डा. विश्वबन्धु शर्मा
डाक्टरलाई जँचाइसकेपछि औषधि खाने बिषयमा सबै बिरामीले सधैँ नबिर्सी सोध्छन्, ‘औषधी केसँग खाने ? तातो कि चिसो पानीसँग खाने ? खाना खाएपछि या खानु अगाडि ?’ त्यसबाहेक एउटा प्रश्न चाहिँ अनिवार्य राख्छन्, ‘के-के कुरामा मुख बार्नुपर्छ ?’ हरेक बिरामीले प्रश्न राखेजस्तै प्रत्येक चिकित्सकले पनि टेप खोलेजस्तै भन्छ, ‘अमिलो, पीरो, चिल्लो, भुटेको र तातो नखानू, रक्सी र चुरोट त छुनै हुँदैन । अमिलो, पीरो, चिल्लोले कसलाई कति हानि गर्छ त्यो त चिकित्सकलाई नै थाहा होला । तर धूमपान र मदिराले निरोगीलाई पनि हानि गर्छ, यो चाहिँ सबैलाई थाहा भएकै कुरा हो । रक्सीको प्रसंग उठाउँदा कहिलेकाहिँ डाक्टर आफैं पनि असजिलोमा पर्ने अवस्था आउँछ ।
३२ वर्षको डाक्टरी जीवनमा मैले कैयौंपटक यस्ता अनुभव आफैं भोगेको छु । एकपटक एक आधुनिक वेशभुषाका युवकलाई पिउने गर्नुहुन्छ कि भनेर सोध्दा स्तम्भित पार्ने जवाफ पाए । ‘तपाईं पनि के प्रश्न गर्नुहुन्छ, आजको जमानामा नपिइकन कतै काम चल्छ र ? बरु कति पिउनु हुन्छ भनेर सोध्नोस् न !’ त्यस्तै अर्का युवकलाई रक्सी नपिउनुहोला भनेपछि उनले प्रतिवाद गरे । ‘तपाईं रक्सी नखानोस् त भन्नुहुन्छ, तर तपाईं डाक्टरहरु पनि मौका परेको बेला बाँकी राख्नुहुन्न । तपाईंलाई याद छैन होला, एक पटक मैले काम गर्ने होटलमा डाक्टरहरुको पार्टी हुँदा तपाईं स्वयंले साथीहरुसँग मज्जाले पिउनु भएको थियो । आफूचाहिँ पाए नछोड्ने, अरुलाई मात्र नपिउनु भन्ने ? नरिसाउनुहोस् है डाक्टर साहेब मैले खाली …।’ उनले संकेत गरेको घटना मलाई याद छ, त्यस दिन मैले अलिकति पिएकै थिएँ । मैले उनलाई गोलमाल र टालटुल जवाफ दिएँ । तर त्यस घटनापश्चात् यो गर्नोस्, यो नगर्नोस् भन्ने कुरामा म होशियार हुन थालेँ ।
एक जना मदिरा दुव्र्यसनी आफ्नो गल्ती पटक्कै स्वीकार्दैनथे । आफूलाई ठीक देखाउन उनी उदाहरण दिन्थे, ‘ठूला बडाका घरमै रक्सी बढी खान्छन् । राष्ट्रपति, मन्त्री जस्ता ठूला पाहुनालाई रक्सीबाटै स्वागत गर्छन् । महान् लेखक र कलाकार दिल खोलेर पिउँछन् । हाम्रा स्वरसम्राट नारायण गोपाल दाइ कति पिउनुहुन्थ्यो या हरिभक्त कटुवालले रक्सीकै नशामा कस्ता-कस्ता कविता पिउनु … माफ गर्नुहोस् लेख्नुहुन्थ्यो ।’ मैले भनेँ, ‘तपाईं पनि त्यस्तै महान् हुन सिर्जना गर्नोस् अनि पिउनु होला । तर आफ्नो कमजोरी लुकाउन आफूले आदर गरेका व्यक्तिको सहारा लिनु त झन् उनीहरुमाथि नै अन्याय र तिरस्कार गर्नु हो ।’
बिरामीहरुका यस्ता तर्क सामना गर्दा मलाई एउटा पुरानो घटना सम्झना हुन्छ । म विद्यार्थी छँदा हाम्रो कलेजमा मदिरा दुव्र्यसनसम्बन्धी सेमिनार भएको थियो । दुव्र्यसनको उपचार र रोकथाम गर्ने विशेषज्ञको भेला थियो । सेमिनारको समापनमा आयोजित रात्रिभोजमा भने रक्सीको राम्रै उपयोग भयो । केही सहभागीले त बढी पिएका कारणले साथीहरुले स्याहार्नु परेको थियो । त्यसबेला मेरो मनमा पनि यस्तै प्रश्न उब्जिएका थिए, जुन बिरामीहरु मलाई सोध्ने गर्छन् ।
मैले धेरै ठाउँमा लागूपदार्थसम्बन्धी चर्चा गर्दा मदिरा र धूमपानलाई कानुनले छूट दिएको दुव्र्यसन भनेर लेखेको छु । सामाजिक, आर्थिक, मनोवैज्ञानिक प्रभावले हेर्ने हो भने यिनै वैधानिक दुव्र्यसनबाट सबभन्दा बढी हानी भएको छ । तथ्याङ्क हेर्ने हो भने विकसित र आधुनिक समाजमा कडा र खतरनाक नशालु पदार्थबाट मर्नेको संख्याभन्दा कानुनी छूट पाएका लागूपदार्थ (चुरोट र रक्सी) बाट मर्नेको संख्या ३० गुणा बढी छ । अमेरिकामा मात्रै प्रत्येक वर्ष सवारी दुर्घटनामा मर्नेमध्ये झण्डै २५ हजार जतिको मृत्यु रक्सीकै कारणले भएको हुन्छ । यस्ता तथ्याङ्क अनगिन्ती छन् । तैपनि मदिरा सेवन बढिरहेको छ र योसँग सम्बन्धित समस्या जटिल बन्दै गएको छ ।
