२२ मंसिर, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता नेता माधवकुमार नेपाल नेतृत्वको मन्त्रिमण्डलमा सामान्य प्रशासनमन्त्री बन्नुभएका तत्कालीन एमाले पोलिटब्यूरो सदस्य रवीन्द्र श्रेष्ठ केही वर्षयता सार्वजनिक सञ्चार माध्यममा देखिनुहुन्न । यद्यपि मन्त्रिनिवासबाट बाहिरिना साथ ‘भागी विवाह’ गर्नुभएका श्रेष्ठ एकजना कुशल राजनीतिक विश्लेषक हुनुहुन्छ ।
माओवादीका पूर्वपोलिटब्यूरो सदस्यसमेत रहनुभएका श्रेष्ठले चर्चित चुनवाङ बैठकपछि मणि थापासँगै पार्टीबाट विद्रोह गर्नुभएको थियो । पछि मणि थापालाई पनि छाडेर एमालेमा प्रवेश गरेपछि एमालेले श्रेष्ठलाई पोलिटब्यूरो सदस्यका साथै मन्त्रीसमेत बनाएर एमालेले उच्च सम्मान दिएको थियो ।
शनिबार बिहान उनै पूर्वमन्त्री श्रेष्ठसँग अनलाइनखबरले अहिलेको चुनावी परिणाम, एमाओवादीको हार, वैद्य माओवादीको स्थिति एवं आगामी दिनमा नेपाली राजनीति कतातिर जाला भनेर प्रश्न गर्दा उहाँले द्वन्द्वको बिऊ अझै पनि बाँकी रहेको र त्यो बिऊ वैद्य माओवादीका सचिव नेत्रविक्रम चन्द (विप्लव)सँग रहेको बताउनुभयो ।
वर्तमान समसामयिक राजनीतिबारे पूर्वमन्त्री श्रेष्ठका टिप्स यस्ता छन्-
- खिलराज रेग्मीले मलाई बोलाएर आग्रह गरेपछि मैले चुनाव अघि वैद्यपक्षलाई पनि संविधानसभाको प्रक्रियामा ल्याउन प्रयत्न गरें । तर, अन्तिममा उहाँहरु यो प्रक्रियाबाट छुट्नुभयो । वैद्य माओवादीलाई यसरी बाहिर राख्न हुँदैनथ्यो, ठूलो गल्ती भएको छ । अब फेरि मुलुक द्वन्द्वतिर जाने सम्भावना जीवितै देखिन्छ र अब त्यसको नेतृत्व अरु कसैले गर्दैन, विप्लवको नेतृत्वमा रहेको टिमले गर्छ ।
- मोहन वैद्यजीले नेतृत्व गर्न सक्नुहुन्न । उहाँले दर्शनको कुरा गर्नेमात्रै हो । उहाँको दर्शनमा पनि सीमा छ । माओवादीको नेतृत्व वैद्यजीलाई नै दिइएको भए जनयुद्ध नै हुने थिएन, उहाँले मोहनविक्रमले जसरी घुमाइराख्नुन्थ्यो । प्रचण्डको नेतृत्व भएकाले नै जनयुद्ध सम्भव भएको हो ।
- अब वैद्य नेतृत्वको नेकपा माओवादीमा या त वैद्यजीले छाडिदिनु हुन्छ, या यो पार्टी फुट्छ । प्रचण्ड पक्षसँग दुई माओवादी मिले पनि हुन्छ तर यसका लागि एमाओवादीले कार्यदिशामा भएको गल्ती सच्याउनुपर्छ । यस्तो भएन भने अब शायद वैद्य नेतृत्वका माओवादीमा नेतृत्व परिवर्तन हुन्छ र विप्लवको टिम नयाँ कोर्षमा जान्छ ।
- विप्लवको टिम जनयुद्धमा गयो भने जनताले युद्धप्रति वितृष्णा प्रकट गर्ने भएकाले उनीहरु एक्लिन्छन् भन्ने भनाइ पनि छ, तर एकपटक ०५२ सालतिर फर्केर हेर्ने हो भने त्यसबेला पनि हामी अति सानो शक्ति थियौं । त्यसबेला हामीले थालेको युद्ध राजाका विरुद्ध नभएर कांग्रेस एमाले लगायतका संसदवादी शक्तिकै विरोधमा थियो । बरु अहिले त युद्धको अनुभव र कलासमेत छ, जुन ०५२ सालमा थिएन । त्यसैले विप्लवको नेतृत्वमा अघि बढ्ने त्यो कोर्षलाई कम आँक्न मिल्दैन ।
- अब देशमा नयाँ खालको द्वन्द्व मौलाउने सम्भावना छ कि छैन भन्ने कुरा कांग्रेस र एमालेको व्यवहारमा पनि भर पर्छ । नेकपा एमाले क्रान्तिकारी भयो भने अर्को माओवादीको जन्म आवश्यक पर्दैन । मधेसी, दलित, जनजाति, महिला, सुकुम्बासी लगायतका ६० प्रतिशत जनताको भावनाअनुसारको राजनीतिक र आर्थिक परिवर्तन कांग्रेस र एमालेले गरे भने द्वन्द्वको सम्भावना हुँदैन, अन्यथा विगतकैजस्तो व्यवहार कांग्रेस र एमालेले देखाए भने अब मुलुक नयाँ द्वन्द्वमा जान्छ जान्छ । ०४७ सालयता कांग्रेस र एमालेले केही काम गरेनन् । शान्ति प्रक्रियाका ८ वर्ष पनि त्यतिकै बिते । १० प्रतिशत सम्पन्न र ३० प्रसितशत मध्यम वर्गका जनता जसोतसो चलेका छन्, बाँकी ६० प्रतिशत जनताको जिवनस्तर विग्रँदो छ, उनीहरुका मुद्दालाई कांग्रेस र एमालेले सम्बोधन गरेनन् भने कांग्रेस र एमालेप्रति फेरि जनताको वितृष्णा बढ्छ । विगतमा पनि कांगेस र एमालेप्रतिको वितृष्णाबाटै जनयुद्ध अगाडि बढेको हो । त्यसैले विप्तलवका नेतृत्वमा हुन सक्ने नयाँ द्वन्द्वलाई रोक्ने हो भने एमालेले आफूलाई क्रान्तिकारी बनाउनुपर्छ ।
- प्रचण्ड र बाबुरामलाई इतिहासले सम्भावना दिएकै हो, तर उनीहरुले त्यसलाई बुझ्न सकेनन् । अहिले चुनावमा देखिएको परिणामले चुनवाङयताको राजनीतिक कोर्ष गठत थियो भन्ने प्रमाणित गरिसकेको छ । अब एमाओवादीले वैद्य माओवादीसँग पार्टी एकता गरे हुन्छ । मैले त एमालेसँगै एकता गर्नुपर्छ भन्दै आएको हुँ । प्रचण्ड र बाबुरामको पुस्तावाट अब नयाँ क्रान्ति सम्भव छैन । एमाओवादीभित्र पनि नयाँ कोर्षमा जानुपर्छ भन्नेहरु धेरै छन्, उनीहरु अब विप्लवको नेतृत्वमा धु्रवीकृत हुन्छन् ।
- सेनाले धाँधली गरेर हारियो भनेर केही अर्थ छैन । आफ्नो सबैथोक बुर्जवालाई लगेर बुझाइसकेपछि हुने नै यही थियो र यही भयो । चुनवाङ बैठकपछि अपनाइएको कार्यदिशा नै लगत थियो, केही महिनामात्रै जनयुद्ध जारी राखिएको भए यो अवस्थामा पुगिने थिएन ।
- एमाओवादी पार्टी फेरि यही प्रक्रियाबाट माथि उठेर चुनावमार्फत् ठूलो दल बन्ने सम्भावना देखिँदैन । यसका लागि जननीति अख्तियार गर्नुपर्यो नि । पञ्चायत कालमा एमाले र कांग्रेसका नेताहरु जनताकै वीचमा थिए, हामी पनि जनतामा थियौं । काठमाडौंमा १० प्रतिशत वुर्जुवा वर्गको वीचमा घेरिएर जनतामा नगई बसिरहने हो भने यो पार्टी कसरी ठूलो हुन्छ ? यो तरिका र बाटो असफल भइसकेको छ । र, प्रचण्ड बाबुरामकै नेतृत्वमा अब यो सम्भव छैन, नयाँ पुस्ताबाट मात्रै सम्भव छ, त्यसैले कांगेस र एमालेले अब परिवर्तनका एजेन्डा र जनताको भावनालाई सम्बोधन गरेनन् र सुधारवादी कार्यक्रम ल्याएनन् भने विप्लवको नेतृत्वमा नयाँ कोर्ष शुरु हुने देखिन्छ । त्यसबेला जे गर्छ, विप्लवको टिमले गर्छ । एमाले कांग्रेसमा अहिले पनि कुर्सीकै लागि झगडा देखिँदैछ, यो स्थितिमा परिवर्तन आएन भने नयाँ माओवादीको जन्म हुन्छ । त्यो अवस्थामा अहिले कांग्रेस र एमालेले पाएको जनसमर्थन वितृष्णामा बदलिन बेर लाग्ने छैन । किनभने ०५२ सालमा पनि यस्तै भएको थियो ।

प्रतिक्रिया 4