Comments Add Comment

बहिष्कारवादी मोर्चा दोहोरो भूमिकामा

१४ कात्तिक, काठमाण्डौं । आगामी ४ मंसिरमा हुने संविधानसभा निर्वाचन बहिष्कार अभियानसहित अवरोध गरिरहेको नेकपा–माओवादी नेतृत्वको विपक्षी मोर्चामा आबद्ध दलहरू पनि चुनावी अभियानमा सहभागी भएका छन् । नेकपा–माओवादी नेतृत्वको बहिष्कारवादी मोर्चामा सहभागी भएरै उनीहरू संविधानसभा निर्वाचनमा पनि सहभागी भएका हुन् ।

३२ दलीय मोर्चामा आबद्ध सात राजनीतिक दलले संविधानसभाको निर्वाचनमा उम्मेदवारी दिई सहभागिता जनाएका हुन् । उनीहरूका केही नेताहरू बहिष्कारको आन्दोलनमा सहभागी भइरहेका छन् भने पार्टी निर्वाचन आयोगमा भाग लिँदै आएका छन् । निर्वाचन बहिष्कार गर्ने मोर्चामा आबद्ध नेपाल कम्युनिस्ट पार्टी, लिग नेपाल शान्ति एकता पार्टी, जन प्रजातान्त्रिक पार्टी, चुरेभावर राष्ट्रिय पार्टी, समाजवादी जनता पार्टी र जनमोर्चा नेपाल संविधानसभा निर्वाचनमा सहभागी भएका छन् । नेपाल कम्युनिस्ट पार्टीले अध्यक्ष ऋषि कट्टेलसहित १ सयजनालाई समानुपातिक उम्मेदवार बनाएको छ ।

उसले नेतापत्नीदेखि केन्द्रीय समितिका अधिकांशलाई समानुपातिकमा राखेको छ । यस्तै, चुनावमा भाग लिने अन्य दलहरूले पनि पार्टी प्रमुखसहितका सबै पदाधिकारीलाई समानुपातिकमा उम्मेदवार बनाएको छ । प्रत्यक्षतर्फ भने ६० स्थानमा मात्र उम्मेदवारी दिएको छ । यसैगरी, बहिष्कारको मोर्चामा रहेको राष्ट्रिय नागरिक पार्टीले प्रत्यक्षमा ९ र समानुपातिकमा ७९ उम्मेदवार बनाएको छ । त्यस्तै, लिग नेपाल शान्ति एकता पार्टीले प्रत्यक्षमा १८ र समानुपातिकमा ८९, जन प्रजातान्त्रिक पार्टीले प्रत्यक्षमा १८ र समानुपातिकमा ५३ जनालाई उम्मेदवार बनाएको राजधानी दैनिकमा खबर छ ।

बहिष्कारको मोर्चामा आबद्ध भएको चुरेभावर राष्ट्रिय पार्टीले प्रत्यक्षमा ११ र समानुपातिकमा ५६ जना उम्मेदवार बनाएको छ । हिक्मतबहादुर देउवाले नेतृत्व गरेको समाजवादी जनता पार्टीले प्रत्यक्षमा ४० र समानुपातिकमा २ सय ७५ जनालाई उम्मेदवार बनाएको छ । यसैगरी, बहिष्कारको मोर्चामा रहेको जनमोर्चा नेपालले प्रत्यक्षमा ३० र समानुपातिकमा १ सयजनालाई उम्मेदवार बनाएको छ । चुनावमा भाग लिएका बहिष्कारवादी मोर्चामा आबद्ध दलहरूले आफ्नो पार्टीले निर्वाचनको पद्धति र प्रक्रियामा असन्तुष्टि रहेकाले बहिष्कारको मोर्चामा सहभागी भएको जनाएका छन् ।

पछिल्लो समयमा जसरी पनि निर्वाचन गर्ने सरकारको निर्णयसँगै आफूहरूको पार्टीबाट एउटा मोर्चा निर्वाचनमा सहभागी गराएको दाबी गरे । पार्टीका समानुपातिक उम्मेदवारको सूचीमा ५६ नम्बरमा रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले आफूहरू अहिले पनि निर्वाचन बहिष्कारको पक्षमा नै रहे पनि चुनाव हुने भएपछि जितेर गई संविधानसभामा नै असन्तुष्टि राख्ने बताए । ‘निर्वाचनमा सहभागी हुने र बहिष्कार गर्ने दुवै अधिकार भएकाले हाम्रो पार्टीभित्र पनि एउटा मोर्चा बहिष्कारको पक्षमा र अर्को मोर्चा निर्वाचनमा सहभागी भएको हो,’ कट्टेलले भने, ‘हामी दुवै मोर्चाको उपयोगबाट नेपाली जनताको चाहना पूरा गर्नेतर्फ सक्रिय छौं ।

’ मोर्चामा आबद्ध भएका दलहरूले संविधानसभा निर्वाचन बहिष्कार पनि गर्ने र सहभागी पनि हुने घटनाले उनीहरू दोहोरो भूमिकामा रहेको प्रस्ट देखिन्छ । यस्तै, जनमोर्चा नेपालका महासचिव साध्यबहादुर भण्डारी नेतृत्वको मोर्चाले आफूहरू बहिष्कारको पक्षमा रहेको बताएको छ । सोही पार्टीका अध्यक्ष बुद्धिबहादुर जीसी नेतृत्वको मोर्चा भने निर्वाचनमा सहभागी भएको छ । जीसी र भण्डारी निर्वाचन र बहिष्कार दुवै मोर्चालाई आफूहरूले प्रयोग गरेको बताउँछन् । निर्वाचन बहिष्कारको पक्षमा रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापाले भने आफूहरू सबै बहिष्कारको पक्षमा रहेको बताए । उनका अनुसार निर्वाचनमा सहभागी हुने मोर्चाको कुनै रणनीति छैन ।

निर्वाचनमा सहभागी भएका दलहरू बहिष्कारको मोर्चाबाट बाहिरिएको थापाको भनाइ छ । ‘उहाँहरूको आफ्नो पार्टीले गरेको निर्णयअनुसार नै निर्वाचनमा सहभागी भएकाले मोर्चामा त्यस्तो कुनै निर्णय तथा छलफल भएको छैन,’ थापाले भने । संविधानसभा निर्वाचनबाटै संविधान बनाउने विषयमा आफूहरू सहमत भए पनि चार दलले बहिष्कार गर्न बाध्य बनाएको आरोप लगाए । आफूहरू निर्वाचनमा सहभागी भएर नै आफ्ना एजेन्डा प्रस्तुत गर्ने पक्षमा उभिए पनि चार दलका शीर्ष नेताले बेवास्ता गर्दा अहिलेको अवस्था आएको उनको बुझाइ छ ।

उनले बहिष्कारको पक्षमा रहेको मोर्चाले आफ्ना आन्दोलनका कार्यक्रमलाई सशक्त बनाउँदै लैजाने जिकिर गरे । उनका अनुसार जबर्जस्ती हुन लागेको निर्वाचनमा सहभागी नहुन जनतालाई आह्वान गरेकाले जनताले निर्वाचन बहिष्कार गर्नेछन् । मोर्चाको नेतृत्व गरिरहेको माओवादी सचिव देव गुरुङ निर्वाचनविरोधी कार्यक्रमलाई सशक्त बनाउन तल्लो तहसम्म निर्देशन दिएको बताउँछन् । ठाउँ–ठाउँमा बम राखेर अवरोध गरे पनि गुरुङ भने आफूहरूको बहिष्कार आन्दोलन शान्तिपूर्ण हुने बताउँछन् । ‘विगतको आन्दोलनलाई सफल बनाउनका लागि जुन किसिमका कसरतहरू हुने गरेका थिए, चुनाव बिथोल्न पनि सोहीबमोजिमका आन्दोलनका कार्यक्रम हुनेछन्,’ गुरुङले राजधानीसँग भने ।

आफूहरूको शान्तिपूर्ण आन्दोलनलाई दमन गरे परिणाम गम्भीर आउने चेतावनी पनि मोर्चाको रहेको छ । माओवादीका कार्यकर्ता पनि स्वतन्त्र उम्मेदवारको प्रचारमा देखिएका छन् । हाल एमाओवादीबाट कैलालीमा उम्मेदवार रहेकी एमाओवादी अध्यक्ष पुष्पकमल दाहालकी ‘बुहारी’ बिना मगरका पूर्वपति शंकर अधिकारी नै काठमाडौं–१० का स्वतन्त्र उम्मेदवार पदम कुँवरको प्रचारको नेतृत्व गरिरहेका छन् ।

अधिकारी नेतृत्वको मोर्चामा माओवादी विद्यार्थी नेता धीरेन्द्र बस्नेत पनि कुँवरको पक्षमा प्रचारमा जुटेका छन् । माओवादीका अन्य थुप्रै कार्यकर्ता कुँवरको पक्षमा प्रचार गरिरहेका भेटिन्छन् । सार्वजनिक कार्यक्रममा दाहाललाई झापड हानेर चर्चामा आएका कुँवर उनीसँगै प्रतिस्पर्धा गर्ने भन्दै काठमाडौं–१० मा उम्मेदवार बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment