत निरीक्षण गरेको थियो । सो निरीक्षण प्रतिवेदनले पनि कम्पनीमा अनियमितता भएको उल्लेख गरेको छ । त्यसका आधारमा अख्तियारले झामाथि कारबाही गर्न समितिलाई निर्देशन दिएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment