+
+
Shares

‘मरेर बाँचेकाहरु र बहादुर बहिनी’ कोरियामा प्रदर्शन गरिने

अनलाइनखबर अनलाइनखबर
२०७० माघ ९ गते १४:४३

सउल । पत्रकार गणेश पाण्डेद्वारा निर्देशित तीन वटा वृत्तचित्रहरु ‘बहादुर बहिनी’, ‘अन्तिम सन्देश’ र ‘मरेर बाँचेकाहरु’ दक्षिण कोरियामा विशेष प्रदर्शन गरिने भएको छ । पत्रकारहरुको सन्जाल कोरिया सन्देश क्लबले कोरियाको विभिन्न ठाउँमा यो डकुमेन्ट्री देखाउन लागेको हो । त्यसका लागि तयारी थालिएको क्लबका अध्यक्ष मीनप्रकाश उप्रेतीले जानकारी गराए ।marera-bacheka-haru

सशस्त्र द्वन्द्व र त्यसपछि नेपाली नागरिकले खेपेका पीडालाई कोरियाका नेपालीमाझ पस्कन लागिएको हो । वृत्तचित्रहरु बहादुर बहिनी, अन्तिम सन्देश र मरेर बाँचेकाहरुमा विगतको सशस्त्र द्वन्द्वले छाडेको मानवीय संवेदनाहरु समेटिएको छ ।

डकुमेन्ट्री ‘बहादुर बहिनी’मा आफ्ना दाजुभाइको हत्यारालाई कारबाही गर्न माग गर्दै संघर्षरत सावित्री श्रेष्ठको पीडालाई समेटिएको छ । ४० मिनेटको यो डकुमेन्ट्रीमा अन्तरजातीय बिहेकै कारण उज्जनकुमार श्रेष्ठलाई गुमाएपछि परिवारले भोगेको सङ्घर्ष, भाइका हत्यारालाई कारबाही गर्न जाहेरी दिएका गणेशकुमार श्रेष्ठको हत्या, आफ्नै आँखा अगाडि बाबुको होली हानेर मारेको देखेकी गणेशकी छोरी रचनाको रहस्यमय आत्महत्या, मिडिया र अधिकारकर्मीको सडक सङ्घर्ष, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मका शरण, न्यायको लडाइँदेखि कैदीदेखि कन्ट्याक्ट किलरसम्मका तारन्तारको धम्कीलाई पर्दामा उतारिएको छ ।

३९ मिनेटको ‘अन्तिम सन्देश’मा सशस्त्र युद्धका क्रममा आफन्त बेपत्ता बनाइएपछि परिवारले भोगेको आर्थिक, सामाजिक, मानसिक र कानुनी पीडालाई उजागार गर्दै अबको आवश्यकतालाई जोड दिइएको छ । डकुमेन्ट्रीमा सेनाको हिरासतबाट परिवारलाई अन्तिम पत्र लेखेकी सुर्खेत लाटीकोइली गाविसकी दीपा ओलीको मुद्दालाई मुख्य कथाको रूपमा चित्रित गरिएको छ ।

यसैगरी, बाबुको श्राद्ध गर्दै गर्दा माओवादीले अपहरण गरी बेपत्ता बनाएका बाँके कोहलपुरका एमाले कार्यकर्ता राजेन्द्र ढकाल, सेनाबाट बेपत्ता पारिएका बर्दिया भुरीगाउँका केशर बस्नेत तथा बर्दिया बनियाभारका सुरेश ओली लगायतको घटनालाई प्रतिनिधिमुलक घटनाको रूपमा उठाइएको छ । ‘सशस्त्र द्वन्द्वका क्रममा ६ हजार भन्दा बढीको मृत्यु भएको छ, एक हजार भन्दा बढी बेपत्ता छन् ।

बेपत्ताका परिवारले कि लास कि त सास देऊ भन्दै राज्यस“ग सङ्घर्ष गरिरहेका छन् । त्यो सङ्घर्षलाई डकुमेन्ट्रीमा उतार्ने प्रयत्न गरिएको छ ।’– डकुमेन्ट्रीका निर्देशक गणेश पाण्डेले भने । यसैगरी, ३३ मिनेटको ‘मरेर बाँचेकाहरु’मा यातना पीडितहरुको पीडालाई केन्द्रबिन्दुमा राखिएको छ । डकुमेन्ट्रीमा द्वन्द्वकालमा माओवादीको घनप्रहारबाट आजीवन शारीरिक अशक्त बनेका बाँके हबल्दारपुरका जगदीश यादव, मानसिक सन्तुलन गुमाएका परदेशी खटिक, माओवादीकै कारण खुट्टा गुमाएका बर्दिया सानोश्रीका अशोक सोडारी, हात गुमाएका बर्दियाकै हेमराज थारु तथा राज्यबाट चरम यातना पाएका बांके कोहलपुरका युवराज गिरी, बेलवासपुरका निजामुद्दिन शेख र बर्दिया भुरीगाउँका धनीराम चौधरीको पीडालाई बेजोडका साथ पर्दामा उतारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?