मदिरा सेवनलाई सँधै विशुद्ध दुव्र्यसनको रुपमा मात्र लिनु पनि हुँदैन । मदिरा सेवन मानव सभ्यता शुरू भएदेखि नै प्रचलनमा छ । कतिपय समाजमा यसको प्रयोग धार्मिक र सामाजिक रूपले पनि मान्य छ । नेपालका केही समुदायमा कुखुराको भाले, कुखुराको फुल र मदिरा शुभकार्यमा अनिवार्य छ । विभिन्न धार्मिक शक्तिपीठहरुमा मदिरा पनि चढाइन्छ र त्यहाँको जल या प्रसाद सम्पूर्ण हिन्दूहरुका लागि ग्राह्य मात्र हैन, पवित्र मानिन्छ । प्रायःजसो यहाँ प्रचलित सबै तान्त्रिक विधिहरुमा मदिरा नभई हुँदैन । त्यस्तै क्रिश्चियन धर्मको बाइबलका कथाहरुमा प्रभु येशुले पानीलाई मदिरामा परिणत गरी आफ्नो दैवीशक्ति र चमत्कार देखाएका वर्णन छन् । एक बिशेष भतेरमा आˆनो रगतलाई मदिराको संज्ञा दिएकाले येशुका अनुयायीहरुले पवित्र वस्तुको रुपमा मदिरा सेवन गर्छन् । यसरी धार्मिक र सामाजिक परम्परा सँगै जोडिएर आएको हुनाले आजको समाजमा पनि विविध औपचारिक स्थान र समयमा यसको सेवनले ठाउँ पाएको छ । शायद यिनै ऐतिहासिक, धार्मिक र सामाजिक मान्यताले गर्दा नशालु पदार्थ हुँदाहुँदै पनि मदिराको प्रयोगले वैधानिक छुट पाएको हुनसक्छ ।
हिजोआज बिरामीसँग मदिराबारे चर्चा गर्दा एउटा नयाँ तर्क पनि सुन्न पाइन्छ । थोरै मात्रामा अड्कलेर पिउने गरेमा यसले मुटुरोगीलाई फाइदा गर्छ रे ! रोग लागिसकेकालाई त फाइदा गर्छ भने झन् रोग नै नलागेका निरोगीले पनि थोरै-थोरै सधैँ पिउने गरेमा मुटुको रोग नै लाग्दैन होला ! तर यो तर्कसँगै खतरनाक कुतर्क लुकेको छ । कुनै वस्तुको लाभको चर्चा गर्दा त्यसबाट हुने प्रत्यक्ष,अप्रत्यक्ष हानी र त्यसले उत्पन्न गर्ने खतरासँग जोड-घटाउ गरेर मात्र शुद्ध लाभको मूल्याङ्कन गर्नुपर्छ । उदाहरणका रूपमा हाल प्रचलित दुखाइ कम गर्ने दवाईहरु (Painkiller) भन्दा अफिम या माफिर्या बढी प्रभावकारी, सस्तो र हानिरहित मानिन्छन् । तर, अफिमको सेवनबाट प्रायः छुटाउन नसकिने दुव्र्यसन पैदा गर्ने हुँदा अफिम या माफिर्यालाई अति विशेष स्थितिमा बाहेक दुखाइ कम गर्ने (Painkiller)को रुपमा प्रयोग गरिँदैन । मुटुका रोगीलाई थोरै-थोरै मदिरा पिउने सल्लाह दिँदा मदिराबाट हुने दुव्र्यसनबाट बच्ने उपाय पनि सिकाउनु पर्छ । ‘धेरै चाहिँ नपिउनु होला नि !’ भन्नेबाहेक हामीसँग अरू विकल्प पनि छैन । थोरै मात्रामा मदिरा सेवन गर्दा फाइदा गर्छ भन्नुभन्दा सेवन नै नगर्दा के बेफाइदा गर्छ ? के मदिरा सेवन नगर्नेलाई बढी मुटुको रोग लाग्छ ? यो पनि बुझ्नु जरुरी छ ।
रक्सी नखाँदा कुनै पनि हानी या खतरा पैदा हुँदैन । यसको सेवन गर्नु जरुरी नभएको र सेवन नगर्दा कुनै हानि नगर्ने हुँदा हामीले कतिसम्म खान हुन्छ, कुन-कुन परिकारका मदिरा उत्तम मानिन्छन्, कस्तो समयमा सेवन गर्न ठीक छ, कस्तो स्थितिमा सुरक्षित सेवन मानिन्छ जस्ता प्रश्न अनावश्यक र भ्रम सिर्जना गर्ने खालका हुनाले मदिरा सेवनको यो पक्षलाई यहीँ टुंग्याउनु उचित हुनेछ ।
मदिरा सेवनबारे जनमानसमा केही भ्रम विद्यमान छन् । रक्सी पिएको बेलामा मन आँटिलो हुने, फूर्ति आउने, गाह्रो काम गर्न जोश-हिम्मत बढ्ने आदि । रक्सीले मान्छेको मस्तिष्कलाई धुमिल्याउने, सतर्कता, होशियारी र खतराको महसूसलाई कमजोर पारिदिने हुनाले आफू आँटिलो भएको अनुभव हुन्छ । खाल्टैखाल्टा भएको जमीनमा हिँड्दा खाल्टामा परिन्छ कि भनेर हामी सतर्क हुन्छौं । तर वर्षपछि छिपछिपे पानीले त्यही जमीन ढाक्यो भने खाल्टा देखिँदैनन्, सबै समतल देखिन्छ । त्यस्तो अवस्थामा आँटिलो भएर हिँड्दैमा खाल्टामा परिने खतरा टर्दैन । त्यस्तै मदिरा सेवन गरेको बेलामा आउने, आँट, जोश पनि देखावटी मात्रै हो ,यसले झन् ठूलो खतरा निम्त्याउन सक्छ ।
धेरै थाकेको बेलामा रक्सीले आराम दिन्छ र थकाइ मेटाउँछ भन्ने अर्को एउटा प्रचलित भ्रम छ । तर कहिलेकाहिँ मात्र पिउँनेलाई अलिकति पिएर सुतेको भोलिपल्ट शरीरमा आराम र फूर्तिको सट्टा भारीपन, टाउको दुख्ने, वाकवाक लाग्ने, शरीर दुख्ने जस्ता अनुभव भएको राम्ररी थाहा हुनुपर्छ । शरीरमा प्रवेश गरेको रक्सी पचाउनु पर्दैन, यो सोझै शरीरका हरेक अंगमा पुग्छ । यसलाई बाहिर फाल्नु अगाडि शरीरले यसलाई अरु रासायनिक वस्तुमा परिणत गर्छ । त्यसरी पैदा हुने ‘एसिटाइल डिहाइड्रेड’ भन्ने तत्व विषालु मानिन्छ । यसका कारण टाउको दुख्ने, उल्टी आउन खोज्ने र मांशपेशी दुख्ने हुन्छ । कतिपयमा रक्सीले यौनशक्ति बढाउँछ भन्ने गलत धारणा पनि पाइन्छ । रक्सी लागेको बेला यसले शारीरिक र मानसिक क्रियालाई दबाउँछ । त्यसरी दबिने क्रममा सबैभन्दा संवेदनशील मानसिक क्रिया-आत्ममूल्याङ्कन, सतर्कता र संयम पनि दबिन्छन् । नियन्त्रित अवस्थामा रहेका उत्तेजना आक्रामक स्वभाव, उत्ताउलोपन माथि आउँछन् । व्यक्तिले लाज, डर र खतरा महसूस गर्दैन । ऊ उत्ताउलो र नकच्चरो बन्छ । अरु बेला हिम्मत नगरेका काम अरुलाई जिस्क्याउने, पिछा गर्ने, हात हाल्ने गर्छ । तर आफूलाई लाज शरमको अनुभव नहुँदैमा लज्जास्पद बोली या काम अरुलाई सामान्य हुन सक्दैन । रक्सीले छोडेपछि सबै लाज-शरम आफैंलाई दोब्बर अनुभव हुन्छ र झन् शिर निहुर्याउन वाध्य हुनुपर्छ । जहाँसम्म यौनशक्तिको कुरा छ, मदिरा सेवनले त्यसलाई झन् कमजोर बनाउँछ । जवान स्वस्थ व्यक्तिको शक्ति कमजोर भएको छ भने त्यसका मुख्य कारण मानसिक तनाव, मधुमेह र मदिराको दुव्र्यसन हुन सक्छन् । औषधि उपचार गर्दा प्रयोग हुने केही दवाइले पनि यौनशक्ति क्षीण पार्छन् । तनाव र औषधिले गरेको कमजोरी अस्थायी हुन्छ र रोग निको भएपछि आफैं हटेर जान्छ । तर मधुमेह र रक्सीबाट हुने यौन दुर्बलता झण्डै स्थायी हुन्छ । आफू कमजोर भएको कारणले नै जँड्याहाहरु आˆनी पत्नीलाई ‘मबाट नपाएको सन्तुष्टि अरुसँग लागेर लिने गरेकी हुनुपर्छ’ भन्ने शंकाले ग्रस्त हुन्छन् ।
रक्सी पिएपछि त्यसले पेट पोल्छ । आमाशयको भित्री भाग जलाउँछ, पाचन रसको मात्रा घटाइदिन्छ र सुख्खा पेटमा अजीर्ण गराउँछ । तर कतिपय व्यक्ति रक्सीले पचाउँछ, हजम गर्छ र रक्सी खाएको बेला जति खाएपनि हुन्छ भन्ने ठान्छन् । मदिरा दुव्र्यसनीलाई डाक्टरकहाँ लैजाँदा बुज्रुक व्यक्तिहरु पनि साथमै आउँछन् । मदिरा सेवनकर्ता दुव्र्यसनको चरणमा पुगेपछि खाना पचाउन छाड्छ, भोक लाग्दैन, दैनिक आहारा कम हुन्छ र रक्सी मात्र पिउँछ । त्यसैलाई इंगित गर्दै बुज्रुकहरु भन्छन्, ‘पिउन पनि त जान्नुपर्छ, त्यसरी बोतलका बोतल धोकेपछि कहाँ हुन्छ त ! हामी पनि टन्न पिउँछौं । २-४ क्वाटर पिउँदा १-२ किलो मासु पनि सिध्याइन्छ । रक्सीले त्यही मासु पचाउँछ, जीउ पनि बचाउँछ ।’ तर रक्सी मात्रै खानेको चाहिँ शरीरकै मासु पचिरहेको हुन्छ । तर, विचरा बुज्रुकहरू यसरी २-४ क्वाटरको दरले पिउँदै जाँदा आˆनो गन्तव्य पनि त्यही ‘बिना मासुको रक्सी’ मा पुग्छ भन्ने बुझ्दैनन् । बिरामी पनि यस्ता कुरा सुनेपछि पसीना र कम्पन सहितको हातले इशारा गर्दै दयनीय स्वरले थप्छन्, ‘ पहिला त म पनि त्यसै भन्थेँ, २-३ प्लेट ममचा र भुटन एकै बसाइमा रित्याउँथें । अब त एक गाँस भात पनि पच्दैन ।’
केही समय अगाडि एक जना स्वास्थ्यकर्मीलाई नै मदिराको लतबाट छुटाउनु पर्यो । मैले उनीसँग कसरी त्यस्तो अवस्था आयो भनेर सोधेँ । उनले लामो जवाफ एक सासमा दिँदै भने, ‘जागिरमा राजनीति लाग्यो । आफ्नै मेडिकल हल र क्लिनिक छोडेर जागिर जोगाउन कर्णालीका हेल्थपोस्टमा जानुपर्यो । केही काम थिएन, जाडो धेरै, सबैले पिउने । फेरि परिवार छोडेर एक्लै बस्नुपर्ने अवस्था । जाडो भगाउन पिउँदा-पिउँदा लत नै बस्यो । पछि सरुवा भएर घर आउँदा रक्सी नभइ नहुने भइएछ । ‘
बुझ्नुपर्ने कुरा के हो भने रक्सीले कहिल्यै जाडो कम गर्दैन । जाडो हुँदा छालामा काँढा उमि्रएको हामी सबैले अनुभव गरेकै कुरा हो । छालाका मसिना रक्तनली साँगुरिने भएकाले शरीरको रगतमा भएको तापक्रम छालाबाट चिसो हावामा बाहिर बग्दैन र केही हदसम्म शरीरलाई चिसो लाग्नबाट बचाउँछ । तर, रक्सी खाँदा उल्टै छालाका नली फुकाइदिन्छ, शरीरको तातो रगत बढी मात्रामा छालामा आउँछ, चिसो हावासँग सम्पर्क गर्छ र बढी ताप नष्ट हुन्छ । शरीरले तातोपन गुमाएकोले चिसो घुस्छ । तर बढी तातो रगत छालामा खेल्ने हुनाले न्यानोपनको गलत भ्रम उत्पन्न हुन्छ । ठण्डी लागेको बेला घाँटी या गला दुखेमा रक्सी सेवनबाट कम हुँदैन बरु उल्टो बढ्न सक्छ । रक्सीले चिसोबाट कदापि बचाउँदैन ।
रक्सीबारे यस्ता अनगिन्ती भ्रम छन् । अर्थात् प्रायःजसो सबै जनविश्वास भ्रमपूर्ण नै छन् । बिरलै अवस्थामा मदिराको प्रयोग उपयोगी हुन सक्छ । तर सम्बन्धित विज्ञले निश्चित उद्देश्यका लागि त्यस्तो प्रयोग गर्ने स्वीकृति दिएमा मात्र पिउन मिल्छ । सामान्य दैनिक जीवनमा रक्सी कुनै पनि दृष्टिकोणले लाभदायक छैन, यो सधैं हानिकारक मानिन्छ । तर, रहस्यमय के छ भने मदिरा यस्तो वस्तु हो, जसले कवि, लेखक, कलाकारदेखि राजनीतिज्ञलगायत असंख्य सर्वसाधारणलाई युगौंदेखि आफ्नो वशमा लिएर नष्ट पारेको छ । अझ कति व्यक्ति र परिवारलाई यसले बगाउँछ त्यो अहिले समयकै गर्भमा छ ।
मदिराले गर्ने आर्थिक, सामाजिक, व्यावसायिक, नैतिक जस्ता बृहत् क्षेत्रका हानिका अतिरिक्त व्यक्तिविशेषमा पार्ने प्रत्यक्ष प्रतिकुल असर अझ भयावह हुन्छन् । समग्रमा भन्नुपर्दा रक्सीले व्यक्तिको शरीर र मन दुवैलाई नष्ट पार्दै लैजान्छ । रक्सी लागेको व्यक्ति नदेख्ने शायद कमै होलान् । रक्सी शरीरमा प्रवेश गरेपछि पिउने बानी नपरेका व्यक्तिलाई पनि नशा लाग्छ । त्यसले सर्वप्रथम सोचाइ, मन र भावना उल्टोपाल्टो पार्छ । मात्रा बढी भयो भने आˆनो बोली र व्यवहारको नियन्त्रण हुँदैन । रुने, हाँस्ने, गाली गर्ने, अप्रासंगिक कुरा गर्ने, बोली लर्बराउने, हिँड्दा लरखरिने, आँखा लठ्ठनिे, बान्ता गर्ने, जहिँतहीँ लडिदिने र रक्सीको नशाले छोडेपछि टाउको दुख्ने, जीउ दुख्ने, भोक नलाग्ने, थकाइ लाग्ने जस्ता असरलाई प्रत्यक्ष असर मान्न सकिन्छ । यस्ता असर शरीरबाट केही समयपश्चात् आफैं हट्छन् । तर, लगातार धेरै वर्षको सेवनपश्चात् व्यक्ति दुव्र्यसनी बनेपछि उसमा स्थायी असर पर्छ । यस्ता असरलाई शारीरिक र मानसिक गरी दुई समूहमा बाँड्न सकिन्छ । शारीरिक असरमध्ये रक्सीले पेटको भित्री पत्र कमजोर पार्दै लैजान्छ र पाचनका लागि चाहिने तरल पदार्थ पैदा हुन छाड्छ । कालान्तरमा आमाशयमा परिवर्तन भइसकेपछि एक प्रकारको दीर्घरोग ‘ग्यासट्राइटिस’ लाग्दछ यो रोगले भोक हराउँछ र खाए पनि पच्दैन । खाद्य वस्तुको कमी र नपच्ने हुनाले शरीरलाई चाहिने आवश्यक तत्वहरुको कमी हुन्छ । शरीरभित्र पैदा हुने भिटामिनको कमी हुन्छ । आन्द्राको सोस्ने शक्ति कम हुनाले खानामा पाइने भिटामिन पनि सोस्दैन । परिणामस्वरुप विभिन्न भिटामिनको अभावमा लाग्ने रोगहरु देखा पर्छन् । त्यसपछि भिटामिन बी-१ को अभावमा हुने नशाहरुको कमजोरी (Alchoholic Polyneuritis) गराउने हुन्छ । त्यस्तै रक्सीले सबभन्दा बढी क्षय पुर्याउने अंग कलेजो हो । राम्रो स्वास्थ्यका लागि कलेजोको बहुआयामिक भूमिका छ । खाना पचाउने, शक्ति सञ्चय गर्ने, फोहोर तर्काउने, विषादि नष्ट पार्ने, रगत छान्ने जस्ता अनगन्ती काम यसले गर्छ । रक्सीले कलेजोका तन्तु (Cells) लाई प्रत्यक्ष रुपमा नष्ट पार्छ । मदिरा दुव्र्यसनीको कलेजो फुलेको हुन्छ र यसको भित्री बनावट खल्बलिएको हुन्छ । कलेजोले काम गर्न छोडेपछि विविध समस्यासहित पेटमा पानी जम्मा हुन्छ । नाइटो वरिपरि छालाका नसा फुल्छन् र खोक्दा रगत बान्ता हुन्छ । रक्सीले शरीरमा गर्ने असर कलेजोमा मात्र सीमित हुँदैन । मस्तिष्कका प्रत्येक भाग रक्सीबाट प्रभावित हुन्छन् । मस्तिष्क प्रभावित हुने र त्यसको कारणले मन, सोचाइमा नौलानौला अनुभूति हुने हुनाले नै यसप्रति दुव्र्यसन बस्ने खतरा भएको हो । कलेजोलाई प्रभावित पारेजस्तै मस्तिष्कमा असर गर्न थालेपछि त्यो पनि छियाछिया हुन्छ । कुनै भाग सुक्छ, कुनै भाग फुल्छ र गिदीको बनावट स्थायी रुपले बदलिन्छ । यसलाई अल्कोहोलिक इन्फालोपाथी (Alcoholic enphalopathy) भनिन्छ । गिदी यस्तो अवस्थामा पुगेपछि मस्तिष्कका प्रायः सबै क्रिया बिग्रिन्छन् । योअवस्थामा स्मरण शक्ति पूरै गुम्ने, सोच्न नसक्ने, पागलपनजस्तै कुरा गर्ने हुन्छ । मदिराबाट पैदा हुने यस्तो गम्भीर रोगलाई कोर्साकोफ्स साइकोसिस (Korsakoffs Psychosis) भनिन्छ । यसरी गिदी प्रभावित भएका दुव्र्यसनीमा छारेरोगको लक्षण पनि देखापर्छ । यिनीहरू बेलाबेला बेहोश भएर पल्टिन्छन् । कलेजो र मस्तिष्क मात्र हैन, मुटु, फोक्सो, छाला, मृगौला जस्ता शरीरका अरु महत्वपूर्ण अंग पनि रक्सीबाट त्यत्तिकै रुपमा नष्ट हुँदै जान्छन् । मदिरा दुव्र्यसनीको मुटु अरुको भन्दा दुई गुणा फुल्छ र काम गर्न सक्दैनन् । समग्रमा रक्सीले क्रमशः मानिसको मुटु, कलेजो खाँदै हाड, छाला भएर नङ-मासुसमेत बाँकी राख्दैन । रक्सीको शारीरिक असरभन्दा पनि मानसिक प्रभाव झन् डरलाग्दो हुन्छ । शारीरिक विनाश अलिपछि र विस्तारै बढ्दै जान्छ भने मानसिक क्षय दुव्र्यसनको पहिलो चरणबाटै शुरू हुन्छ । पिउने मान्छे बिहान उठेदेखि नै जहाँ जे गरिरहँदा र जोसँग हुँदा पनि मनले रक्सी पिउने क्षण ने आतुरताका साथ पर्खिरहन्छ । अर्थात् व्यक्तिको सम्पूर्ण क्रियाकलाप पिउने उद्देश्यप्रति लक्षित हुन्छ । प्रष्टै छ, यस्तो अवस्थामा त्यो व्यक्तिको जीवनमा रक्सी र रक्सी प्राप्त गर्ने माध्यमले प्राथमिकता पाउँछ । जीवनका अरू पक्षहरु पेशा, कमाइ, परिवार, इज्जत, स्वास्थ्य, मनोरञ्जन, सेवा सबै गौण हुन्छन् । सम्पूर्ण मूल्यको ठाउँ रक्सीको स्वाद र त्यसको नशाले लिन्छ । रक्सीको दुव्र्यसनी काँतर, असभ्य र नकच्चरो बन्छ । रक्सीको दुव्र्यसन भइसकेपछि त्यस्ता व्यक्तिको न बोलीको विश्वास हुन्छ, न कामको जिम्मेवारी नै । क्रमशः व्यक्ति सामाजिक, वैचारिक नैतिक रुपले गिर्दै जान्छ । दुव्र्यसन अत्यधिक बढ्न थालेपछि मानसिक रोग शुरू हुन्छ । साँझ पर्न थालेपछि तर्सने, धम्कीका स्वर सुन्ने, भित्तामा नांगा चित्र देख्ने, सर्प, कुकुर, बिराला, नांगा स्त्री देखिने, बिछ्यौना र शरीरभरि कीरा फट्याङ्ग्रा, रौंका गुजुल्टा सल्बलाउने, एक अंगुल अग्ला मानिसको भीड देख्ने हुन्छ । कसैले हतियार लिएर आफूमाथि आएको देखेर भाग्ने, लुक्ने, झ्यालबाट फाल हाल्ने घटना हुन्छन् । आफूलाई मार्न आएको ठानेर परिवारकै सदस्यमाथि घातक प्रहार गर्ने जस्ता अपि्रय घटना पनि हुन सक्छन् । शारीरिक रुपमा क्षीण भैसकेको हुनाले न्यूमोनिया, ज्वरो, झाडा-पखाला शुरू भई झन् नाजुक अवस्था हुन्छ ।
मदिराको दुव्र्यसनी बन्न रक्सीको स्वाद चाखेको दिनदेखि क्रमशः विभिन्न चरण पार गर्दै जानुपर्छ । एकैचोटि कोही पनि जँड्याहा बन्दैन । रक्सीको मात्रा, गुणस्तर, पिउने तरिका, आफ्नो उमेर, शारीरिक स्वास्थ्य, स्वभाव जस्ता विविध कारक तत्वहरुले दुव्र्यसनी बन्ने समय र दुव्र्यसनको गहिराइ निर्धारण गर्छ । प्रत्येक दुव्र्यसनले शून्य चरणबाट आˆनो पतनको यात्रा शुरू गर्छ । शून्य चरण भनेको यस्तो अवस्था हो, जब व्यक्तिमा रक्सीप्रति कुनै आकर्षण हुँदैन र रक्सीको स्वादको पनि ज्ञान हुँदैन । रक्सी पिएको व्यक्ति वरिपरी हुँदा अपि्रय लाग्ने र अरूले रमाएर पिएको देख्दा घृणा लाग्ने हुन्छ । रक्सी विक्री हुने पसल, सेवन गर्ने रमाइला र झकिझकाउ महँगा भट्टीहरुले कुनै आकर्षण पैदा गराउँदैनन् । हुन त आजको जमाना रक्सी नै नचाखेका त्यस्ता व्यक्ति फेला पार्न कठिन होला तर हामी सबै यो चरणबाट अवश्य गुज्रेका हुन्छौं । चाहे बाल्यकालमै किन नहोस् । रक्सी र यसको सेवनबाट हुने घातक असरबारे बढीभन्दा बढी जानकारी गराई सचेत पार्ने अवस्था पनि सायद यही हो ।
तर, समाज र वातावरणको प्रभावले अनि आफ्नो आन्तरिक कारणले व्यक्ति चाँडै अर्को अवस्था या पहिलो चरणमा प्रवेश गर्दछ । यो अवस्थाकोे व्यक्तिलाई सोसल ड्रिंकर (Social drinker) भन्ने पनि चलन छ । पिउने उपयुक्त वातावरण र जमघटमा सीमित मात्रामा सचेत भएर मात्र यस्तो व्यक्तिले पिउँछ । हल्का रुपले मदिराका पेय पदार्थबाट आनन्द महसूस गरे पनि यिनीहरु रक्सी पिउने ठाउँ र रक्सीको खोजी गर्दै हिँड्दैनन् । यिनका जीवनमा मनोरञ्जनका लागि अरु थुप्रै साधन बाँकी हुन्छन् । खाली समय बिताउन मदिराकै शरणमा जानु पर्दैन । आनन्द लिने उद्देश्यले एक्लै बसेर पिउन रुचाउँदैनन् र आफ्ना लागि मदिरा खरिद गर्न चाहँदैनन् । विकसित आधुनिक समाजको जनसंख्यामा पाइने २० प्रतिशत मदिरा सेवन गर्नेमध्ये १५ प्रतिशत यही श्रेणीमा पर्दछन् । यो अवस्थामा व्यक्तिले आफ्नो पिउने सीमा र रक्सीको असरबारे सचेत हुनाले दुव्र्यसनी मानिँदैनन् । अपवादका रुपमा कुनै दिन थोरै बढी पिएमा धेरै दिनसम्म यिनीहरुमा शारीरिक खराबी रहन्छ र रक्सीप्रति वितृष्णा पैदा भएको हुन्छ । फेरि अर्को मात्रा लिन धेरै दिन कुर्नुपर्छ ।
तर, यो पहिलो चरणको सेवनबाट दोस्रो चरणको मदिरा सेवनमा प्रवेश गर्ने खतरा ठूलो हुन्छ । दोस्रो चरण भनेको पिउँदा आनन्द लाग्ने र नियमित मदिरा सेवनको चरण हो । हुन त यस्तालाई अझै दुव्र्यसनी भन्न मिल्दैन किनकि दुव्र्यसनमा हुनुपर्ने प्रमुख लक्षण अझै देखा परेको हुँदैन । यो अवस्थामा सेवनकर्तालाई रक्सी नखाइ नहुने वाध्यता हुँदैन । तर, प्रायः ऊ रक्सी खान पाउने ठाउँ र मौका छोप्छ । अरु कतिपय दैनिक गौण कामलाई भन्दा ककटेल पार्टी, जन्मदिनको भोज या कसैको निम्तामा पिउने ठाउँ जान मन गर्छ । कुलत लागी नसकेको भएपनि यो अवस्थाका व्यक्तिलाई आˆनो सीमा र कतिसम्म खानुहुन्छ भन्ने सतर्कता हुँदैन । रक्सीको नशाले आनन्द दिने हुँदा त्यो कहिलेकाहिँ आनन्दको अनुभूति अझ तीव्र पार्न, झन् बढी आनन्दित हुन मात्रा बढाउँदै लैजान्छ । तर आनन्दको अनुभूति बढ्नुको सट्टा मदिराको मात्रा धेरै भइसकेकोले उल्टो अर्ध-बेहोशी हुनसक्छ । यिनीहरु नियमित प्रत्येक दिन पिउने नभए पनि मौका पर्दा राम्रैसँग पिउँछन् र कहिलेकाहिँ साथी-भाइले घर पुर्याइदिनु पर्छ । सवारी दुर्घटना हुने, घरमा झगडा, मारपिट हुने, स्वास्नीसँग सम्बन्ध विच्छेद हुने अवस्था यही हो । यो अवस्थामा खतराको महसूस भएन भने केही समयपश्चात् स्वतः व्यक्ति तेस्रो चरणमा अथवा दुव्र्यसनमा प्रवेश गर्छ । दुव्र्यसन भनेको रक्सी नभई नहुने, नशा लाग्न मदिराको मात्रा थप्दै जानुपर्ने, खान बन्द गर्दा अप्रिय, पीडादायक नयाँ रोग (With-drawal) देखापर्नु हो । हुन त यो दुव्र्यसन पनि शुरू-शुरूमा हल्का र पछि गम्भीर हुँदै जाने हुनाले विभिन्न अवस्थामा बाँड्न सकिन्छ । शुरूको अवस्था (With-drawal) मा निद्रा नलाग्ने, टाउको दुख्ने, हात काँप्ने, पसीना आउने, चिड्चिडाहट मात्र हुनसक्छ । दुव्र्यसन गम्भीर भएको अवस्थामा हुने विथड्रल अवस्थामा पागल जस्तो हुने, नभएका कुरा देख्ने र सुन्ने, उत्तेजित र आक्रामक हुने, बरबराउने, छारे रोग जस्तै मूच्र्छा पर्ने हुन्छ । तर, यी विभिन्न अवस्थामा दुव्र्यसन र कुलतको गहिराइ मात्र फरक हुन्छ, गुणात्मक रुपले एउटै चरण मानिन्छ ।
आखिर आफ्नै आफन्त, साथीभाइ र छिमेकीमा दुर्दशा देखेपछि पनि मानिस किन मदिरातिर आकषिर्त हुन्छ ? यो रहस्यमय झोलको महिमा बुझ्न शायद भूपिका कविता, नारायण गोपालका गीत र प्रसिद्ध गजलकारहरुका गजलहरु पनि पर्याप्त नहोलान् । बत्तीले पुतलीलाई आकर्षण गर्दै पोल्दै गरे झैं भट्टी अर्थात् ‘मयखाना’ ले अनगिन्ती महापुरुषलाई आफैंभित्र पचाएको छ । नोबेल पुरस्कार पाउने प्रथम छ जना अमेरिकी साहित्यकारमध्ये ५ जना रक्सीको कुलतमा थिए । त्यसैले मानिस किन मदिरा दुव्र्यसनी बन्छ भन्ने प्रश्नको जवाफ दिन सजिलो छैन । व्यक्तिको आन्तरिक अन्तरद्वन्द्व, जटिल प्रश्न, व्यक्ति र समूहको विरोधाभास, मूल्य र मान्यताको ह्रास, जीवन-दर्शनको संकट जस्ता गहिरा र अफ्टेरा ब्याख्या एकासतिर होलान् । तर यिनलाई पन्छाएर सरल शब्दमा भन्नुपर्दा रक्सीको दुव्र्यसनका पछाडि तीन प्रमुख कारण छन । पहिलो, नशा दिने वस्तु खुद मदिरा र त्यसको सम्भाव्यता । त्यसपछि यसको बेचबिखन र प्रचुर मात्राको प्रयोग । यसले मानिसले सहज र सामान्य वस्तुको रुपमा लिनेबानी पर्छ । बुद्धि-विवेकले नराम्रो ठानेपनि निरन्तर यसको सेवन भइरहेको देखिरहँदा र प्रभावकारी विज्ञापन हेर्दा मानिसको अर्धचेतन मनमा सहजताको भावना पैदा हुन्छ । अर्को चाहिँ मानिस आˆनो जीवनमा तीता-मीठा अनुभवबाट गुज्रँदा उसको मनमा चिन्ता, पीर, रिस, डर, बेचैनी जस्ता भावना पैदा हुन्छन् र रक्सी सेवन गर्न तयार हुन्छ । यसरी संवेदनशील मनस्थितिको व्यक्ति, नशा दिएर मन भुलाइ दिने मदिरा सेवन गर्दा खासै फरक पर्दैन भन्ने परिवेश । यी तीन तत्वको संयोगमा रक्सीको सेवन हुन्छ र शायद यी तीनै कारक तत्वले त्यो सेवनलाई निरन्तरता दिइन्छ । यसरी मदिराको दुव्र्यसन शुरू हुन्छ । मानिसको दिनचर्या बदलिँदै जान्छ । ऊ दुव्र्यसनी बन्छ र जीवनको नाश हुन्छ ।
मदिराको सेवनसँग धेरै सामाजिक, आर्थिक, मानसिक समस्या गँासिएका छन् । ती सबको यहाँ चर्चा गर्न सम्भव छैन तर केही महत्वपूर्ण कुरा भने स्मरण गर्नैपर्छ ।
मदिरा र मानसिक रोग : रक्सी धेरै पिएर दुव्र्यसनी बनेपछि यसैबाट मानसिक रोग- साइकोसिस हुन सक्छ । तर मानसिक रोगबाट पीडित भएपछि पनि व्यक्ति मदिराको शरणमा पुग्छ । यसको कारण स्पष्टै छ । मानसिक रोग भनेको मनको पीडा, चिन्ता, पीर, डर, शंका या अत्यधिक हर्ष आदिले भरिएको मन हो । यस्तो अवस्थामा पिएर मन भुलाउने इच्छा लाग्छ । विशेष गरी डिप्रेशन र न्यूरोसिसका बिरामी यो कुलतमा फस्ने डर बढी हुन्छ । यसरी मानसिक रोगमाथि मदिराको कुलत थपिएपछि मानसिक रोग जटिल बन्दछ, मदिरा दुव्र्यसन अटूट हुन्छ । साइकोसिस (विक्षिप्त पागलपन) मा रक्सी पिएपछि बिरामी झन् आक्रामक, उत्तेजित र असहिष्णु बन्छ । न्यूरोसिसमा रक्सीको नशाले डर, बेचैनी केहीबेर हल्का भए पनि रोग झन् गहिरिँदै जान्छ । छारे रोगमा रक्सी पिउन थालेपछि रोग कहिल्यै निको हुँदैन र स्वभावमा विकृति देखिन थाल्छन् । डिप्रेशन र मदिराको विशेष सम्बन्ध छ । रक्सीको नशाले डिप्रेशनका कष्टदायक विचार र भावना केही हल्का महसूस हुन्छन् अनि डिप्रेशनको असहृय पीडाबाट मुक्ति पाउन यस्ता रोगीले निरन्तर रक्सी सेवन गर्छन् । केही समयपश्चात् उनीहरू मदिरा दुव्र्यसनी बन्छन् । ठूलाठूला कवि, लेखक, कलाकार र वैज्ञानिक अक्सर डिप्रेशनबाट पीडित हुने हुँदा त्यही पीडालाई शान्त पार्न खोज्दा खोज्दै मदिरा दुव्र्यसनी बन्छन् र रक्सीको सेवनले भित्रको डिप्रेशनमाथि पूरै पर्दा हाली छोपिदिन्छ ।
मानसिक रोग र मदिराको सम्बन्ध यतिमा अन्त्य हुँदैन । मदिरा सेवन गर्ने मानसिक रोगीलाई उपचार गर्न धेरै गाह्रो हुन्छ र निको पार्न झण्डै असम्भव हुन्छ । त्यस बाहेक मानसिक रोगका औषधिले मदिरासँग सोझैं ‘रियाक्सन’ गर्छन् ।
मदिरा र अपराध : यसबारे यहाँ धेरै भनिरहनु जरुरत छैन । अन्यत्र धेरै लेखिएको छ, छापिएको छ र समाजमा प्रत्येकले यो सम्बन्धका नमुना देखेका छन् । खाली यो जटिल सामाजिक समस्या स्मरण गराउन मात्र यहाँ उल्लेख गरिएको हो ।
मदिरा र सवारी साधन : शायद यो समस्याबारे हामी सबै विदितै छौं र कतिपय त पीडित पनि भइसकेका छौं होला । नेपालमा मदिरा सेवन गरेर सवारी चलाउनुलाई हल्का रुपमा लिए जस्तो देखिन्छ । आफू चढेका बसका चालकले बिसौनीमा आफ्नै आँखा अगाडि रक्सी पिउँदा हामी चूप लाग्छौं । राजमार्गका भट्टीहरुमा अहोरात्र रक्सी सेवन भैरहेको हुन्छ । तीमध्ये को यात्रु, को चालक कसैलाई वास्ता छैन । साँझ ९ बजेतिर दरबारमार्ग या टुँडिखेलतिर निस्कँदा फुटपाथमा हिँड्न पनि होशियार हुनुपर्छ । पछाडिबाट आएको गाडीले दायाँ पेटीबाट बायाँ पेटी, बायाँ पेटीबाट दायाँ गरिरहेको हुन्छ । पूरै सडकले पनि उसलाई पुगेको हुँदैन । तर हालै सुरु भएको ‘मापसे’अभियानको परिणाम हेर्न चाहिँ बाँकी नै छ ।
मदिरा र औषधि सेवन : कहिलेकाहिँ रक्सीका शौखिनहरु मजाक गर्छन् । ‘डाक्टर थोरै-थोरै रक्सी त औषधी हैन र ?’ डाक्टरी झोल, टनिक अझ आयुर्वेदिक र होमियोप्याथिक औषधिमा रक्सी मिसाइन्छ भन्ने धारणा पनि जनमानसमा पाइन्छ । तर, सत्य के हो भने रोगको उपचार गर्ने कुनै औषधीमा पनि रक्सी मिसाइएको हुँदैन । कुनै-कुनै रासायनिक वस्तु पानीको सट्टा स्पिरिटमा मात्र घोलिन्छन् । तत्कालै तयार पारेर थोपा-थोपा गरी सेवन गर्ने औषधि अल्कोहलमा घोलिने रहेछन् भने त्यसरी तयार पारिन्थ्यो । थोपा गनेर सेवन गर्ने हुनाले त्यहाँ स्पिरिटको कुनै भूमिका हुँदैनथ्यो । आज डाक्टरी औषधी मात्र हैन, सबै खाले दवाई र बुटीहरु अत्याधुनिक चक्की र क्याप्सुलमा तयार पारिन्छन् । यिनलाई स्पिरिटमा घोल्नु जरुरत पर्दैन । कुनैकुनै टनिक र भोक बढाउने औषधिमा केही रक्सीको मात्रा मिसाइने भएपनि उपचारमा त्यसको कुनै भूमिका हुँदैन ।
तर, अधिकांश रोगका औषधि सेवन गरेको बेला मदिरा पिउँदा रियाक्सन गर्छ र अप्रत्याशित परिणाम निस्कन सक्छ । त्यसैले कुनै रोगका लागि औषधि सेवन भैरहेको छ भने नगण्य रुपमा पनि मदिरा पिउन हुँदैन ।
मदिरा सेवनका विविध पक्षहरुको चर्चा गर्दा मदिरा दुव्र्यसनको उपचारको बारेमा पनि केही भन्नु पर्ने हो । तर, यो समस्याका विविध पक्ष र दुव्र्यसनको विश्लेषण गर्दा यसको उपचार सर्वप्रथम सहज छैन । तिनकोउपचार बहुआयामिक हुनुपर्छ र निरन्तर र अटूट रुपले सञ्चालित हुनुपर्छ । दुव्र्यसनीले मदिराको लत छोडेपछि पनि उसको उपचार चलिरहन्छ । उपचार कस्तो, कसरी र कहाँ गर्ने भन्ने कुरा व्यक्ति-व्यक्तिको समस्यामा निर्भर गर्छ ।
अन्त्यमा मदिराको वास्तविक खतरा र यसभित्र लुकेको मोहिनी भ्रमलाई मनन गरेर होशियारीसाथ मात्र यसको सीमित संगत गरौं । मदिरा सेवनको बाटो एकतर्फी बाटो हो, यसमा दोहोरो सवारीको कुनै ठाउँ छैन ।
(डा. शर्माको हालै बजारमा आएको पुस्तक ‘मानसिक स्वास्थ्यका विविध आयाम’ बाट । सांगि्रला बुक्सले बजारमा ल्याएको यसको मल्य रु १९५ छ ।)
प्रतिक्रिया 4