+
+
Shares

विदेशमा २ वर्षबढी बस्ने नेपाली मात्र एनआरएन हुने

अनलाइनखबर अनलाइनखबर
२०७० कात्तिक २ गते १६:५०

२ कात्तिक, काठमाडौं । विदेशमा २ वर्षबढी बस्ने नेपालीहरुले मात्र गैरआवासीय नेपाली (एनआरएन) को मान्यता पाउने भएका छन् । राजधानीमा शनिबारबाट सुरु भएको गैरआवासीय नेपाली संघ (एनआएएनए)को छैटौं अधिवेशनले विदेशमा २ वर्षबढी बस्नेलाई मात्र एनआएनको मान्यता दिने गरी विधान संशोधन गरेको हो ।

यससँगै नेपालमा गैरआवासीय नेपाली संघ दर्ताको औपचापरिक वाटो खुलेको छ । यसअघि सार्क मुलुकभन्दा बाहिर ६ महिनाभन्दा बढी बसेकालाई एनआएनको मान्यता दिने प्रावधान थियो । सरकारले ल्याएको गैरआवासीय नेपाली सम्बन्धी ऐनमा भने २ वर्ष बढी बसेकालाई मात्र एनआरएनको मान्यता दिने ब्यबस्था गरेको थियो । संघको बिधान र एनआरएन ऐनको परिभाषा बाझिएपछि नेपालमा एनआरएन दर्ता हुन सकेको थिएन् ।

‘संघ दर्ताको औपचारिक बाटो खुलेको छ । हामी जतिसक्दो चाँडो दर्ताको प्रक्रिया अघि बढाउनेछौ,’ अध्यक्ष जीवा लामिछानेले भन्नुभयो-‘नेपाल सरकारको ऐन र हामीले एउटै प्रावधान राखेका छौं । यसले लामो समयदेखि दर्ता हुन नसकेको संघलाई बाटो खुलेको छ ।’ दुई दिन अघि मात्र परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघलाई पत्र पठाएर २ वर्षबढी बसेकालाई मात्र एनआरएनको मान्यता दिने व्यवस्था गरे संघ दर्ता गर्ने आश्वासन दिएको छ ।

यसअघि २ वर्षबढी बसेकालाई मात्र एनआरएनको मान्यता दिने प्रस्ताव ल्याउँदा कतार र बेलारुस एनआरएनले विरोध जनाएका थिए । उसले श्रमिकका रुपमा रहेका धेरै नेपाली एनआरएनमा आवद्ध हुनबाट बन्चित हुने उनीहरुको तर्क थियो ।

उम्मेदवार बन्ने मापदण्ड हेरेफेर

यसैवीच अन्तराष्ट्रिय समन्वय परिषद्को अध्यक्ष पदको उम्मेदवार बन्न आईसीसी पदाधिकारीमा एक कार्यकाल काम गरेको हुनैपर्ने ब्यबस्था गरिएको छ । आईसीसी पदाधिकारी बाहेक अन्य पदमा उम्मेदवार बन्न आईसीसीको सदस्य वा एनसीसीको अध्यक्ष पदमा काम गरिसकेको हुनुपर्ने प्राबधान राखिएको छ । यसअघि आईसीसी सल्लाहकार वा राष्ट्रिय समन्वय परिषद्को कुनै पदमा एक कार्यकाल पुरा गरेकोलाई पनि आईसीसी अध्यक्ष वा पदाधिकारीमा उठ्न दिने गरिएकोमा नयाँ बिधानले त्यसलाई खारेज गरेको छ । संसोधित बिधान यो अधिवेशन समाप्तिपछि मात्र लागू हुने भएकाले अहिलेका उम्मेदवारका लागि भने लागू हुने छैन् ।

नयाँ बिधानमा आईसीसी उपाध्यक्षमा एक महिलासहित ३ उपाध्यक्ष रहने प्राबधान राखिएको छ । यस्तै १० भन्दा बढि राष्ट्रिय समन्वय समिति भएको क्षेत्रमा दुई जना क्षेत्रीय उपसंयोजक राख्ने ब्यबस्था पनि गरिएको छ ।

नेतृत्वका लागि मनोनयन सुरु

यसैवीच अध्यक्षसहित अन्तराष्ट्रिय समन्वय परिषद्का बिभिन्न पदका लागि उम्मेदवारले मनोनयन सुरु गरेका छन् ।

अध्यक्ष पदमा अष्ट्रेलियाका शेष घले, युकेका हितमान गुरुङ, जर्मनीका रामप्रताप थापा, युएईबाट नेपाल फर्किएका रामेश्वर साह र कोरियाबाट नेपाल फर्किएका तेन्जी शेर्पाले उम्मेदवारी दर्ता गरेका छन् । उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष लगायतका मुख्य पदहरुमा पनि बिभिन्न मुलुकबाट दर्जनौंले मनोनयन दर्ता गरेका छन् । भोली १२ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ भने १ बजेपछि मतदान सुरु हुने छ । ५० भन्दा बढि मुलुकबाट एक हजार बढि प्रतिनिधि काठमाण्डौ आएका छन् ।

एमालेको प्यानल बन्यो

यसैवीच एमाले निकट एनआरएनले प्यानल घोषणा गरेका छन् । एमाले बिदेश बिभाग सदस्य भीम रावलको उपस्थीतिमा सोल्टी होटलमा भएको छलफलमा अध्यक्षमा तेन्जी शेर्पा, उपाध्यक्षमा भवानी ओली र महासचिवमा कुमार पन्तसहितको प्यानललाई एमालेको आधिकारिक प्यानलका रुपमा अघि बढाउने निर्णय भएको बताइएको छ । एमालेले प्यानल घोषणा गरेपछि कांग्रेसनिकट एनआरएनहरुको लाजिम्पाटमा छुट्टै वैठक सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?