Comments Add Comment

महाधिवशेनमा रमाइलो भइरहेको छ : एमाले प्रतिनिधि

२० असार, काठमाडौं । नेकपा एमालेको जारी नवौं महाधिवशेनमा सर्वसम्मत नेतृत्व चयन हुनुपर्नेमा प्रतिनिधिहरुले जोड दिएका छन् । सर्वसम्मत हुन नसकेको अवस्थामा मात्रै चुनावमा जानुपर्ने उनीहरु बताउँछन् । यसै सन्दर्भमा केही प्रतिनिधि र केन्द्रीय सदस्यका दाबेदारसँग अनलाइनअबरका लागि ज्ञानेन्द्र खड्काले गरेको कुराकानी यस्तो छ-

Arjunkumar-Sunam_KASKIअर्जुनकुमार सुनाम, प्रतिनिधि, कास्की

नवौ महाधिवेशन सबै हिसावले राम्रो छ । हामीले पार्टीलाई जुन दिशामा लानुपर्ने हो, पार्टी त्यही दिशामा गइरहेको महसुस भएको छ । आठौं र नवौंमा अहिले खासै फरक छैन । प्राविधिक हिसावले भने नवौं महाधिवेशन केही सुधारिएको छ ।

नेकपा एमाले यो देशको अग्रणी संगठन बन्नेछ भन्नेमा आम एमाले शुभेच्छुकले बुझेको कुरा हो । वास्तवमा यो महाधिवेशन एकताको महाधिवेशन हुनुपर्छ । वैचारिक र सांगठानिक हिसावले केही समस्या भए पनि एकमत भएर विचार सिद्धान्त पारित भएकाले अहिलेको गुटगत विभाजनले पार्टीलाई कुनै असर गर्दैन ।

हामी कम्युनिष्टहरु माक्र्सवादीहरु विभाजका थुप्रै पीडा र हण्डर खाएर आएको यो अवस्थामा कार्यकर्ता र शुभेच्छुकले पार्टी एक भएको हेर्न चाहेका छन् । नेपाली जनताको चहाना पनि त्यही छ, एमालेको महाधिवेशन एकताको महाधिवेशन हुनेमा कुनै शंका छैन ।

फरक-फरक भेलाले एमालेलाई केही फरक पार्दै, नेताहरु एक भएर सर्वसम्मत नेतृत्व चयन हुने विश्वास छ । अहिले आमयुवाहरुको चहाना नेतृत्व परिवर्तन हो । कम्युनिष्ट पार्टीभित्र एउटै व्यक्ति नेतृत्वमा रहिरहनु पार्टीका लागि फाइदाजनक हुँदैन । नेकपा एमालेभित्र थुप्रै प्रतिभा र सक्षम नेता छन् । माधवकुमार नेपालले पार्टीको सर्वमान्य नेताको रुपमा भूमिका निर्वाह गर्नुपर्छ । यो पटक बैचारिक हिसावमा केपी ओलीले पार्टीको नेतृत्व गर्नुपर्छ ।

Binod-Paudel_Kaskiविनोद पौडेल, प्रतिनिधि कास्की-४

नवौ महाधिवेशन रमाइलो भएको छ । महाधिवेशनस्थल बाहिर भएको विरोध प्रदर्शन र तोडफोड व्यवस्थापनको कमजोरीका कारण भएको हो । नेपालको दोस्रो ठूलो पार्टीको राष्ट्रिय महाधिवेशन खुल्ला ठाउँमा हुनुपथ्र्यो । पानी पर्छ भनेर हलमा गरिएको भनिएला, तर यसो गर्दा लाखौं कार्यकर्ताले हाम्रो उद्घाटन कार्यक्रम हेर्न नपाउँदा चित्त दुखाएका छन् ।

महाधिवेशनबाट सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ । सर्वसम्मत भएन भने हामीले अङ्गकिार गरेको लोकतान्त्रिक विधि अपनाएर निर्वाचनमा जानुपर्छ । २१ औं शताब्दीमा टिकेप्रथा चल्दैन । नेताहरुले सहमति गर्नुहुन्छ, हाम्रो पनि चहाना त्यही हो । सहमति भएन भने निर्वाचनको ढोका खुल्ला छँदैछ, मतदानबाट अध्यक्ष, उपाध्यक्ष, महासचिवसहितका पदाधिकारी छान्नुपर्छ ।

योपटक म नेतृत्व परिवर्तनको पक्षमा उभिएको छु । नेतृत्व परिवर्तन भएमा मात्रै पार्टी चलायमान र अग्रगतिमा जाने भएकाले यो पटक नयाँ व्यक्ति नेतृत्वमा आउनुपर्छ, नेतृत्व जाम हुनुहुँदैन ।

Meghnatha-Paudel_Sindhupalcमेघनाथ पौडेल, प्रतिनिधि सिन्धुपाल्चोक-१

नवौं महाधिवेशनमा आउँदा पार्टीको नीति कार्यक्रम बद्लेको छ । नयाँ दस्तावेज आउँदैछ । हाम्रो व्यवस्थापन पक्षले कमजोरी गर्दा महाधिवेशनस्थल बाहिर तोडफोड भएको हो ।

सकेसम्म सर्वसम्मतरुपमा नेतृत्व छानिनुपर्छ । भएन भने लोकतान्त्रिक विधिअनुसार निर्वाचनमा गएर नेतृत्व छानिनुपर्छ । सर्वसम्मत भएन भने निर्वाचनमार्फत माधवकुमार नेपालाई अध्यक्ष बनाइनुपर्छ ।

Yegya-Raj-Sunuwarयज्ञराज सुनुवार, ओखलढुंगा, केन्द्रीय सदस्यका उम्मेदवार

नवौं महाधिवेशनमा आम कार्यकर्ताको विशेष आर्कषण थियो भन्ने कुरा बाहिर भएको जनआक्रोशले पनि देखाइसकेको छ । जुन प्रकारले व्यवस्थापन हुनुपथ्र्यो त्यो हुन नसक्दा उद्घाटन समारोह सुखद हुन सकेन ।

एमालेभित्रको समस्या भनेको विचार र व्यवहारबीचको तादम्यता नहुनु हो । अत्यन्त सही निर्णय लिने अनि त्यसको कार्यान्वयन र जस लिने कुरामा एमाले चुक्दै आएको छ । आफ्नो अडानमा अन्तिमसम्म टिक्न नसक्ने एमालेको समस्या हो । गुटबन्दीकै कारण दोस्रो संविधानसभाको निर्वाचनमा एमालेले बहुमत ल्याउनबाट चुक्यो ।

एमालेको आन्तरिक जीवनलाई मजवुत बनाउन गुटबन्दीको घर यो महाधिवेशनपछि भत्काउने आँट गरिनुपर्छ । अहिले आधारभूत वर्गसम्म एमाले नफैलिने हो कि आधारभूत वर्गको समस्या एमालेले नसुन्ने हो कि भन्ने चिन्ता बढेको छ । यो चिन्तालाई यही महाधिवेशनबाट हल गर्न सक्नुपर्छ ।

व्यक्तिद्वारा संस्थालाई योगदान अनि संस्थाद्वारा व्यक्तिको मूल्यांकन आम कम्यूनिष्ट पार्टीको नीति हो । पार्टीलाई गरेको योगदानका आधारमा नेतृत्वमा जाने हो । सकभर यो महाधिवेशन नेताको होइन कार्यकर्ताको महाधिवेशन बनाउने कोशिस गर्दैछौं ।

नेतृत्वको गलत रबैयाका कारण पार्टीले गम्भीर क्षति भोग्नुपरेको छ । नेताको गुटबन्दीको शिकार कार्यकर्ता हुने क्रम बन्द हुनुपर्छ । यसपटक कार्यकर्ता सचेत भएर अघि बढिरहेका छन् । नेतृत्व पनि सकेसम्म सर्वसम्म हुन्छ, त्यसो नभए लोकतान्त्रिक विधिअनुसार निर्वाचनमा जाने बाटो खुल्ला छ । अबको नेपाली समाजलाई समाजवाद उन्मूख बनाउन यो महाधिवेशन कोशेढुंगा सावित हुनेछ ।

Jeebanram-Shresthaजीवनराम श्रेष्ठ, केन्द्रीय सदस्यका उम्मेदवार

मौसमको प्रतिकुलताले महाधिवेशन खुल्ला ठाउँमा हुन सकेन । हलमा खुम्चिँदा कार्यकर्ताको उत्साह उमंगलाई सम्बोधन गर्न सकिएन । यो पटक प्रविधिको पनि प्रयोग भएको छ । प्रविधिको प्रयोगले जनताले घरघरबाटै कार्यक्रम हेर्न पाएका छन् ।

एमाले व्यबहारबाट सिक्दै हाम्रो माक्र्सवाद, लेलिनवाद र जनताको बहुदलीय जनवादलाई अंगिकार गर्दै अघि बढिरहेका छौं । मदन भण्डारीले प्रतिपादन गरेको मौलिक सिद्दान्त बहुदलीय जनवादको मार्गनिर्देशनअनुसार पार्टीलाई अघि बढाउनुपर्छ । एमालेमा रहेका परम्परावादी सोचलाई परिवर्तन गर्दै अघि बढ्नुपर्छ । अबको आवश्यकता भनेको आर्थिक क्रान्ति हो । अब हाम्रो लडाइँको स्वरुप फेरिएको छ । हामीमा रहेका भ्रमहरु यो महाधिवेशनले चिर्ने विश्वास छ ।

हाम्रो पार्टीमा अहिले दुईवटा समूह बनेका छन् । एउटा समूहले देशमा आएको परिवर्तनलाई नयाँ ढंगले विश्लेषण गरेको छ । अब कुनै क्रान्तिको आवश्यकता छैन, जनता मालिका भएका छन् । अर्को समूह अझै क्रान्ति हुनुपर्ने भ्रममा छ । अझै यथास्थितिवादी सोच बोकेर हिँडेकाहरुलाई यो महाधिवेशनले बाटो देखाउने छ । परिवर्तित सोच दृष्टिकोणलाई अझ परिस्किृत गर्दै कार्यदिशा बनाएर अघि बढ्नु आवश्यक छ ।

Rajendra-Rai_Dhankutaराजेन्द्र राई, धनकुटा अध्यक्ष, केन्द्रीय सदस्यका दावेदार

एमालेको नवौं महाधिवेशनमा प्रतिनिधिहरु उत्साहित छन् । एमालेका समस्या मूलतः आन्तरिक संगठनका क्षेत्रमा एमालेले व्यवस्थापन गर्न सकिरहेको छैन । राजकीय क्षेत्रमा पनि एमालेको कमजोरी रहेको छ ।

अबका दिनमा एमालेलाई आधारभूत तहसम्म पुर्‍याउने पहल हुनु आवश्यक छ । जनतामा गएर हेर्दा पनि हाम्रो पार्टीको संगठन सबैभन्दा शक्तिशाली र बलियो पनि छ । र, अझै हामीले सांगठानिक र राजनीतिक हिसावले परिस्कृत बनाउँदै आर्थिक क्रान्तिको दिशामा अग्रसर हुनुपर्छ । एमालेकै अगुवाइमा अब देशमा आर्थिक क्रान्ति गरिनुपर्छ ।

Munu-Sigdel_Makwanpurमुनु सिग्देल, मकवानपुर केन्द्रीय सदस्य उम्मेदवार

मैले पार्टीमा काम गरेको २० वर्षसम्म भइसक्यो । जिल्ला उपाध्यक्षको पनि भूमिका निर्वाह गरिसकेकी छु । नेपाली वामपन्थीहरुको एउटै आशाको केन्द्र भनेको नेकपा एमाले मात्रै हो । नेपाली जनताको आशा र भरोसा पूरा गर्नका लागि नेकपा एमालेलाई एउटा सक्षम र दहि्रलो बनाउनका लागि यो महाधिवेशनले भूमिका खेल्ने छ ।

जनताको बहुदलीय जनवादलाई अझ समृद्द बनाउँदै देशलाई आर्थिक क्रान्तितर्फ लैजानमा हामी अघि बढिरहेका छौं । योपटक महाधिवेशन उद्घाटनका क्रममा कमजोरी भएको छ । यस्तो व्यवस्थापन गर्ने नेतृत्वले कमजोरी स्वीकारेर आत्माआलोचित हुनुपर्छ । प्रतिनिधि बाहेकलाई यहाँ ल्याउने प्रावधान थिएन । तर, यो पार्टीलाई माया गर्ने कार्यकर्ताहरुले महाधिवेशन उद्घाटन हेर्न चाहेका थिए । उनीहरुलाई प्रवेश दिने व्यवस्था नगर्नु व्यवस्थापन समितिको ठूलो भुल हो ।

नेतृत्व चयन गर्दा सकेसम्म सर्वसम्मत हुनुपर्छ । सर्वसम्मत भएन भने त्यसको विकल्प निर्वाचन हो । निर्वाचनको प्रक्रियाबाट गएपछि पनि २५ गतेदेखि पार्टी पुनः एक ढिक्का हुनुपर्छ । जित्नेले हार्नेलाई उपेक्षा गर्ने काम बन्द गरिनुपर्छ, पार्टी एक भएर अघि बढ्छ ।

Radha-Pokhrel_Morangराधा पोखरेल, प्रतिनिधि, मोरङ-६

महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न आएका छौं । प्रतिनिधि भएर महाधिवेशन सफल पार्न आएकी हुँ । हामी प्रतिनिधिहरुले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ भनेका हौं ।

सर्वसम्मत गर्ने कोशिस रहन्छ, यदि त्यसो भएन भने लोकतान्त्रिक विधि प्रयोग गर्दै नेतृत्व चयन गर्नु उचित हुन्छ । यसपालि जनताको अधिकार रक्षा र पार्टीलाई अग्रगतिमा लैजान आमकार्यकर्ताले माधव नेपाल नेतृत्वमा आएको हेर्न चाहेका छन् । योपटक माधव नेपाललाई भोट हाल्छौं ।

यो पनि पढ्नुस्

एमाले नेतृत्वले कार्यकर्तासँग माफी माग्यो

एमाले बन्दसत्रमा कानेखुसी गर्न प्रतिवन्ध

एमालेलाई बाबुरामको सुझाव : नयाँ शक्ति बनाऔं

भागबण्डा नमिलेपछि एमाले महाधिवेशन प्रतिनिधि मनोनयन भाँडियो

बन्दसत्रको अध्यक्ष मण्डलमा नेपाल र ओलीको भागवण्डा

बरालले गरे महाधिवशेनमा साबुनको प्रचार !

कहीँ नभएको जात्रा एमाले महाधिवेशनमा देखियो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment