Comments Add Comment

विमानमा गोली हानी एकको हत्या

११ असार, पाकिस्तान । पेसावर विमानस्थलमा मङ्गलबार अबेर राति अवतरण गर्न लागेको जहाजमै गोली प्रहार भएको छ । पाकिस्तानको उत्तरपश्चिमी द्वन्द्वग्रस्त क्षेत्र पेसावरमा मङ्गलबार अबेर राति एक विमानमाथि अवतरणकै क्रममा गोली प्रहार गरिएको थियो ।

विमानस्थलमा अवतरण गर्न लागेको पाकिस्तान इन्टरनेशनल एयरपोर्ट -टिआइए) को विमानमा गोली प्रहार गरिएको थियो । अधिकारीहरुले सो विमानमा रहेका एकजना महिला यात्रुको ज्यान गएको र अरु दुईजना जहाजका स्टाफ घाइते भएका बताएका छन् ।

साउदी अरेबियाको रियादबाट सो विमान पेसावर आएको थियो । सो विमानमा कम्तिमा पनि १ सय ७० जना यात्रु रहेका उड्डयन अधिकारीहरुले जनाएका छन् । सो विमान कम्तिमा पनि एक हजार ५ सय मिटरको उचाइमा रहेको थियो र सोही क्रममा गोली प्रहार गरिएको थियो ।

सो विमानस्थलमा विमान अवतरण गरिरहेका बेला विमानस्थल बाहिरबाट गोली प्रहार भएको थियो । अज्ञात व्यक्तिले आठपटकसम्म गोली हानेको दाग सो विमानको बाहिरैबाट देखिने जानकारी अधिकारीहरुले दिएका छन् ।

सो विमान सेवा कम्पनीका प्रवक्ता मसुद ताजबारले सो विमानमा सामान्य क्षति पुगेको र घाइते एकजना महिला यात्रुको उपचारका क्रममा अस्पतालमा निधन भएको जानकारी दिए ।

केही समयअघिमात्रै पाकिस्तानको कराची विमानस्थलमा नै पाकिस्तानी तालिवानहरुले आक्रमण गरी दर्जनौँ व्यक्तिको हत्या गरेका थिए । उनीहरुले केही समययतादेखि पाकिस्तानका विमानस्थल र विमानलाई तारो बनाउदै आएका छन् । यद्यपि यो पछिल्लो हमलाको जिम्मेवारी भने कसैले लिएको छैन । तर पनि सुरक्षा अधिकारीहरुले भने यो आक्रमणमा पनि पाकिस्तानी तालिवानहरुकै हात रहेेको अनुमान गरेका छन् । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment